नाम्लोको बरीयोले
त्यसरी नसँठ्ठाउ न बुहारी
त्यो नातिलाई।
पढेन राम्ररी भनेर
कति मात्र सताउँछ्यौ त्यसलाई
किताबकै किरो भएन त के भो ?
आखिर
जीवन त पढिरहेकै छ उसले
जीवनोपयोगी सीप त
सिकेकै छ उसले।
पल्ला घरे
फुर्सीको छोरो जस्तै
प्रथम भएन भनेर
किन टोकस्छ्यौ उसलाई ?
डाँडाघरे विमली जस्तै
पढन्ते भएन भनेर
कति हकार्छ्यौ ?
साँझ परेपछि
आँगन छेउको
चर्पी जान साथी चाहिने
फुर्सीको छोरो,
स्कूल जाँदा
बाटोमा लुते कुकुर देखेर
स्कूल नगई
घर फर्कने विमली हेर त।
तिम्रो छोरो
त्यस्तो कायर त छैन नि।
अनि के जान्दैन
मेरो नातिले ?
टोलमा केहि काम पर्यो कि
मेरै नातिको नाम पहिले लिन्छन्
टोलको धारो विग्रियोस्
या घरको पङ्खा नचलोस्
को जान्छ प्लम्बर खोज्न ?
को जान्छ मिस्त्री बोलाउन ?
पहिले नातिकै खोजी हुन्छ ।।
अस्ती भर्खर त हो
एक्कासी व्यथाले च्याँप्दा
आधा रातमा
विरामी अस्पताल लैजान
अरुले वहाना गरेपछि
विना लाइसेन्सको मेरो नाति
बाइकमा विरामी बोकि
अस्पताल पुग्यो
र त ज्यान बाँच्यो,
कागजमा लेखेको
लाइसेन्सलाई पो उमेर पुगेन
आपद् परेको विरामी
अस्पताल पुर्याउन
बाइक चलाउने
सीप त छ नि उसमा।
बिग्रेको धारा बनाउँछ
नचल्ने पङ्खा चलाउँछ
आपद् विपदमा
अगाडि सर्छ
जस्तै कठिन परिस्थितीमा
हिम्मत् गर्छ
अनि के पढेन तिम्रो छोराले ?
अनि के सिकेन
मेरो नातिले
र त्यसरी बजाउँछ्यौ ??
तल्लाघरे जेठाजुको नाति
सहर पढेर फर्केको
बा, आमैको खुट्टै ढोगेन रे।
पितृ परेका बुढाबुढी
चित्त दुखाउँदै थिए
नातिले माया विर्सियो भनेर।
ऊ सानो छँदा
तिनै जेठाजु
काँधिकुरी हालेर नातिलाई
गाउँ चहार्थे
एकैछिन छोड्दैनथे उसलाई
नाति पनि हुरुक्कै हुन्थ्यो,
तर आज
नातिले पढेर सहरमा
तमासा देखाइदियो।
तिम्रो छोरो,
मेरो प्यारो नाति
कति माया गर्छ मलाई
यो बुढेसकालमा
ढुक्कको सहारा छ मेरो,
सबै गाउँले
यसैको प्रशंसा गर्छन्
यसकै उदाहरण दिन्छन्
यता तिमी भने
छोराले पढेन भन्दै
दिनरात टोकसी रहन्छ्यौ।
यसले
गरि खाँदैन भन्दै
भुटभुटिई रहन्छ्यौ ।।
त्यसैले निर्धक्क बस
किताबै नपढेर के भो त ?
जिवन त पढेकै छ उसले
कागजको प्रमाण
नभएर के भो त ?
गाउँले प्रमाण त
पाएकै छ उसले ।।
तसर्थ
पिर नलिई
ढुक्क हौ बुहारी
जीवन जिउने सीप त
सिकेकै छ उसले।
सामाजिक जीवन बाँच्ने
कला जानेकै छ उसले।।
— अस्तु —
प्रतिक्रिया