बज्जिका लोकसंस्कृतिको महाआस्था:छठ

सञ्जय साह मित्र,रौतहट २०७८ कार्तिक २२ गते १२:२१ मा प्रकाशित

बज्जिकांचलको समाज र संस्कृतिमा वर्षको दुई पटक छठ मनाइन्छ – कात्तिक र चैत।उही समाजमा उही पर्व वर्षको दुई पटक मनाइने निकै कम संस्कृतिमध्ये छठ पनि पर्दछ।कात्तिकमा मनाइने छठ र चैतमा मनाइने छठको विधि,रीति,तिथि तथा अन्य सम्पूर्ण तरिकाहरु र आस्थामा कुनै भिन्नता छैन।फरक यति हो कि कात्तिकको छठले जाडो आउँदै गरेको संकेत दिन्छ भने चैतको छठले गर्मीको संकेत गर्दछ।कात्तिकको छठ बाह्य समाजमा पनि निकै फैलिइसकेको छ र चैते छठ बज्जिकांचल समाज र संस्कृतिमा नै बढी सीमित रहेको छ।यसले विस्तारै विस्तार रुप पाइरहेको छ।

कात्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथि र चैत महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा मूल रुपमा मनाइने हुनाले यो पर्वको नाम षष्ठीबाट अपभ्रंश भई छठी र छठ भएको हुनुपर्छ।वास्तवमा यो पर्व नहाखाएके,खरना,सँझियाघाटे र भिनहियाघाटे गरी चार दिनसम्म मानिन्छ।निक्कै सशक्त अनुशासन र उच्च निष्ठा तथा श्रद्धाका साथ मनाइने छठ पबनीको पहिलो दिन व्रतालुहरुले आँपको दतिवनले दाँत माझी स्नान गरेर मात्र खाना खान्छन्।दाँत माझ्दा कुनै पेस्ट वा मन्जनको प्रयोग गरिँदैन, स्नान गर्दा कुनै साबुन दल्नु हुँदैन र खाना खाँदा हरेक दृष्टिले पूरै चोखो तथा शाकाहारी हुनुपर्छ।स्नान गरेपछि पूर्णतया व्रतको नीति, नियम र निष्ठामा आस्थावान रहनु पर्दछ।

आँगन र घरलाई लिपपोत गरी पूर्णतया सफा र चोखो बनाइएको हुन्छ । छठको दोस्रो दिन खरना हुन्छ।तिथिको दृष्टिले कात्तिक शुक्ल पञ्चमीको दिनलाई खरना भनिन्छ।खरनाको दिन दिनभर पूर्णतया निराहर व्रत बसिन्छ।मुखमा पानीसमेत हाल्न नहुने र थुक पनि निल्न नहुने मानिएको अत्यन्त कडा नियमको व्रत बसेर साँझ हरेक व्रतालुको घरमा खरना गरिन्छ।नयाँ चुलामे खरनाको सामग्री पकाइन्छ।खरनामा चामलको रोटी,खिर,मूला र फलफूलका साथै अन्य केही खाद्यपदार्थ चढाइन्छ।घरका सबै सदस्यले श्रद्धाले ढोग्ने चलन छ।साकल गरेपछि साँझको पूजा सकिन्छ।चढाइएको सामग्री व्रतालुहरुले प्रसादको रुपमा ग्रहण गर्दछन्।पानी पनि खान्छन्।घरका सबैले प्रसाद खान्छन्।इष्टमित्र तथा छिमेकीलाई समेत खरनाको प्रसाद वितरण गर्ने चलन छ।

खरनाको भोलिपल्ट षष्ठी अर्थात छठ हुन्छ।बिहानदेखि हरेकजसो घरमा छठको तयारी शुरु हुन्छ । घरभित्र छठको पूजालाई चाहिने सामग्रीको तयारी भइरहेको हुन्छ भने घरबाहिर छठको घाटको तयारी भइरहेको हुन्छ।नजिकको नदी वा पोखरीजस्ता जलाशयको घाटमा श्रीसप्ता स्थापना गरी त्यसलाई सजाउने कार्य गरिन्छ जहाँबाट अस्ताउँदो र उदाउँदो सूर्यलाई सजिलोसिट अर्घ दिन सकियोस्। ठेकुवा र कसार छठ पूजाको विशेष प्रसाद हो ।चुलोमा पकाउने सामग्री पनि प्रायः यिनै हुन्।नयाँ डालोमा ठेकुवा,कसार,उँखुको टुक्रा,नरिवल,केराउ, अक्षता,केरा,निबुआ,मूला,अन्य फलफूल,अदुवा लगायत दर्जनौँ सामग्री राखिन्छ।
नजिकको जलाशयमा सजाइएको घाटमा दिउँसो डालोमा छठ पूजाका सम्पूर्ण सामग्रीहरु लिएर जाने चलन छ।छठघाटमा लस्करै जाँदाको दृश्यमा परम्परागत बाजा र छठगीतको परम्परागत स्वरको संयोजनले साँच्चिकै बेग्लै अनुभूतिको सञ्चार गरेको हुन्छ।घाटको माहोल त झन् कुनै पनि ग्रामीण वा समुदायमा हुने हरेक वर्षको सबैभन्दा आकर्षक र मनमोहक हुन्छ।सबै नयाँ पहिरनमा सजिएका हुन्छन् र घाटलाई कुनै अपूर्व सुन्दरीजस्तै सजाइएको हुन्छ।कतै स्थायी र कतै अस्थायी रुपमा बनाइएको श्रीसप्तालाई चारैतिर घेरेर व्रतालुहरु मिलाएर बस्छन्।समूहमा बसेर छठी माई र सूर्यदेवसित सम्बन्धित गीतहरु गाउँछन्।सूर्य अस्ताउन थालेपछि जलाशयको जललाई छोएर सूर्यलाई अर्घ दिने गरिन्छ।अर्घ दिएर फेरि पुरानै ठाउँमा आएर बस्ने गरिन्छ।साँझ परेपछि कतिपय ग्रामीण समुदायका घाटबाट घर फिर्ता आउँछन् भने अधिकांश ठाउँमा घाटमा नै रात बिताउने चलन छ।

घर फर्केर होस् वा घाटमा नै बसेर होस्, राति कोसिया भर्ने चलन छ । चारवटा उँखु वा उँखु उपलब्ध नहुने अवस्थामा चारवटा काँडा उभ्याएर तथा कतै माटोको हात्तीमा वा कतै छठको कोसियाको लागि बनाइएको माटोको विशेष घैला एकमाथि अर्को राख्दै तीन वा पाँच खण्डको बनाएर विशेष पूजा गरिन्छ।के मानिन्छ भने छठ घाटमा सूर्यलाई गरिएको पूजा वा दिइने अर्घ सूर्यको पूजा हो भने राति कोसियामा गरिने पूजा छठीमाईको पूजा हो।अघिल्लो दिन साँझ खरनामा पनि गरिएको पूजालाई छठीमाईको पूजा मानिन्छ।अधिकांश ठाउँमा रातभरि रातभरि जाग्राम बसिन्छ।घाटमा व्रतालुहरुले निदाउनु हुँदैन भन्ने मान्यता छ।
व्रतालुहरुलाई सजिलो र रात कटाउनका लागि धार्मिक जागरण कार्यक्रम तथा नाटक र सांस्कृतिक कार्यक्रमहरुको आयोजन गरिएको हुन्छ।अघिल्लो दिन निराहार बसी रातमा प्रसादमात्र ग्रहण गरेको र षष्ठीको दिन दिनभरि केही पनि खान र पिउन नहुने कडा नियमको कारण थकित र गलित अधिकांश व्रतालुहरु घाटमा नै आराम गरिरहेका देखिन्छन्।घर फर्केर कोसिया भर्नेहरु एकाबिहानै अँध्यारोमा नै फेरि जलाशयको किनारमा सजाइएको छठघाटमा पुग्छन्।बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।बिहानको अर्घ दिएपछि घाटमै व्रतालुहरु व्रत सम्पन्न भएकोमा शुभकामना आदानप्रदान गर्दछन् । महापबनीको प्रसाद साटासाट गर्ने, एकअर्कालाई तेल लगाउने, गाजल लगाउने, कोसेली साटासाट गर्ने चलन छ। यति गरेपछि श्रीसप्तामाथि जल चढाएर व्रतको समापन गरिन्छ।व्रतको समापन सप्तमी तिथिको दिन गरिन्छ । यस दिनलाई पारन भनिन्छ।

सप्तमीको दिन बिहान घाटमा नै व्रतको समापन भए पनि व्रतालुहरु घर फर्केर आएपछि छठको व्यक्तिगत किसिमले व्रतालुहरुले पारन गर्दछन् । लगातार तीन दिनदेखि केही पनि नखाएको अवस्थामा व्रतालुहरुमध्ये कतिपयले दान गर्न चाहन्छन् । कतिपय घरमा कूल देवतालाई पूजा गरी मुखमा तुलसी हालेर वा प्रसादको रुपमा रहेको अदुवालाई मुखमा हालेर व्रतलाई विधिवत समापन गर्दछन् ।त्यसपछि मात्र खाना खान्छन्।व्रतालुले खाना खाएपछि यस वर्षको व्रतको समापन हुन्छ र व्रतको समापन भएपछि छठको कोसेली दिदीबहिनीकहाँ दाजुभाइले लिएर जाने चलन छ।छठमा चढाइएको प्रसाद दिदीबहिनीकहाँ अनिवार्य रुपले लैजाने गरिन्छ।छठ पबनी नगर्ने घरपरिवारबाट पनि छोरी वा दिदीबहिनीकहाँ कोसेली लैजाने चलन छ । संस्कृतिकै सबैभन्दा ठूलो महापर्व र आस्थाको महामेला हुने भएकोले कोसेलीलाई पनि उच्सवकै एउटा अंगको रुपमा लिइन्छ।यस दिनलाई बिदागरीको दिन पनि भनिन्छ।माइती आएका चेलीबेटीहरुलाई उनका घरका मानिसहले बोलाएर लिएर जान्छन्।पहिलोचोटि छठको व्रत लिनेहरु प्रायः माइतमा नै उठाउने गर्दछन् र छठ सकिएपछि कोसेलीसहित आफ्नो घर पुग्दछन्।एक महिनादेखि गाउँघर तथा सडक चोकहरुमा बजिरहेका छठका आधुनिक तथा परम्परागत लोकगीतहरु यहीबाट बन्द हुन्छ।माइतीमा रहेका छोरीचेलीहरु साँझदेखि सामाचखेवा खेल्न सुरु गर्छन्।सामाचखेवा दिदीबहिनीहरुले मान्ने छुटै संस्कृतिको रुपमा रहेको छ।

छठको परम्परागत र पहिलो मूल गीत बज्जिका भाषामा नै रहेको छ । बज्जिका भाषा र संस्कृतिको उदगमस्थल मानिएको भारत,बिहारको वैशाली नै छठको उगदमस्थल हो र यहीबाट यो अन्यत्र फैलिएको छ।अहिले पनि बज्जिकांचलमै चैती छठ धूमधामसित मनाइन्छ।कात्तिकको छठजस्तै विस्तारै चैती छठले पनि विस्तार रुप पाउने सम्भावना छ।छठलाई आफ्नो संस्कृतिको उपज भनेर ट्रेड मार्क दाबी गर्नेहरु धेरै छन् तर छठ बज्जिका संस्कृतिको उपज हो।

बज्जिकांचलमा सूर्यको पूजा अन्य विभिन्न अवसरमा पनि गरिन्छ।कोही हरेक दिन स्थान गरेर सूर्यलाई जलार्पण गर्दछन्।अनेक लोकदेवी तथा देवताको पूजामा सबा पहर दिन चढेपछि खुकुरीले बनाएको सात तले सिंढीमा उक्लेर सूर्यलाई अर्घ दिने चलन छ।सूर्यको पूजा वर्षभरि नै भइरहन्छ तर छठ पर्वमा भने विशेष किसिमको पूजा हुन्छ।कसैले छठलाई सूर्यको पूजा मात्र भन्न रुचाउँछन् तर होइन।

बज्जिकांचलमा पञ्चमी र षष्ठी तिथिको रातमा छठी देवीको पूजा हुन्छ।षष्ठीको अस्ताउँदो र सप्तमीको उदाउँदो सूर्यलाई पूजा गरिन्छ।अनेक विश्वास,लोककथा तथा गीतहरु रहेको लोकमहापर्व छठमा कुनै पन्डित पुरोहितको आवश्यकता पर्दैन ।

-सञ्जय साह मित्र,रौतहट

 

प्रतिक्रिया