कालो कोटको अदृश्य माया

बाबा राजेश्वरी थापा २०७८ पुष १२ गते ०:३४ मा प्रकाशित

उसको फिराद पत्र मेरो १५ वर्षे व्यवसायिक जीवनकै सबै भन्दा कठिन र नौलो बन्यो। एउटा फिराद पत्र तयार गर्न झन्डै एक महिना लाग्यो। हरेक दुइ दुइ दिनमा नया कुरा थप्न वा घटाउन चाहन्थ्यो समीर। हरेक चोटी फिराद पत्र सहित कागजात जम्मा गर्यो, अनि भोलि निवेदन पेश गर्ने भनेर तय गर्यो, बिहान फोन गरेर केहि थपौ वा घटाउ भन्दा अड्को थाप्न थाले पछि मैले आफ्नो व्यावसायिकताको मर्यादा राख्दै उसलाई मैले दिएको समयको प्रति घण्टाको हिसाबले पैसा लिन थाले।

पैसाको कुनै महत्व थिएन समीरलाई, उसको दोधारेपनले गर्दा मैले आज उसलाई प्रस्ट भनिदिए, ”समीरजी ! तपाईको मुद्दा म लिन सक्दिन, अर्को वकिल खोज्नुहोस। ” मेरो अनुहारमा पुलुक्क हेर्दै उसले सोध्यो, ”तपाईले भने जति पैसा दिएकै छु र बाकी तिर्नु पर्ने पैसा पनि म तिर्छु नै तर यो मुद्दा तपाईले लड्नु भएन भने म हार्छु र म मोनासंग हार्न चाहन्न। मेरो जिन्दगी बर्बाद पर्ने तेस्लाई हराउन तपाई मात्र सक्नू हुन्छ। ” मैले फेरी सम्झाउन खोजे, ” हेर्नुहोस म तपाईलाइ यो शहरका राम्रा वकिलहरूको ठेगाना दिन्छु, उनीहरुले सहयोग गर्छन, तर म तपाइँको मुद्दा लड्न सक्दिन।” म वास्तवमै समीरको मुद्दाबाट छुटकारा पाउन चाहन्थे। ऊ केहि भावुक बन्यो मेरो कुराले र भन्न थाल्यो, ” तपाई लाइ मोनाले फोन गरी जालमा पारी होला होइन ? मलाई थाहा थियो तेस्ले यस्तो गर्छे भन्ने।

तर वकिल तपाईले जसरी चाहनु हुन्छ त्यसरी तयार गर्नुहोस फिराद पत्र, म तयार छु भोलि नै दर्ता गरौ मुद्दा अब म केहि थपघट गर्दिन, हदै होला उसले सम्पतिको लागि मलाई फेरी ब्ल्याक मेल गर्छे, म उसले चाहेको जति सम्पति दिन्छु।” समीरको अनुहारमा आक्रोस र नैराश्यता थियो, म त् चाहन्न्न थियो यो मुद्दा लड्न तर उसको बुवा मेरो गुरु थिए, बुवा कै सिफारिश मा मैले समीरको मुद्दा हेरिदिने वचन दिएको थिए। वडाको सिफारिश लगायत सम्पूर्ण कागजात तयार भैसकेको ले भोलि १० बजे जिल्ला अदालतमा गएर मुद्दा दर्ता गर्ने निर्णयमा समीर राजी भयो।

फिराद पत्रको आधारमा समीर मोनासंगको १० वर्ष लामो वैवाहिक सम्बन्ध तोड्न चाहन्थ्यो। उसले मलाइ पटक पटक भनेको थियो, उसले मोनाले भ्यालेन्टाइन डेको दिन अर्थात् फेब्रुरी १४ मा १४ वर्ष पहिले भेटेको र चार वर्ष लामो प्रेम सम्बन्ध पछि १० वर्ष अगाडी भ्यालेन्टाइन डे कै दिन विवाह गरेर श्रीमती को रुपमा आफ्नो घरमा भित्राएको थियो। विवाहको केहि वर्ष राम्रै चल्यो, इष्टमित्र छरछिमेकमा मायालु जोडीको चर्चा पनि कमाए तर अचानक मोना परिवर्तन भई, पहिले जस्तो माया र सम्मान गर्न छोडी। समीरको भनाई अनुशार मोनाले समीरको व्यक्तिगत स्वतन्त्रता छिन्न थाली, हरेक गतिविधिमा प्रश्न सोध्ने र चित्तबुज्दो जवाफ नपाए माइती गएर बसिदिने, वा आमा बाबु लाइ कुरा लगाए र घर परिवारमा कल झगडा पार्ने काम मोनाबाट हुन थाल्यो। मोनाकै कारण समीरका साथीभाई समीरबाट टाढा भएपछि समीर सम्बन्ध विच्छेद गर्ने निर्णय मा पुगेको कुरा उसले बताएको थियो।

