सनम हत्या र ३८ क्विण्टल सुन काण्डमा संलग्न रहेका गोरे सहित छ जनालाई जन्मकैदको फैसला

इनेप्लिज २०७८ असोज १९ गते ११:१६ मा प्रकाशित

विराटनगर,१९ असोज।जिल्ला अदालत मोरङले सनम शाक्य हत्या काण्ड र ३८ क्विण्टल सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चूडामणि उप्रेती भन्ने गोरे सहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला आज सुनाईको छ।

जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाउनु भएको छ भने अन्य दुई जना मध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले जानकारी दिनु भयो।

गोरे सहित टेकराज मल्ल ठकुरी,लाक्पा शेर्पा,मोहन काफ्ले,कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो।

अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन प्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताउनु भयो।मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकोले मुद्दा मुल्तवीमा राखिएको उहाँले जानकारी दिनु भयो।

जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो।

 

प्रतिक्रिया