एउटा सेतो गुलाब

बिकास थापा २०७८ भदौ ३० गते २२:०६ मा प्रकाशित

वियोगको एउटा सेतो गुलाब लिएर
पर्खिबसेको छु बाग्मती घाटमा
तिमीले पठाएको कुसुमे रूमालरुपी
त्यही पीताम्बर ओढेर
मौनतामै बॅाचिरहेछु
मौनतामै हॅासिरहेछु
ह्रदयको अन्तस्करणमा सॅाचिरहेछु
पहिले त ठिकै थियो
हाम्रो त्यो मायाप्रीति
जब तिमीले चढ्यौ चिलगाडी
त्यसपछि नै त हो
म पछारिएको यो बगरमा
म घृणित भएको हो यो शहरमा

सम्झिॅदै तिम्रो महावाणी
हाम्रो प्रेमको सुन्दर मन्दिर बनाएँ मैले
त्यही मन्दिरमा आफ्नै जीवन चढाएँ
तर आज
तिमी किन हुरी बनेर आयौ ?
र चड्कियौ चड्कने बनेर
हाम्रै मन्दिरको गजुरमाथि
जलाउने गरी हाम्रै प्रेमलाई
डढाउने गरी हाम्रै मन्दिरलाई
अर्थ त छैन तिमीलाई त्यसको
तैपनि !
हाम्रै प्रेम महोत्सवको दिनमा
लगाउॅदै थिए प्रेमको महायज्ञ
तर खै ! तिमी ?

तिम्रो र मेरो माया मिसाइमिसाई
कसेकै हो मैले ॲाचलको गॅाठो
मेरो गलबन्दी र तिम्रो पोते मिलाई
कसेकै हो लगनगॅाठो
बरू !
हिजो म कुरी बसेको घाटमा
आइन् एउटी बिधवा
र, चढाइन् मलाई पीताम्बरको रूमाल
सम्झे अनि राखे
अन्तिम दिनमा काम आउला भनी
आज बिहानै आइन् एउटी मायावी
सोधे !
वियोगी हॅु भन्थिन्
रोईरोई दिईन् मलाई एउटा
प्रेम प्रस्तावको रातो गुलाब
मैले भनिदिएँ उनलाई
म पनि वियोगी हॅु तिमीजस्तै
नचढाऊ मलाई त्यो रातो गुलाब
म अर्कैको जुठो पो हॅु
अर्को भेटे मजस्तै पीडित
बर्बराउॅदै थियो प्रेमको कहानी
बजाउॅदै थियो वियोगको बॅासुरी
परिचय गराइदिएँ उसलाई पनि
म झन् महावियोगी

अव त कति गनौ म
ती आकाशका असंङ्ख्य ताराहरू
त्यही प्रेमको घाटमा बसेर
तिमी त अर्कैको
जून पो बन्यौ भन्ने सुन्छु
बरू !
खसाइदेऊ एउटा उल्का पिण्ड
जलाउन सकेस् खरानी पारेर
त्यो मेरो प्रेमको सुन्दर मन्दिर
समाली राखिरहेछु चढाउन त्यसैलाई
एउटा सेतो गुलाब

-बिकास थापा
पेन्सलभेनिया ,अमेरिका

प्रतिक्रिया