कविता : भुस्याहा कुकुरहरू !

रामप्रसाद खनाल २०७८ कार्तिक ३ गते १:१९ मा प्रकाशित

कहिले एकाएक,
मिले जस्तो नाटक गर्छन्
एकाएक कहिले,
भिडे जस्तो नाटक गर्छन्
कहिले आ आफै झम्टेर,
टोकाटोक गर्छन्
कहिले किट्दै दाह्रा,
दुबैले ठोकाठोक गर्छन्
हाम्रो गाउँका,
दुई महा भुस्याहा कुकुरहरू !

छाउराहरू पनि के कम,
दुवै कुकुरहरुका,
पछि लाग्दै हिड्छन,
हाउ हाउ गर्दै भुक्छन्
उनका भुस्याहा माउँहरु,
मिले जस्तो गर्दा,
पुच्छर लुकाउँदै
कता जान्छन् जान्छन्,
देखिन्नन् लुक्छन् !
माउँहरु लड्दा,
भुस्याहा छाउराहरु पनि भुक्छन !
कुकुर तिहार,
एकदिन आउँथ्यो पहिले,
अहिले बर्सै भरी !
राम्रा भए पो पाल्नु,
भुस्याहा कुकुरहरू पाल्नु के गरी
सोझा परे हाम्रा गाउँलेहरू,
हान्दैनन् दाउराले पनि !
त्यही भएर टेर्दैनन्,
भुस्याहा माउँ र छाउराले पनि !

– रामप्रसाद खनाल

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया