अस्तित्वको अनुभूति !

- दिपेश पराजुली २०७८ असोज २० गते १:४३ मा प्रकाशित

मनको स्थिर अवस्था
न कुनै भ्रम,न कुनै द्विविधा
हृदयको असिम अहोभाव
न कुनै प्रश्न,न कुनै जवाफ
चैतन्यको अविरल धारा
इन्द्रिय आज वशमा सारा
अन्तस्करणको यो अद्वितीय यात्रा
शुन्यता भित्र,बाहिर जात्रा
म भित्रका बिचारहरुको दौड
जुन म अहिले देख्न सक्छु
म भित्रका कल्पनाहरुको खेल
जुन म अहिले बुझ्न सक्छु
हावाका झोका झैँ ति आउछन
पानीका फोका झैँ ति फुट्छन
म हूँ तिनका स्रस्टा
म नै हूँ तिनका द्रस्टा
म एक,
म अनेक,
म बिजेता,म सर्बहारा,
मेरो गगनको मै एक्लो तारा
म हूँ राम,अनि मै हूँ रावण
हिउँद मासको म एक श्रावण !

हिजो,
आफ्नै खोजीमा निस्केको म एक मूर्ख
अस्तित्व आफै भित्र, तर खोजि हिडें तिर्थ
किताबी ज्ञानको त्यो मित्थ्या सागर
अहंकार र इर्श्याको त्यो घनचक्कर
मनको मृगतृष्णामा जल्ने त्यो राप
कोयला झैँ पोल्ने त्यो उद्विग्न ताप
जाँतो झैँ घुमिरहने उही विचारका शृंखला
कहिले रहने उग्र, त कहिले उत्श्रिङ्खल
सुखको खोजीमा मागेछु दुःखको अन्त्य
हरेक फूलसंग रहन्छ तर काँडा जिवन्त
समर्पण माग्दछ अस्तित्व, माग्दैन कुनै त्याग
साक्षीभावले आज देख्न सक्छु आफ्नै राग
मेरा विचार र अहंकारका अब म साक्षी किनारा
मनको परिदृश्यमा अब ती दूरका सीतारा !

आज,
अस्तित्वको अनुभूति म भित्र ब्यापक
बर्षौ किन देखिएन मनको यो दीपक ?
काम,क्रोध,लोभ र मोह म भित्र अझै अपार
फरक येत्ति,देख्दछु आज तिनको आकार
यो विशिष्ट आनन्द, जुन क्षणिक उत्तेजना हैन
यो निष्कपट दुःख जसमा उदाशी कत्ति छैन
म यहाँ छु, र छैन पनि !
म कसैको हूँ र हैन पनि !
छालाको बस्त्र ओढेको म एक अनन्त यात्री
निराकांक्षको अस्त्र बोकेको म सिङ्गै नक्षत्री
हर दिन जे आउछ,गर्छु सहर्ष स्वीकार
न कुनै आशक्ति,न कुनै तिरस्कार !
आज न म खुशी,न म दुःखी
निस्पट अन्धकारमा पनि म एक सूर्यमुखी !
निस्पट अन्धकारमा पनि म एक सूर्यमुखी !!

-दिपेश पराजुली

प्रतिक्रिया