भुटानीहरु एनआरएनए बन्न सक्छन ?

सिएम निरौला २०७८ पुष १० गते १३:४२ मा प्रकाशित

हालै ‘इन्ट्रा-नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले नेपालका राष्ट्रिय टेलीविजन र केही कार्यक्रममा पुनर्वास भएका पूर्व भुटानी शरणार्थी जो हाल विभिन्न देशका नागरिक बनिसकेका छन् वा बन्ने क्रममा छन उनीहरूलाई पनि एनआरएनएको सदस्य बन्न दिनु पर्छ भनेर आफ्नो बिचार राखेका छन्।

नेपाली नागरिक जो नेपाल भन्दा बाहिर छन् र त्या उनीहरू स्थापित हुँदै छन् उनीहरूले पाउने अधिकार हो एनआरएनए । नेपाल बाहिर अन्य देशमा रहेका नेपाली भाषी नागरिकहरू जस्तै भुटानका नेपाली, भारतका नेपाली वा अन्य कुनै देशका नागरिकले नेपाली भाषा बोलेकै हकमा वा उनीहरूका पुर्खा नेपाली भएकै भरमा यसको सदस्यता बन्ने बाटो एनआरएनएको बाइ लाइनले दिएको छैन। जुन नेपालको संविधानसँग मत बाझिएको छ।

भुटानीहरूको हकमा एनआरएनएको दाबी गर्नु भन्दा नि अझ नेपालमा ७५०० भन्दा बढी भुटानी शरणार्थीको उचित व्यवस्थापनमा आवाज उठान जरुरी छ। तेस्रो देश पुनर्वास भएका भुटानीका बारेमा खुलेर बहस गर्ने नेपाली नेता, कलाकार, पत्रकारहरूले शिविरमा रहेका शरणार्थीका बारेमा चुइँक्क नबोलेको देख्दा यी भुटानीहरूको समस्यामा भन्दा नि आफूलाई फाइदा हुने काम गरेको प्रस्ट पाइन्छ।

अझ भन्ने हो भने भुटानका जेलमा भएका राजनैतिक कैदी बन्दी, तानाशाहको परिबार फुटाउने षड्यन्त्रले बिछोडिएका तिनका परिवार र अदृश्य रूपमा भारत र पूर्वी नेपालमा शरणगत अवस्थामा रहेका मानिसहरूको चिन्तन र तिनका परिवारसँग मेलमिलाप गराउने वातावरण नेपाल सरकार र जी ८ राष्ट्रहरूलाई अपिल गर्न छाडेर नेपालमा गएर एनआरएनएको वकालत गर्नु भनेको कोशीमा बगाएर रापतीमा खोज्नु जस्तै हो।

एकाथरी मानिसहरू सामाजिक सञ्जालमा भोलीनै एनआरएनएको सदस्य भइहाल्ने नेपाल गएर ठुला परियोजनामा सेयर हाली हाल्ने, होटेल, महल, व्यवसाय खोली हाल्ने र बुढेसकालमा नेपाल गएर आनन्दको जीवन जिउने सपना बुन्न थालिसकेका छन् भने अर्को तिर यो विषयको उठानले भुटानी आन्दोलन छायामा परेको, आफ्नो अस्तित्व समापन हुन लागेको, आफू एनआरएन हुनै नसक्ने, एनआरएनए भए आफूहरू अपमानित हुने भन्दै रोइलो गरिरहेका छन्। यी मानिसलाई एउटा मात्र प्रश्न, कहाँ, कहिले र कसले कसरी भुटानी आन्दोलन गरिरहेको छ?

त्यसो त एनआरएनका कतिपय नेता र तिनका आसेपासेलाई समेत यिनले एनआरएनएको मान्यता प्राप्त गरे आफूहरू पुन कहिल्यै नेता वा उच्च पदमा पुग्न नपाइ हो कि भन्ने मनको बाघले खाइरहेको छ। एनआरएनए यी भुटानीलाई सदस्य नबनाउनमै जोड गर्छ। सके जति बल लगाएरै छेक्छ।

हेगस्थित भुटानी मानवअधिकार अभियन्ता र सामुदायिक नेता राम कार्की भन्छन् कि हामी मूल रूपमा भुटानका हौं र हामी हाम्रो सम्बन्धित देशहरूमा पुनर्स्थापना हुनु अघि भुटानी नागरिक थियौं। भुटानीको रूपमा हाम्रो पहिचानका कारण हामीले नेपालमा शरण पाएका थियौं र पछि भुटानी शरणार्थीका रूपमा हामी विभिन्न देशहरूमा पुनर्स्थापित भयौं। यसरी हामी मूलतः सार्क सदस्य राष्ट्र भुटानका नागरिक हौं। गैरआवासीय नेपाली संघको संविधानको धारा ५.१ मा सार्क राष्ट्रका बाहेक २ वर्षभन्दा बढी नेपालबाट टाढा बस्ने सबै नेपाली भाषीलाई गैरआवासीय नेपाली भनिने र त्यसको सदस्यता लिन सक्ने स्पष्ट लेखिएको छ । त्यसैले अहिलेको अवस्थामा हाम्रो एनआरएनको सदस्य बन्ने प्रश्न उठ्दैन ।

दोस्रो, नेपाली मात्र बोल्नु र नेपाली संस्कृति र चलनहरू पालना गर्नुको अर्थ हामी नेपाली हौं र एनआरएनए सदस्यताका लागि योग्य हुनुपर्छ भन्ने होइन। कार्कीले हाम्रो राष्ट्रियता भुटानी भएको बताउँदै नेपाल नभई भुटान बनाउन हाम्रा पुर्खा र पुर्खाले रगत पसिना बगाएको कुरा हामीले बिर्सन नहुने बताए । तसर्थ भुटानसँगको हाम्रो सम्बन्धलाई प्राथमिकता दिनुपर्छ।

त्यसैले मेरो दृष्टिकोणले एनआरएनएको हैसियतको पछि दौडनुको सट्टा हामीले पुनर्वास भएका देशहरूमा आफूलाई बलियो बनाउनुपर्छ र राजनीतिक बन्दी, नेपालका शरणार्थी र भुटानभित्रको राज्यविहीनता जस्ता हाम्रा विवादित मुद्दाहरूको समाधानका लागि काम गर्नुपर्छ।

कसलाई थाहा छ एक दिन हामी हाम्रो आफ्नै गैर आवासीय भुटानी संघको गर्व सदस्य हुन सक्छौं यदि हामीले सौहार्दपूर्ण ढंगले मिलेर काम गरिरह्यौं भने, कार्कीले थपे!

केही समय अगाडी नेपालका चर्चित पत्रकार प्रेम बानियाँ जो हाल अमेरिकामै छन् उनले एक फेसबुक लाइफ मार्फत चल्ने बालकोनी कार्यक्रममा भुटानी नेपालीले पनि एनआरएनको मान्यता पाउनु पर्छ र तिनका लागी आफूले वकालत गर्ने उद्घोष गरेका थिए। यस्तै धेरैबाट प्रतिक्रिया आउने गरेको पाइन्छ।

नाम नखुलाउने सर्तमा एक व्यवसायीले भने, कर छली गर्‍यो, कुनै डिपोटेसन हुने काम गर्‍यो वा ठुलै अपराध गरेर नेपाल भाग्यो भने त्यसलाई के गर्ने त? उनले पुन थपे, नेपाललाई वृद्ध आश्रम बनाउन खोज्या हो त?

सकारात्मक पक्ष हेर्ने हो भने यी पुनर्वास भएका भुटानीले नेपालमा इन्द्रेणी, रबी लामिछाने, धुर्मुस सुन्तली फाउन्डेसन लगायत अन्य धेरैबाट बर्षनी करोडौँको रेमिटेन्स नेपाल पठाउँछन्। देश विकासमा दृश्य वा अदृश्य रापमा भुटानीहरूको ठुलो सहयोग छ। कसैलाई बिराम लाग्दा होस वा अन्य काममा यी मानिसहरूले सहयोग झट्ट जुटाइ हाल्छन्। यति एनआरएनको मान्यता पाउने हो भने तिनले देश विकासका निम्ति ठुलै रमल र कार्यक्रम नेपाल भित्र्याउन सक्छन् जुन नेपालका निम्ति फलदायक छ। रियालिटी सोहरूमा समेत यी मानिसहरू करिब निर्णायक झैँ छन्। प्रायः यिनले सपोट गरेको प्रतियोगिताले जित्ने गर्छन्।

यति भुटानीहरू एनआरएनको सदस्य हुन सक्दैनन् भने अमेरिका या तेस्रो मुलमा जन्मिएका नेपाली अभिभावकका बच्चा एनआरएनको सदस्य हुन पाउने या नपाउने? यो एउटा बहसको विषयमा पर्छ। मेरै हकमा हेर्ने हो भने भने मेरा हजुर नेपालमा जन्मनुभयो, पछि भुटान हुँदै पुन शरणार्थी भएर नेपाल आउनु भयो। मेरा कान्छा हजुर बाका सन्तान हाल बुधबारे ५ झापामै छन्। अब म र म जस्ताले यसको सदस्य हुन पाउने कि नपाउने?

नेपालको संविधानले भन्दा फरक ढङ्गले एनआरएनएले विधान परिसोधन गरेर राजनीतिक प्रतिसोध कारयता पूर्व प्रतिसोध साधेको आरोप यो एनआरएनलाई लाग्ने गरेको छ। भुटानले हालसम्म पनि यी गैर कानुनी रूपमा नेपालबाट आएका मानिस देश फर्के भनेर आरोप हाल सम्म पनि लगाइ रहेको छ। यो विषयमा हामीले बहस गरिरहँदा भुटान सही र हामी गलत भन्ने हो?

हामीले मानिसलाई यस विषयमा मानिसलाई सोधेका छौ।

भुटानी युवा सुदर्शन अधिकारी,टेक्सस भन्नु हुन्छ,”हामी नेपाली मूलका वा हाम्रा पुर्खा नेपाली नै भएकाले विधान सङ्गत हामी पी एन ओ (PNO) अन्तर्गत पर्छौ त्यसैले एनआरएनए ले सम्पूर्ण नेपाली भाषीलाई मान्यता दिनुपर्छ र यसका निम्ति आफूले वकालत गरिरहेको र गरी रहने बताउनु भयो।” उहाँले थप्नु भयो,” हाल अमेरिका मा रहेका एक लाख भन्दा धेरै नेपाली भाषीहरूलाई सदस्य बनाए आफ्नो एनआरएनए को राजनीति सङ्कटमा पर्ने डरले पनि हामीलाई सदस्य बन्नबाट रोक लगाएको हुनसक्छ । यस विषयमा केही एनआरएनएका पूर्व सभापतिहरू सँग र अमेरिका का लागी तत्कालीन नेपाली राज्दुत सँग पटक पटक कुरा भएको बताउनु भयो।”

यस विषयमा पहिले पुस्ता( जो नेपाली राजनीति सँग अत्यन्त नजिक छन् ) भन्दा पछिल्लो पुस्ता ( जो अमेरिका मा नै पढेर एनआरएनए मा सक्रिय ) अलिबडि सकारात्मक देखिन्छन्।

“नागरिकता परित्याग गरेर एनआरएन भएका नेपाली त दुवै देशको नागरिक बन्न पाउनु पर्छ भन्ने एक किसिमको आन्दोलन नै छन् उनीहरूको त माग पुरा भएको छैन, फेरी भोलि एनआरएनका सदस्यले डुएल सिटिज़न पाएको खण्डमा हामीले पाउने कि नपाउने? एनआरएनको भन्दा नि एनआरबीको माग जोडदारका साथ उठाउनु नै हाम्रो हितमा छ”, खगेन्द्र गौतम क्यानडा

“यु एन शरणार्थी एजेन्सी, यू एन एच सी आरले आफ्नो मानवीय सहयोग फिर्ता लिएपछि नेपालमा रहेका भूटानी शरणार्थीहरु अन्योलमा परेका छन् भने क्यारिटास नेपालले सन् २०२० को अप्रिलदेखि शैक्षिक सहयोग अन्त्य गरेकाले बालबालिकाको भविष्य नै अप्ठारोमा परेको छ ।

Global Bhutanese Organization-GBO ले व्यक्तिगत तथा संगठनहरुबाट सानो अनुदान मार्फत रकम जम्मा गरेर यी बालबालिकाहरुलाई सिक्ने अवसर प्रदान गर्ने प्रयास गर्दछ। यस कोषको उद्देश्य शैक्षिक क्रियाकलापमा सुरक्षित सिक्ने ठाउँ, अन्तरक्रियात्मक र अर्थपूर्ण सहभागिता प्रदान गर्नु हो। यसले साक्षरता सुधार गर्ने, विद्यालयपछिको शैक्षिक आवश्यकतामा सहयोग गर्ने, सामाजिक सहभागितालाई प्रोत्साहित गर्ने र उत्तम समुदाय निर्माणमा योगदान गर्ने परिकल्पना गरेको छ।

भुटानी शरणार्थी शिविरका बालबालिकाहरु संघर्षरत छन् । उनीहरुको भविष्य पनि अन्योलमा छ । जीबिओले अस्ट्रेलिया, क्यानाडा, डेनमार्क, नेदरल्याण्ड, नर्वे, न्युजिल्यान्ड, द युनाइटेड किंगडम, द युनाइटेड स्टेट्स र नेपालमा रहेका शरणार्थी समुदायसँग सहयोग र साझेदारी गर्न खोजेको छ। शिविरमा रहेका शरणार्थी समुदायले कोष उत्पन्न गर्न र शैक्षिक परियोजना कार्यान्वयन गर्न खोजेका छन्। जिबिओले गत एक बर्ष देखि निरन्तर रुपमा आर्थिक सहयोग गर्दै आएको छ – डिसेम्बर २०२० देखि नेपालको भुटानी शरणार्थी शिविरमा बस्दै आएका हाम्रा स-साना नानीहरुलाई शिक्षा प्रधान गर्ने साथै स्वास्थ्य उपचार, विपद् उद्धार सहयोग, पोषण लगायतका कार्यक्रमहरुमा पनि सहयोग गर्दै आएको छ ।

दुई शरणार्थी शिविरमा अझै ७ हजारभन्दा बढी भूटानी शरणार्थी बसोबास गरिरहेका छन्। ११३, ००० भन्दा बढी भुटानी शरणार्थी विभिन्न ८ वटा विकसित देशमा पुनर्वास भएका छन्। पोषण, शिक्षा, स्वास्थ्य देखभाल र उनीहरूको दीर्घकालीन शरणार्थी मुद्दाको स्थायी समाधानको लागि आवश्यक सहयोग र व्यवस्थापनलाई प्राथमिकता र अविलम्बीताका साथ मानवीय समर्थनको निरन्तरता को खोजीमा शरणार्थी शिविरमा रहेका भूटानी शरणार्थी समुदाय र पुनर्वासको भएका ग्लोबल भुटानी समुदाय गैरआवासीय नेपाली दर्जाका अधिवक्ता भन्दा शिविरमा बस्ने मानिसहरुको स्थायी समाधानका लागि बढी चिन्तित छन् । मलाई विश्वास छ यो एनआरएन स्टाटस भू-राजनीतिक हैसियतका कारण हाम्रा लागि असान्दर्भिक छ।”, डीबी राई, जिबिओ अध्यक्ष

