कविता:विदा भएको बस्ती

सुशील नेपाल २०७८ पुष ४ गते १५:०१ मा प्रकाशित
मैले बिहोरेको एउटा वस्ती थियो,
समयको गोरेटोमा,विस्मृतिको खास्टो ओडेर,
सुस्त,सुस्त पदचापले,चूपचाप विदा भयो,
हल्का सम्झना छ,
पाकोको मिठाई पसल,
भोटहिटीको पुस्तक पसलहरू
असनको ‘नेपाल क्याप हाउस’
जमलको  मोमो,
त्यो विट्रिस लाईव्रेरी,
फ्रस्टिंयाक रेस्टुराँमा पाक्ने विदेशी परिकार,
वेग्लै आनन्दको मौलिक आभाष
पार्कमा वसेर वदाम छोडाएको,
पार्क रेस्टुराको ज्याज,
स्वीट भ्यालीको समोसा,
नयाँसडकके चूरा पसल,
न्यानो खास्टो,
न्यानो चप्पल,
अति सुन्दर यौवनाहरूको
मादक मुस्कानको घातक प्रहारले
छटपटिएर,मुटु ढुकढुक गर्दै,
कुरा कोट्याउन संगालेको आत्मवल,
साक्षि बसेको त्यो वस्ती
कसरी चूपचाप विदा भयो होला
म छक्क पर्छु !
थो रेडियो नेपाल खः
त्यो प्रष्ट उदघोषण,
वच्चु कैलाश,नारायणगोपाल, प्रेमव्धजले
जगाएको छटपटाहट,
संस्कृतिको त्यो आवरण,
हठात् हरायो,
हरायो संगै,संम्वेदनशीलता,
लुछाचूडी र लुटमारको वन्धक भएर
चूपचाप विदा भयो
त्यो वस्ती !
अहिले अखवार छ,
खवर छैन,
शरीर छ वस्त्र छैन,
प्यास छ,तर माया छैन,
सवैथोक सजिएर झकाझक छन्,
तर कौतुहलता छैन,
चाहना छ,तर सास्वत विस्वास छैन,
टोलाएर एक्लै झोक्रिएको छ
टुडीखेल,
सव का सव खेलाडी  छन्
कुनै नियम छैन अन्दाधुन्द दौडेका छन्
खेलाडी कम, रेफ्री वढी,
ठेलमठेल,लुछाचूडी,र कुनै ओऔचित्य विनाको
चौरस्तामा हूलका हूल मान्छे चलाएमान् छन्,
तर वस्ती उदास र रोगी भएर,
विदा भएको छ,
दुखलाग्छ सम्झंदा त्यो,
विदा भएको वस्ती !
१२/१७/२१
 -सुशील नेपाल
राजमित्र प्रांगण
माल्डेन,बोस्टन अमेरीका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया