एड्स नियन्त्रणको पृष्ठभूमिमा कोरोना सचेतना

सञ्जय साह मित्र २०७८ मंसिर २५ गते २:३० मा प्रकाशित

 

कुनै समय थियो जब एड्सले संसार डुबाउला जस्तो भएको थियो।जब कहीँ एड्सको चर्चा हुन्थ्यो तब साँच्चै डर लागेर आउँथ्यो।कहिलेकाहीँ त एड्स रोगीलाई छुँदा पनि लाग्छ कि के हो भन्ने जस्तो पनि हुन्थ्यो।एड्स महामारीको रुपमा फैलिन सक्ने चेतावनीहरु पनि आइरहन्थे।धेरै देशमा विस्तारै एड्स फैलिरहेको पनि थियो तर समयक्रममा एड्सको भयावहता अहिले उति धेरै छैन।एड्स अहिले पनि छ,एड्सको विस्तार अहिले पनि भइरहेको छ,एड्सको औषधि खाने अझै पनि धेरै छन् र एड्सबाट जोगिन अहिले पनि धेरै किसिमका उपायहरु अपनाइन्छन् तर चेतनाको विस्तारले एड्सको भयावहता धेरै कम भइसकेको छ।

एड्स फैलिने माध्यमहरु जे जे पहिचान गरिएका थिए,ती माध्यमहरुमा नै नफैलिने उपाय अपनाउनु सबैभन्दा प्रभावकारी उपाय हुने त्यत्ति बेलै बताइएको थियो। मानिसको र्यायालबाट नसर्ने तर रगत र वीर्यबाट सर्ने हुनाले यी दुवैलाई एकबाट अर्कोमा जाँदा उच्चतम सुरक्षा अपनाउँदा सर्ने माध्यम नहुन सक्छ।वीर्यबाट सर्ने कारणलाई नियन्त्रण गर्न अन्यत्र यौन सम्पर्क गर्नु पर्दा कन्डमको प्रयोग गर्दा सर्दैन,एक जनाको जिउमा प्रवेश गरेको कुनै औजार वा हतियार वा सुई अर्काको जिउमा प्रवेश नै नगराउने र यदि नगराई नहुने अवस्था आएको छ भने धेरै बेर पानीमा राखेर उमालेपछि मात्र पुनः उपयोग गर्ने,कसैलाई रगतको आवश्यकता परेमा रक्तदान गरेपछिको रगतलाई रक्तबैंकले पूर्णतया परीक्षण गरेर एड्स रोगको भाइरस नभएको भनी किटान गरेपछि मात्र रगत चढाउने र जतिपटक कुनै खोप अर्थात् सुई लिनु परेमा हरेक पटक नयाँ प्रयोग गर्ने जस्तो उपाय अपनाउने बताइएको थियो।अहिले यी र यस्ता उपायहरु अति सामान्य भइसकेका छन्।अति भयावह अवस्था देखि उपायलाई अति सामान्य बनाउँदा सम्मको अवस्थालाई राम्ररी नियाल्ने हो भने जनचेतनाले ठूलो काम गरेको छ।साथै सरकारले पनि यस विषयमा अत्यन्त गम्भीर भएर एड्सलाई सर्नबाट रोक्ने उपायलाई सबै किसिमले कार्यान्वयन गर्दै लगेको देखिन्छ।अझ स्वास्थ्य वैज्ञानिकहरुको निकै ठूलो भूमिका रहेको छ।सबैको संयुक्त प्रयासले एड्स रोग विस्तारै नियन्त्रणतिर गइरहेको छ।

एड्स र कोरोनाको फैलिने तरिका भने निकै फरक छ । एड्स लागेपछि विस्तारै मानिस भित्रभित्रै कमजोर बन्दै जाने हुन्छ र कोरोनामा पनि इम्युनिटी पावर कम हुँदै जाने गरेको बताइने गरिएको छ।जसरी आकाशमा घनघोर बादल मडारिन्छ त्यसरी एकचोटि फेरि संसारका स्वास्थ्य वैज्ञानिकहरुका अनुसार कोरोनाको नयाँ भेरियन्टको खतरा मडारिन थालेको छ।नयाँ भेरियन्ट धेरै खतरनाक रहेको र यसको विस्तार पनि निकै तीव्र रहेको बताइएको छ।अति तीव्र गतिमा कोरोनाको नयाँ भेरियन्टको विस्तार भइरहेको वर्तमान अवस्थामा फेरि पनि सावधानीको पक्षलाई धेरै महत्वका साथ हेरिएको छ।कतिपय देशले त निकै कडा कदम चाल्न सुरु गरिसकेको छ भने अधिकांश देश उच्च सतर्कतामा रहेको छ।नयाँ देखिएको कोरोनाको भेरियन्ट आफ्नो देशमा सकेसम्म नआओस् र आए पनि देशमा फैलिन नसकोस् भन्ने किसिमको सतर्कता अपनाइएको छ र अझ कडा सतर्कता अपनाउने काम पनि भइरहेको छ।

मानव समुदाय मुख्य गरी दक्षिण एसिया सामान्य स्थितिमा फर्किन थालेको अवस्थामा कोरोनाको नयाँ भेरियन्टको त्रास एउटा आतंकको रुपमा फैलिन सुरु हुँदा र कडा सतर्कताको कुरा सार्वजनिक भइरहँदा नागरिकस्तरमा पनि एड्सको समयको जस्तो कडा रुपमा आफूलाई सतर्क बनाउनु परेको छ।अहिले कोरोनाको संक्रमण दर केही कम भएको समयमा समाजमा लापरवाही यति धेरै बढेको थियो कि कतै कुनै केही पनि सतर्कता देखिएको थिएन।बजारमा कोही पनि मास्क लगाएको देखिएको थिएन।कतै कुनै सामाजिक वा व्यक्तिगत दूरी अपनाएको देखिएको थिएन।अझ पनि कोरोनाको कुनै प्रोटोकललाई यदि अपनाएको देखिन्छ भने कहीँ कहीँ सरकारी कार्यालयमा अपनाएको देखिन्छ।भारतमा भने हवाइजहाजको यात्रामा कोरोनाको नियम पालना गर्ने गरिएको अर्थात् कम्तीमा मास्क नलगाई कतै यात्रा गर्न नदिएको पाइएको छ।यसभन्दा बाहेक बजार, विद्यालय,अन्य सार्वजनिक यातायात तथा बिहे,भोजभतेर,पार्टी,सभा,जुलुस तथा विभिन्न किसिमका कार्यक्रमहरुमा कतै पनि कुनै किसिमको सतर्कतना अपनाउने गरेको देखिएको थिएन।एकैचोटि सामान्य अवस्थाको जस्तो सर्वसाधारणले गर्न थालिसकेका थिए जसले गर्दा एकातिर कोरोनाको कुनै डर नै छैन भन्ने भइरहेको थियो भने अर्कोतिर जनजीवन फेरि लय अर्थात् गतिमा आइरहेको बुझिएको थियो ।यद्यपि देशबाट कोरोना पूर्ण रुपमा अन्त्य भइसकेको थिएन वा छैन।अझै पनि हरेक दिन केही सयको संख्यामा देशमा नयाँ कोरोना संक्रमित देखा परिरहेका छन् र हरेक दिन केही मानिसको मृत्यु कोरोनाको कारण भइरहेको पनि नदेखिएको होइन।भन्नुको तात्पर्य यो हो कि हाम्रो देशमा पनि कोरोनासित मानिसले जीवन व्यतीत गर्न विस्तारै अभ्यस्त भइरहेको समय आइसकेको थियो तर एड्स लाग्नबाट बच्न सर्वसाधारणसमेतले अपनाउने गरेको उपाय जसरी सबैको लागि र सधैँको लागि भइसकेको वा अभ्यस्त भइसकेको अवस्था छ,यही अवस्था कोरोनाको संक्रमणलाई रोक्नदेखि हुन नसकेको देखिएको छ।

अहिले पनि एड्समाथि समाजले विजय प्राप्त गरिसकेको अवस्था छैन तर एड्सप्रति धेरै सचेत रहेको अवस्था भने अवश्य रहेको छ।कोरोनामाथि तत्काल विजय प्राप्त गर्न सम्भव देखिएको छैन किनभने कोरोनाले दैनिक सयभन्दा बढीमा आफ्नो संक्रमण देखाइरहेको छ।तर एड्सविरुद्ध सचेतता जनमानसमा नै पुगिसकेको छ,धेरै मानिस पूर्णतया सचेत छन्,सचेतना कुनै एक ठाउँ वा कुनै विशेष परिस्थितिमा मात्र अपनाउनु परेको छ भन्ने होइन।सर्वत्र सदैव सचेत रहेर एड्सको वृद्धिमा निकै हदसम्म रोक लागेको भन्ने कुरा धेरैले बुझेका छन्। अहिलेको समयमा कोरोनाको जब भयावहता विस्तार भइरहेको छ वा निकट भूतकालमा नै हाम्रो समाजमा कोरोनाले धेरै क्षति गरिसकेको छ भने भविष्यमा कोरोनाबाट जोगिन सम्पूर्ण समाज वा देश नै एक हिसाबले सतर्क नरहे,सचेतना नअपनाए यसबाट समाजलाई कसरी जोगाउन सकिएला ?

एड्स लागेर मानिसको मृत्यु छिटो भइहाल्दैन।एड्स लागेपछि एड्स लागेको थाहा भएपछि पनि धेरै दिनसम्म सामान्य जीवन बिताउन कुनै गाहारो हुँदैन । अब त विभिन्न किसिमका औषधिहरु पनि आइसकेका छन् तर दुई वर्ष आएको कोरोना समाजमा एउटा सुनामी बनेर आएको देखिन्छ।कोरोनाले मृत्युको बाढी वा रोगको आँधी नै ल्याएको देखिएको थियो।एकपटक त यस्तो देखिएको थियो कि कोरोना संक्रमितलाई राख्ने क्वारेन्टिनको अभाव भएको थियो।अस्पतालमा उपचार गराउन जाने संक्रमितलाई राख्ने ठाउँ थिएन।चिकित्सक,स्वास्थ्य कर्मचारी,बिरामी बोक्ने एम्बुलेन्स चालकसमेत एकचोटि डराएका थिए।को संक्रमित हो र कसबाट कतिखेर सर्छ भन्ने कुरा बुझ्न गाहारो भएको थियो र समाजमा भयावह डर उत्पन्न भएको थियो।मानिस यसरी डराएका थिए कि एउटा मानिसले अर्को मानिसलाई शंकाको दृष्टिकोणले हेर्दथे।कतिपयले के कुरा भनिरहेका छन् भने यही डराउने अवस्थाले गर्दा कोरोनाको संक्रमण केही कम भएको हो र समाजमा जति धेरै डराउने अर्थात् सचेतनाको अवस्था थियो कोरोना उति धेरै कम भएको थियो।भयावह अवस्थाबाट समाजले यही सचेतनाको कारण मुक्ति पाएको अवस्थालाई बिर्सनु हुँदैन भन्ने भनाइ रहेको छ।सरकारले पनि कोरोना संक्रमणले धेरै विस्तार लिएको अवस्थामा अपनाएको सतर्कता वा समाजमा अपनाउन लगाएको सतर्कतालाई पूरै एकैचोटि छोडिदिनु हुँदैन।सर्वसाधारणलाई जति धेरै सचेत गराउन सकिन्छ, त्यत्ति धेरै सचेत गराउनमा सरकारको ध्यान निरन्तर गइरहनु पर्छ।सरकारी निकायमा सचेतनाको सचेतना कम भएर जाँदा सर्वसाधारणमा अझ बढी लापरवाही आउने हुन्छ भन्ने कुरो व्यवहारमा अहिले देखिएको छ।व्यवहारमा यही देखिएको छ कि सरकार र सरकारी संयन्त्रमा यदि कडा निगरानी हुन्छ भने सर्वसाधारणलाई निरन्तर कसैले निगरानी गरिरहेको अनुभूति हुँदोरहेछ।यदि निगरानी कम हुन्छ भने सर्वसाधारणमा लापरवाही निकै बढेर जाने रहेछ वा सामान्य जीवन बिताउन सर्वसाधारण बढी चाहँदो रहेछ।यो स्वाभाविक पनि हो।सामान्य अवस्थामा आफूलाई फर्काउन चाहनु मानवीय गुण हो।

समय जसरी बदलिन्छ, मानिसले त्यसै अनुसार चल्द सिक्दछ र त्यसरी चल्न सिक्नु पनि पर्दछ।अहिले कोरोनाबाट बच्न धेरै किसिमका खोपहरु आइसकेका छन् ।धेरैले खोप लिएका पनि छन्।खोप लिइसकेकाहरुमा सतर्कता छँदैथिएन।खोप लिएकाहरुले आफूलाई पूर्ण सुरक्षित ठानिरहेका थिए।यसकारण पनि समाजमा लापरवाही बढेको जस्तो देखिएको थियो अर्थात् सर्वसाधारणलाई यो भएको थियो कि कोरोनाको खोप लिइसकेपछि अब कोरोना लाग्दैन तर अहिले कोरोनाको नयाँ भेरियन्टले जब सर्वत्र त्रास फैलाइरहेको छ तब यसबारे धेरै कुरा थाहा नभएको बताउन थालिएको छ।अझ कतिपय संचार माध्यमले त कोरोनाको नयाँ भेरियन्टलाई अहिले प्रयोग र प्रचलनमा रहेका खोपहरुले पनि काम नगरेको वा नगर्ने भनी बताइरहेकोले अझ बढी त्रास फैलिरहेको छ।यो झूठो होओस्।समाजमा अनावश्यक त्रास पनि नफैलिओस् तर आवश्यक सतर्कता भने अपनाइयोस्।अहिले कोरोनाको नयाँ भेरियन्टको बारेमा जुन त्रास देखिएको छ,यसको बारेमा पनि वास्तविकता सर्वसाधारणलाई विश्वसनीय किसिमले जानकारी होओस्।

सञ्जय साह मित्र

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया