सञ्जय मित्र,रौतहट-रौतहटको मौलापुर नगरपालिकाको निर्वाचित पहिलो कार्यपालिकाले गत चार वर्षमा विभिन्न प्रयोजनका लागि करिब १३ बिघा जमिन खरिद गरेको छ।प्रदेशमा जननिर्वाचित एक मात्र महिला मेयर रहेको मौलापुर नगरपालिकामा शैक्षिक संस्था,सरकारी कार्यालय सार्वजनिक पूर्वाधार एवम् एकीकृत बस्ती निर्माणका लागि नगरपालिकाले करोडौँ लगानी गरेर महत्वपूर्ण कार्यको लागि जमिन खरिद गरेको नगरपालिकाले जनाएको छ।नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गत चार वर्षमा नगरपालिकाले खरिद गरेको जमिनको बारेमा मूल्यसहित जानकारी गराएका छन्।
नगरपालिकाले मर्यादपुर दलित बस्तीको लागि ६६ लाखमा ११ कठा, मर्यादपुर विद्यालयको लागि ९५ लाखमा १ बिघा ३ कठा,मौलापुर दलित बस्तीकोे लागि ८८ लाखमा १२ कठा,प्राविधिक शिक्षालय तथा सभाहल भवनको लागि २ करोडमा २ बिघा,मौलापुर पिकनिक पार्कको लागि १ करोडमा १ बिघा ७ कठा, इलाका प्रहरी कार्यालय मौलापुरको लागि ६० लाखमा ८ कठा,महादेव मन्दिर परिसरको लागि १ करोडमा १४ कठा,पतौरा विद्यालयको लागि १ करोडमा १ बिघा १० धुर,पतौरा कार्यालय भवनको लागि १२ लाखमा ३ कठा,अदभुतनाथ विद्यालय मौलापुरको लागि २५ लाखमा ३ कठा, पिपरिया स्वास्थ्य चौकीको लागि ४० लाखमा ५ कठा,नन्कार छठघाटको लागि १० लाखमा ३ कठा,पथरा स्वास्थ्य चौकीको लागि १० लाखमा ६ कठा, मौलापुर नगरपालिका कार्यालय भवनको लागि २० लाखमा ५ कठा तथा मौलापुर बस स्ट्यान्डको लागि सहरी विकास मन्त्रालयमार्फत ४ करोड ३० लाखमा ३ बिघा १८ कटा जमिन खरिद गरेको नगरपालिकाले जनाएको हो।गत चार वर्षमा मौलापुर नगरपालिकाको लगानी तथा पहलमा १३ करोड ५६ लाख रुपैयाको १२ बिघा १९ कठा १० धुर जमिन सार्वजनिक प्रयोजनको लागि खरिद गरिएको निमित्त प्रमुख साहले बताएका छन् ।
पहिलेदेखि सार्वजनिक जमिनको अभाव रहेको तथा भौतिक पूर्वाधार केही पनि नरहेको अवस्थामा मौलापुरले समृद्धिको एउटा पाटोको रुपमा जमिन किन्ने पक्षलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको मेयर रिनाकुमारी साहको भनाइ छ।जमिनको अभावमा शिक्षा,स्वास्थ्य,सुरक्षा तथा यातायात जस्ता आधारभूत आवश्यकताहरु कमजोर पर्नु हुँदैन भन्ने मान्यता लिएर दीर्घकालीन महत्वको काम गरिएको मेयर साहको भनाइ छ।
आवश्यकता र प्राथमिकता आधारमा नगरपालिकाले अन्य धार्मिक,सामाजिक तथा अन्य कार्यलाई महत्व दिइरहेको बताउँदै मेयर साहले मौलापुर नगरपालिकाले चार वर्षकै अवधिमा धेरै क्षेत्रमा प्रदेशमा उदाहरणीय काम गर्न सफल भएको दाबी गरेकी छन्।
प्रतिक्रिया