जीवनोपयोगी २२ सीपहरु:

सरगम भट्टराई २०७८ कार्तिक २५ गते २२:२० मा प्रकाशित

१: ‘छोरी’ र ‘बुहारी’मा तथा ‘सासु’ र ‘आमा’मा भेद नगर्नुहोस्,तपाईँकी ‘छोरी’ कसैको घरकी ‘बुहारी’ तथा तपाईँकी ‘बुहारी’ तपाईँले जस्तै मुटुको टुक्रा मानेकी कसैकी ‘छोरी’ हुन्,त्यसैगरी तपाईँकी ‘आमा’ पनि कसैकी ‘सासु’ हुन् र तपाईँकी ‘सासु’ पनि कसैकी जन्म दिने ‘आमा’ हुन्भन्ने कुरा नबिर्सनुहोस्।

२: संसारका सबै मानिसहरु फरक फरक हुन्छन्,त्यसैले सबै आफू जस्तै हुन्छन् भन्ने अपेक्षा नगर्नुहोस् र स्वभाविक रुपमा स्वीकार्नोस्।

३: ज्यान जाने खतरा भए बाहेक सधै सत्य बोल्नुहोस्,सके सम्म झूठो नबोल्नुहोस्,एउटा झूठ लुकाउन दशौँ झूठ बोल्नुपर्छ,यसले तपाईँलाई ग़लत बाटो हिडाउँछ।

४: तपाईँको सबैभन्दा मिल्ने साथीको कमजोरी उसलाई बताईदिनोस्,त्यस्तै तपाईँको कमजोरीबारे पनि साथीसंग सोध्नुहोस्।

५: आफूलाई जस्तो ब्यवहार मनपर्छ,अरुसंग त्यस्तै ब्यवहार गर्नुहोस्।आफू रुख़ो भएर अरुसंग नम्र ब्यवहारको अपेक्षा नगर्नुहोस्।

६: कहिल्यै पनि आफ्नो सौन्दर्यता,धन,विद्वता र आरोग्यताको घमण्ड नगर्नोस्,ती सबै तपाईँका वैयक्तिक कुराहरु हुन्।

७: कहिल्यै ‘म यस्तो म उस्तो’ भनेर आफ्नो प्रशंशा आफै नगर्नुहोस्।तपाईँको अनुपस्थितिमा तपाईँको प्रशंशा गर्नसक्ने वातावरण तयार गर्नुहोस्।

८: तपाईँका आफन्तहरुसंग नियमित सम्पर्कमा रहनुहोस्,काम पर्दा मात्र सम्पर्क गर्ने काम नगर्नुहोस्।काम पर्दा मात्र सम्झनु स्वार्थ हो।

९: तपाईँले कसैलाई गरेको सहयोगलाई पटक पटक ‘मैले उसलाई यस्तो गरेँ’ भन्दै उसलाई मालिकको जस्तो रवाफ नदेखाउनोस्।साथै आफूलेगरेको मानवीय सहयोग फिर्ताको अपेक्षा पटक्कै नगर्नुहोस्।

१०:परिवारवीच विवाद हुँदा तत्काल प्रतिरोध नगर्नुहोस्,केही समय विवादस्थलबाट टाढा हुनुहोस्,स्थिति साम्य भएपछि शालीन तरीकाले समस्या माथि छलफल गर्नुहोस्।

११: अरुको अगाडि कहिल्यै पनि आफ्नो श्रीमान या श्रीमतीको आलोचना नगर्नुहोस्,यसले तपाईँको सम्बन्ध कमजोर बनाउन मलजल गर्नसक्छ।

१२: कसैलाई चाहिने भन्दा बढी माया,आदर या विश्वाश नगर्नुहोस्।चाहिने भन्दा बढी माया,सत्कार चाकडी हो।

१३: अरुले दिएको उपहार वा उपकारको खुलेर प्रशंशा गर्न नभूल्नुहोस्,त्यसले दिने ब्यक्तिलाई खुशी दिन्छ।

१४: कसैलाई तुरुन्तै विश्वाश नगरिहाल्नोस्,त्यस्तै लामो समय सम्मको सम्बन्धलाई सानो कारणले नतोड्नुहोस्।

१५: कसैसंग शत्रुता नगर्नुहोस्,परिस्थितिले शत्रु भईहाले भने उनीहरुको अगाड़ी सधै प्रगति गर्न प्रयासरत हुनुहोस्।शत्रुको डाह नगर्नुहोस्।

१६: कसैसंग आशा गर्ने काम नगर्नुहोस्,बरु अरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेतर्फ केन्द्रीत हुनुहोस्।

१७: जन्म दिने आमा बाबुप्रति सधै कृतज्ञ हुनुहोस्,आफ्ना छोरा छोरीहरुलाई सानैबाट परिवारको महत्व बताउनुहोस्।पटक पटक आफू काल्पनिक रुपमा बाबु आमा भएर सोँच्ने गर्नुहोस्।

१८: ज़िन्दगीमा एउटा ब्यक्तिलाई आफ्नो आदर्श ब्यक्ति मानेर अघि बढ्नुहोस्।त्यो ब्यक्तिसंग डर पनि मान्नुहोस्,आफ्ना गल्तीहरुबाट सिक्नोस्।

१९: तपाईँको लागि धेरै जसो राम्रो ब्यवहार गरेको मान्छेका एक दुई ब्यवहार खराब नै भए पनि त्यसलाई नजर अन्दाज़ गर्नुहोस्।

२०: म मात्रै जान्ने,सुन्ने र असल छु भन्ने भ्रम त्याग्नुहोस्,खराब मान्छेमा पनि केही न केही राम्रा गुणहरु हुन्छन् भन्ने यथार्थ आत्मसाथ गर्नुहोस्।

२१: कसैको आलोचना नै गर्नु परेको बेला सधै सन्तुलित,सभ्य र शिष्टाचारपूर्वक आलोचना गर्नुहोस्।

२२: दु:खमा तपाईँलाई सहयोग गर्नेहरु प्रति सदैव कृतज्ञ हुनुहोस्,तपाईँले पाएको सहयोगलाई उचित समयमा पैँचो तिर्नुहोस्।

-सरगम भट्टराई

 

प्रतिक्रिया