संसद जनताको आवाज बोल्ने थलो हो–मुख्यमन्त्री भीमप्रसाद आचार्य

इनेप्लिज २०७८ असोज २० गते २२:४२ मा प्रकाशित

विराटनगर, २० असोज(रासस):प्रदेश नं १ सरकारको पहिलो संरचना प्रदेश भवनको निर्माण कार्य सम्पत्र भई आज उद्घाटन भएको छ।

विसं २०७७ असोज १ गते शिलान्यास भएको सो भवन मूल्य अभिवृद्धि कर बाहेक रु.दुई करोड ५१ लाख ८१ हजारमा स्वामी नारायण निर्माण सेवा प्रालि धरानले बनाएको हो।सो भवनमा फर्निचरमा रु.१६ लाख ६३ हजार,साउण्ड सिस्टममा रु. १६ लाख ४३ हजार र आन्तरिक सजावटमा रु.१७ लाख ७७ हजार थप खर्च भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो।

सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न ठेक्का पाएको निर्माण कम्पनिलेद्वारा निर्मित यो भवनमा यही असोज २२ गते देखि प्रदेश सभा नवौँ अधिवेशन सञ्चालन हुन गइरहेको छ।सभाहलमा करिब ३०० मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न वातानुकुलित छ।

प्रदेश नं १ को मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभाहलको उद्घाटन गर्दै संसद जनताको आवाज बोल्ने थलो भएको बताउनुभएको छ।

उहाँले शक्तिको स्रोत संसद भएकाले जनताका प्रतिनिधि सांसदहरुले जनताको आवाज र मागलाई छलफल गर्ने केन्द्र संसद भवनले जनताको समस्या समाधान गर्न मद्दत गर्ने विश्वास व्यक्त्त गर्नुभयो।

मुख्यमन्त्री आचार्यले संविधानको प्रतिकूल हुने कुनै पनि काम नगर्ने भन्दै देश बनाउन र जनताको काम गर्न सहमतिको सरकार बत्रुपर्ने धारणा राख्नुभयो । उहाँले नेकपा एमाले पार्टीको आगाडि संसदमा सबै दल होचै भएकाले लोकतन्त्रको सुदृढीकरण राष्ट्र सार्वभौमसत्ता रक्षा गर्न सबै एकजुट भएर लाग्नुपर्ने सुझाउनुभयो । सबै दलहरु अल्पमतमा नै रहेको बेलामा कसलाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिप्रश्न गर्दै मुख्यमन्त्री आचार्यले लडाई झगडा गर्नुका साटो मिलेर गइयो भने देश र समाजको विकास गर्न सकिने कुरामा जोड दिनुभयो।

सभामुख प्रदीपकुमार भण्डारीले विचार, कानून र बहस गर्ने संसद भवनको निर्माणले यस प्रदेशमा सदन चलाउन सहज भएको बताउनुभयो।

उपसभामुख सरस्वती पोखरलले संसद भवनको अभावमा सभा संचालन गर्न विगतमा भएका कठिनाई दूर भएको विचार राख्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई,नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादव र प्रदेश सभा सदस्य विष्णु तुम्बाहाम्फेले नयाँ भवनले सांसदहरुलाई जनताको काम गर्न उत्साह र जाँगर प्रदान गर्ने कुरामा जोड दिनुभयो।

सोही अवसरमा जिल्ला समन्वय इकाई मोरङका संयोजक नरेशकुमार पोखरेल र प्रदेश सभा सचिव गोपालप्रासद पराजुलीले पनि भवन उपादेयता बारेमा चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया