तिहार र गाउँ

विष्णु पगेनी सिग्देल, एटलान्टा, अमेरिका २०७८ कार्तिक १८ गते १९:४३ मा प्रकाशित

मखमली सयपत्री फुले होलान गाउँतिर
लह लह मार्सी धान झुले होलान गाउँतिर
दिदी आउने बाटो हेर्दै बस्यो होला भाइ पनि
परदेसीले माया मारी भन्दै होलान दाइ पनि ।।

खाली निधार, खाली गला बर्सौ बित्यो यतातिर
बिना चेली चाडवाड खल्लो बने त्यतातिर
परदेसी र घरदेसीका पीडा पनि कति कति
नसकिने फाल्न हजुर दुइचार बोरा मिल्ने जति ।।

सम्झनामा आइरने मादलु र देउसी भैइलो
आँखाभरि छाईरहने त्यही गाउँ त्यही रमाइलो
औसीको त्यो कालो रातमा भैलो खेल्दै गाउँतिर
आहा! कत्ति रमाइलो थ्यौ म जन्मेको ठाउँतिर ।।

कत्ति मीठो लाग्ने हजुर घरबेटीका सेल खादा
टन्नै पैसा आउने गर्थ्यो मुखियाका घर जाँदा
झिलिमिली बत्तीहरू उज्यालो नै गाउँतिर
आहा! कत्ति रमाइलो थ्यौ म जन्मेको ठाउँतिर

रातोमाटो चिप्लो बाटो घर थिए पर पर
घर टाढा भएपनि मान्छेका मन वर वर
हुँदा रहेछन सहरतिर घरहरू वरवर
घर वर भए पनि मान्छेका मन पर पर ।।

यता पाइदो रहेछ माया झुटो मात्र देखावटी
माया मिल्दो रहेछ बरू गाउँबाटै चाहेजति
अर्गानिक मान्छेहरू मीठो माया गाउँतिर
आहा! कत्ति रमाइलो थ्यौ म जन्मेको ठाउँतिर ।।

विष्णु पगेनी सिग्देल, एटलान्टा, अमेरिका ।

प्रतिक्रिया