भगीरथ योगी भन्नु हुन्छ,”गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भाषी भुटानी समुदायलाई पनि समेटेर अगाडी बढ्नु पर्छ जस्तो मलाई लाग्छ। नेपाल सरकारले बनाएको गैर आवासीय नेपाली सम्बन्धी ऐन तथा संघको आफ्नै विधान अनुसार नेपाली भाषी भुटानी समुदायलाई संघमा समेटने स्थिति अहिले छैन। तर हालै संघद्वारा आयोजना गर्न लागिएको एनआरएन द सिंगर जस्ता प्रतियोगिताहरु भुटानी लगाएत सबै नेपाली भाषीका लागि खुला गरिएको छ, जुन स्वागत योग्य छ।

नेपाली भाषा बोल्ने, हिन्दु धर्म मान्ने, ठूलो उत्साहका साथ दशैं, तिहार, माघे सक्रान्ति जस्ता चाड पर्व मनाउने भुटानी नेपालीहरु अहिले थुप्रै पश्चिमा मुलुक हरुमा बसोबास गरिरहेका छन्। आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउने देखि नेपाली संस्कृतिको जगेर्ना गर्न पनि भुटानी समुदाय निकै सचेत देखिन्छ। नेपालको कानून नै संशोधन गर्न तत्काल कठिनाइ हुने भएता पनि सांस्कृतिक र सामाजिक गतिविधिमा प्रवासमा रहेका भुटानी समुदायलाई समेटेर अगाडी बढ्दा एनआरएनएलाई नै फाइदा हुने म देख्दछु।

आफ्नो देशबाट बलजफ्ती धपाइए पछि नेपालका शरणार्थी शिविरहरुमा लामो समय कष्टकर जीवन बिताएका भुटानीहरु अहिले पुनर्वास गराइएका मुलुकमा एकसेएक प्रगति गर्दै अगाडी बढी रहेका छन्। नेपाल र नेपाली प्रति भुटानी समुदायको स्नेह त्यत्तिकै गहिरो रहेको मैले पाएको छु। त्यसैले एनआरएनएले भुटानी शरणार्थीहरुको स्वदेश फर्कन पाउनु पर्ने अधिकारको वकालत गर्नुका साथै कुनै न कुनै रुपले संस्थागत रुपमै समेटेर लानु पर्छ जस्तो मलाई लाग्छ। प्रवासमा रहंदा, बस्दा एक आपसमा हातेमालो गरेर अगाडी बढ्नु नै हामी सबैको हितमा छ।”

पुनर्वास भएका अधिकांश पाका मानिसलाई सोध्नेहो भने भुटामा एक पटक पाइला टेकेर मर्न पाए हुन्थ्यो भन्छन। जन्मभूमि नै स्वार्ग हो तिमीहरूका निम्ती, नेपाल त शरणागत स्थान मात्र थियो। हिजो न अपनाउन चायो वा न आज पुर्बी नेपालमा रहेका शरणार्थीलाई अपनाएको छ। अब यो बिषयमा किन बहस गर्ने?

हाल पुनर्वास भएका भूटानीहरूले एनआरएनको बखेडा झिक्नु भन्दा हामी स्थापित हुदै गरेको समाजमा भैरहेको समस्लाई प्राथमिकतामा राखेर अधि बड्नु नै सबैका निम्ती फलदायक हुनेछ। समाजमा घरेलु हिंसा, लागुऔषधको समस्या, मानसिक स्वास्थ्य, स्कुल ड्रपआउट , मादकपदार्थको सेवन र त्यसबाट हुने क्षतीका बारे बहस गर्ने, यि समस्याको रोकथाम गर्ने, शैक्षिक रूपमा समाजलाई अधि बढाएर युबा पुस्ता सामाजिक काममा प्रस्थान गर्ने समय हो यो। काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर भनेझै यो बेमौसमी एनआरएनएको बखेडामा झुन्डिरहनु मैले चै फाइदाजनक देखिन।

सिएम निरौला
भुटानी पत्रकार, अमेरिका
निरौला presidential volunteers service award 2021 ले सम्मानित भएका ब्यक्ति हुन।

 

प्रतिक्रिया