बाबुले छोरालाई देशको बदलिँदो परिस्थिति बारे लेखेको पत्र

कृष्णराज खनाल नर्थ क्यारोलिना,अमेरिका। २०७८ कार्तिक ३ गते २१:५४ मा प्रकाशित

प्रिय छोरा अभिषेक

शुभाशीष।

सर्वप्रथम विजयादशमीको उपलक्ष्यमा तिमीलाई धेरै धेरै आशीर्वाद।पत्तै नपाई उच्च शिक्षाका लागि तिमीले देश छाडेर हिँडेको नि यतिका वर्ष बितिसकेछ।दसैँ पर्वको बेलामा मैले तिमीलाई संझेको होइन,तिमीलाई हरदम संझिरहेको हुन्छु।किनकि तिमी मेरै अंश हौ।मैले तिमीलाई संझनुको कारण भने बेग्लै छ र यो यहाँ बिस्तारमा लेख्ने प्रयास गर्नेछु।नसंझनु,यो जवाहरलाल नेहरुले आफ्नी छोरीलाई लेखेको व्यवहारिक जीवनको पत्र हो।यो त केवल तिमी जन्मेको भूगोल,माटो र यहाँ उम्रिएको राजनीतिक ऐजेरुको बारेमा मात्र हो।

छोरो,तिमीलाई भलिभाँति थाहा छ देशको बदलिँदो परिस्थिति र राजनीति।अहिले मलाई झल्झल्ती याद आइरहेको छ,तिमीले उच्च शिक्षाका लागि युरोप जाने बेलामा विमानस्थलको ढोकाबाट छिर्नुअघि बोलेको शव्द।त्यसले मलाई चिमोटिरहेको छ।त्यसबेला तिमीले हाम्रो मलिनो अनुहार देखेर भनेका थियौँ—बाबा,मैले युरोपमा पाएको ज्ञान,सीप र क्षमता बोकेर छिट्टै स्वदेश फर्कने छु र मातृभूमिको सेवा गर्नेछु।त्यसबेला मेरो पितृवात्सल्यले भरिएको छाती ढक्क फुलेको थियो।क्षयोन्मुख कायामा एकपटक ऊर्जा प्रवाहित भएको थियो र गर्वको आनन्दानुभूति भएको थियो।तिमीले चाहेको र गर्न खोजेको सेवा प्रति म नतमस्तक भएको थिएँ।

तर अहिले देशको भूगोल र चरित्र फरक भएको छ।तिमीले जुन हालतमा छाडेका थियौ,त्यो हालतबाट देशको अवस्था झन् झन् भयावह हुँदै गएको छ।यो बीचमा बागमतीबाट चोभार हुँदै धेरै ढल बगिसकेको छ।लोकतन्त्र भनिएको तन्त्रमाथि देशको कार्यकारिणी र संवैधानिक निकायबाटै लगातार तरबार,खुँडा र खुकुरी प्रहार भइरहेछ।नेपाल आमा यिनका प्रहारबाट क्षतविक्षत भइरहेकी छन्,धुरुधुरु रोइरहेकी छन्।कतै दूर क्षितिजबाट पनि मलमका पोकाहरु आएको देखिएको छैन ।मन्त्रिपरिषदका कुनै पनि अनुहार सेता छैनन्।सबै कालो इतिहास बोकेका,अनुहार र चरित्रमाथि काला दागहरु बोकेका मानिसहरु एकपछि अर्को गर्दै पालैपालो देशको भण्डारमा धावा बोलिरहेका छन्।चोर र लुटेराहरुको बिगबिगी छ।नालायक,वेइमान र भ्रष्टहरुको रजगज चलिरहेको छ।राजनीतिक वेइमानी र भ्रष्टीकरणले सीमा नाघिसकेको छ।राष्ट्रको मुहार फेर्नसक्ने,देशलाई गतिदिन सक्ने,विश्वको बदलिँदो परिस्थितिसँग जुध्न सक्ने कुनै जादुमयी र क्षमतावान नेताको कही कतै प्रतीति हुँदैन।कुनै महाथिर,लि क्वान,मण्डेला र मर्केल जस्ता देशलाई गति दिनसक्ने क्षमता भएका कोही पनि राजनीतिज्ञ हाम्रो पुस्ताले देख्न नपाउने भो भनेर हामी चिन्तित छौँ।तिम्रो पुस्तामा कोही त्यस्तो चमत्कारिक व्यक्तित्व आयो भने बेग्लै कुरा हो।हिजो खान आएका थिए, खाए।आज अर्काथरि आएका छन्,खान्छन् र फेरि अर्का आउँछन्।भाग शान्ति गरेर सबैले मिलि भगतमा पालै पालो देशको अस्मिता लुटिरहेका छन्।कसैलाई आफ्ना मूल्य मान्यताहरु के हुन् ? देशको मूल्य के हो ? गन्तव्य कता हो ? आफ्नो काम के हो ? नैतिकता के हो ? देशका मूलभूत समस्या र एजेण्डा के हुन् ? समाधानका उपाय के हुन् ? यस विषयमा कहिल्यै पनि वहस र छलफल भएको छैन।केही थाहा छैन।छाडातन्त्रले लोकतन्त्रलाई गिज्याइरहेको छ।सबै जनतामा निराशा मात्रै छ।पैसाबाट सत्ता र सत्ताबाट शक्ति आर्जनमा तँछाड मछाड गरेर लागिरहेका छन्।प्रधानमन्त्री र प्रधानन्यायाधीश मिलेर देशको संविधानमाथि सांघातिक हमला गरेका छन्।यिनीहरु नांगो रुपमा उत्रेर सत्ता भाग र लिप्सामा डुबेर असंवैधानिक कृत्यका नायक बनेर उभिएका छन्।यसले ठूला दुखले आज्र्याको लोकतन्त्रको भविष्य पनि अनिश्चितताको बादलभित्र मडारिएको संकेत देखिएको छ।

छोरो,म यी सबैका कर्तुतहरु बताउन असमर्थ छु।यिनीहरुका कर्तुतले महाभारत भन्दा पनि ठूलो काव्य बन्न सक्छ।त्यसैले मेरो अनुरोध छ,तिमी स्वदेश फिर्ने विचार त्याग।हुनत हिजो पनि मैले भनेको कुरा तिमीले सुनेका थिएनौ,तैपनि बाबु हुँ भनिरहन्छु।त्यसैले स्वदेश नफर्क।जहाँ सम्म देशलाई चाहिने ज्ञान र सीपको कुरा छ,त्यो तिमी अहिले बसेको स्थानबाट पनि हल गर्न सकिन्छ।तिमीले विदेशमा आर्जन गरेको ज्ञान,सीप र शिक्षाको उपादेयता यहाँ कसैले बुझ्ने छैनन्।तिम्रो उच्च शिक्षाको कदर कसैले गर्ने छैनन्।लठैत,आउरे बाउरे र झोले झण्डेहरुले कब्जामा राखेको यो देशमा जे यिनीहरुले बोल्यो र जे गर्यो त्यो नै अन्तिम सत्य हुनेछ।विचार र नेतृत्व क्षमता गुमाएका तिम्रो हजुरबाका पुस्ताले नेतृत्व गरेको देशको स्थिति के होला ? त्यो तिमीले अनुमान गर्न सक्दछौ।त्यसैले यो देश बन्दैन।बन्दै बन्दैन।यहाँ म डा.रामेश कोइरालाले दुइ दिन अघि मात्र गरेको टिप्पणी उद्दरण गर्न चाहन्छु।उनले लेखेका छन् अब इन्द्रेको बाउ चन्द्रे आए पनि दूध चिया बनाउन सक्दैन।यो……निराशा हो।मेरो मात्र होइन,तपाईको जुनीमा पनि यो देश बन्दैन।आजकल यो र यस्ता भनाइ सबै जसोले ओकलिरहेका छन्।केही गरौँ भन्ने इच्छा र चाहना भएका तिमी जस्ता सयौँ युवा केही नयाँ सोच र क्षमता बोकेर आयौ भने पनि त्यो चरित्रहीन र भ्रष्टाचारको दलदलमा फसेको कर्मचारीतन्त्रले तिम्रो दोहोलो काढ्ने छन्।तिमीलाई अगाडि बढ्नै दिँदैनन्।तिम्रो जोश र जाँगरलाई एकै निमेषमा ध्वस्त बनाउनेछन्।त्यो भित्र फैलिएको भ्रष्टाचारको जालोको तिमी अनुमानै गर्न सक्दैनौ।त्यसलाई चाहेर पनि तिमीले च्यात्न र उधिन्न सक्दैनौ।कुनै जंगबहादुरको जन्म भयो भने पनि उनले पनि त्यसलाई उधिन्न सक्दैनन्।तिम्रो क्षमता भन्दा पनि तिमी कसैका ज्वाइँ वा भान्जा भान्जी हौ भन्ने कुराले महत्व राख्छ।

छोरा,त्यसैले तिम्रो सोच बदल।समयले बाटो बदल्छ र बदल्नु पनि पर्छ।ढिला नगर।त्यसमै तिम्रो भविष्य उज्ज्वल देख्छु।आगे तिम्रो मर्जी।

बाबु

प्रतिक्रिया