समीरको कुरा सुन्दा सुन्दा मैले मेरो दिमागमा मोना एउटा चित्र कोरेको थिए। एउटै मुद्दामा यति धेरै समय खर्चेको र प्रतिवादी चित्र कोरेको मेरो व्यवसायिक जीवनको नै पहिलो मुद्दा थियो। समीरको मुखबाट एकोहोरो मोनाको बारेमा नकारात्मक कुरा सुनिरहदा मलाई कहिले कहिँ कस्ती रहिछ यो मोना भन्ने आइमाई, एक पटक भेटेरै हप्काई दिउ की जस्तो नलागेको त् पक्कै होइन त्यस्तो गर्न मर्यादाले दिएन। अन्तत समीर र मोनाको सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरियो। मैले केहि हल्का महशुस गरे। प्रक्रिया अनुशार दुवै पक्षलाइ एक पटक बोलाएर मेलमिलाप गर्न प्रयास गर्ने आदेश आयो।

अन्तत समीर र मोनाको सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरियो

पन्ध्र दिन पछि तोकिएको मितिमा मेलमिलापको लागि समीरसंग म गए, समीर कुनै हालतमा मेलमिलाप नगर्ने पक्षमा थियो। हामी त्यहाँ पुग्दा उनीहरु आइसकेका रहेछन, मैले पहिलो पटक मोना लाई प्रत्यक्ष भेटेको थिए। समीरले दिएको हुलियामा मैले कोरेको चित्र भन्दा बिल्कुल फरक देखिन्थी मोना। हामी त्यहाँ पुग्ने बित्तिक्कै समीरको आठ वर्षीय छोरा ”पाप्पा” भन्दै समीरलाई अंगालो मार्न दगुर्यो। छोरो बाउलाई अंगालो मार्न जादा मोना र मेरो आँखा जुध्यो। उसको हेराईले मलाई यस्तो भान भयो कि, ”यो खेलमा त पनि एउटा अपराधी होस्।” उसले आँखा झुकाएर अन्तै मोडी तर मैले केहि बेर उसलाई निहाले। छलफलको क्रममा समीरले बारम्बार मोना माथी आरोप लगाई नै रह्यो र कुनै पनि हालतमा मोनासंग जीवन नचल्ने अडान लिई नै रह्यो। जब समीर आरोपको वर्षा गर्थ्यो मोनाका आँखा रसाउथे, ऊ मौन तर आफुलाई सम्हाल्ने कोशिश गर्थी तर आँशु बग्थे, कुर्ता सुरुवालको सल बिस्तारै आँशु पुछथी, अनि मलाई पुलुक्क हेर्थी।

समीरको अनुहारमा आक्रोस र नैराश्यता थियो

अन्तिममा मैले उसलाई सोधे, ”मोनाजी! तपाई के चाहनु हुन्छ?” सुकेको स्वरमा भनी, ” केहि चाहन्न, उहालाई उहाको स्वतन्त्रता फिर्ता गर्न चाहन्छु।” त्यहाबाट फर्किए पछि म अर्को मुद्दा मा व्यस्त भए तर दिउसो मोनाको एक जोडी आँखाले मलाई पछाएको भान भयो। मनमनै सोचे लामो समय यहि मुद्दामा बिताएर मलाई समीर र मोनाको कहानीले बढी भावुक बनायो। घर पुगेर फेरी त्यहि मोनाकै बारेमा सोच्न थाले। धेरै दिन सम्म मोनाको आँखाले मलाई पछाउन छोडेनन्। मन त् चाहन्थ्यो एक पटक भेटेर सत्यताको गहिराई मा पुगौ तर व्यवसायिक मर्यादा ले यो काम गर्न दिएन। अन्तिम फैसलाको मिति तोकियो। समीर संसार जिते जस्तै खुशी थियो सम्बन्ध विच्छेद हुने पक्का पक्की भएपछि। मेरो मन एक किसिम ले बेचैन बनेको थियो। केही अन्याय भएको महशुस, एक किसिम को घुटन, एक किसिम को ऐठन भएको थियो मलाई।

सुकेको स्वरमा भनी, ” केहि चाहन्न, उहालाई उहाको स्वतन्त्रता फिर्ता गर्न चाहन्छु।”

मैले एक पटक मोनालाई भेटेर कुरा गर्छु भन्ने निर्णय मा पुगे र फैसला हुने अघिल्लो दिन मैले उसलाई फोन गरे , पहिला उसले मसंग कुरा गर्न इन्कार गरी तर पटक पटक मेसेज पठाएपछि मोना आधा घण्टा मसंग भेट्न राजी भइ। उसले बोलाएको समय मा म उसको माइती घरमा पुगे। उसको अनुहार मलीन थियो, मैले सोधे, ”मोना जी! भोलि देखि तपाईको वैवाहिक सम्बन्ध टुट्दै छ, तपाईले धेरै बोझ एक्लै उठाउनु पर्ने हुन्छ, तयार हुनुहुन्छ? समीरको हरेक प्रस्तावमा बिना प्रतिक्रिया सहमति जनाउनु भयो, तपाई माथी अन्याय हुँदैछ, अंश लिन अस्विकार गर्नु भयो, छोराको पालनपोषणको जिम्मेवारी एक्लै लिने निर्णय लिनु भयो। तपाइँ गलत गर्दै हुनुहुन्छ। किन यो सब गर्दै हुनु हुन्छ ? निर्णय बदल्नु होस् , कानुनले दिएका अधिकार लिनुहोस्।” उसले नम्र भएर भनी, ” म आदर्श आमा बनेर मेरो छोरालाइ संघर्षको पाठ सिकाउछु।पुर्खाको सम्पतिमा रजाइ गरेर आइमाईलाइ दास सम्झिने तपाईको कानुन र संस्कारबाट मुक्ति दिलाउन चाहन्छु। तपाईको कालो कोटले यो सामाजिक परिवर्तन गर्न सक्दैन वकिल साब , हजुरको कुरा सकिएको भए हजुर जान सक्नु हुन्छ। ” उसका कुरा सुनेर म निशब्द त्यहाँबाट निस्किए ।

तपाई माथी अन्याय हुँदैछ, अंश लिन अस्विकार गर्नु भयो, छोराको पालनपोषणको जिम्मेवारी एक्लै लिने निर्णय लिनु भयो।

बाटोभरी उसको कुरा सम्झिरहे, समीर र मोना को मुद्दा र सम्बन्ध बिच्छेद मा आफुलाई दोषी सम्झी रहे तर मोना जस्ती आटिली महिला पनि हाम्रै समाज मा रहेछन भनेर केहि खुशी चाही लाग्यो।

भोलि पल्ट समीर सहित अदालतमा सबै उपस्थित भयौ। फेरी मोनासंग मेरो आँखा जुध्न पुग्यो। सबै प्रक्रिया पुरा भयो, छुट्टिने बेलामा म उसको नजिक पुगेर भने, ”मोनाजी ! तपाईको साहस माथि गर्व छ मलाई। नया जीवन शुरु गर्नु होस् शुभकामना छ मेरो। लैगिक समानतामा तपाई जस्ता महिलाहरु उभिनु भयो भने पक्कै पनि महिला हिंसा घट्ने छ। ” ”सम्बन्ध विच्छेद गरेकी महिला अनि सन्तान को आमाले नया जीवनको शुरुवात गर्न तपाई को पुरुषप्रधान समाजले स्विकार्छ? कस्तो शुभकामना दिनु भएको वकिल साब ?” उसले बग्न लागेको आँशु लाइ परेली झिम्म झिम्म गर्दै रोक्दै मलाई जवाफ फर्काइ। मैले प्रतिउत्तर लगाए, ”म स्वीकार्छु तपाई लाइ नया जीवन साथी को रूपमा, तपाई ले शुरु गर्न खोज्नु भएको सामाजिक परिवर्तन म साथ् दिन्छु तपाईलाइ यो जुनी भर।” उसको मुहारमा अयानस चमक देखियो।

बाबा राजेश्वरी थापा
भिएना, अष्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया