गैर आवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ : कुल आचार्य (भिडियो सहित)

इनेप्लिज २०७८ भदौ २९ गते १४:१३ मा प्रकाशित

काठमाडौं (जीएनएन) — गैर आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले संघलाई मर्यादित र प्रतिष्ठित बनाउन सबैले खबरदारी गर्नुपर्ने बताएका छ ।

‘खुला डबली’ को पहिलो दिन सोमबार आयोजित छलफलमा बोल्दै संघको दशौँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी पनि रहेका आचार्यले संघ लाई पद्धति र पारदर्शिता का आधारमा अगाडि बढाउनु पर्ने बताए।

गैर आवासीय नेपाली संघ (एनआरएन) को १० औं महाधिवेशन नजिकिँदै गर्दा परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय परिषद्को बाँकी निर्वाचन प्रक्रिया रोक्न दिएको निर्देशन कार्यान्वयन गरिनु पर्ने आचार्यले जनाए । ६५ प्रतिशत डेलिगेट्सहरु मनपरि छनोट गरिएको लगायतका विषय समेटेरै परराष्ट्र मन्त्रालयमा एनआरएनए अभियन्ताहरुले निवेदन दिएको र वैधानिक प्रक्रिया अनुसार अघि बढ्नुको विकल्प नरहेको उनले बताए।

संघकी पूर्व सचिव जानकी गुरुङ, एनआरएन अमेरिकाका सल्लाहकार बेद खरेल तथा शनि ओली (कतार) ले संयुक्त उजुरी गरे पछि परराष्ट्र मन्त्रालयले विधान विपरित भएका कामहरु नसच्चिएसम्म आगामी अक्टोबर महिनामा तय गरिएको महाधिवेशन सम्बन्धी कुनै काम कारवाही अघि नबढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई निर्देशन गरेको हो ।

एनआरएनएको आउँदै गरेको चुनावमा भाग लिने प्रतिनिधिहरु विधान मिचेर सिफारिस गरेकाले रोक्न माग गर्दै मन्त्रालयमा उजुरी परेको थियो । उजुरी परेपछि मन्त्रालयले एनआरएनको विधान विपरित भएका कामको विषयमा अध्ययन गर्न समितिसमेत गठन गरेको छ ।

जापानमा भएको चुनावमा धाँधली भएको ठहरसहितको प्रतिवेदन छानबिन समितिले दिइसकेको छ, तर एनआरएन केन्द्रले त्यहाँ पुनः निर्वाचन गराउन आनाकानी गरि रहेको छ।

‘विधान अनुसार छानबिन गर्नु पर्छ’

‘परराष्ट्रले अहिले भएको अनियमितता रोकेर हाम्रो विधान अनुसार छानबिन गरेर अघि बढ्नुपर्छ भनेको छ,’ अध्यक्षका प्रत्यासी आचार्यले भने।

जापान, अमेरिका र अस्ट्रेलियाका डेलिगेट्सहरुको विषयमा विवादित बनाउन खोजिएको उनले बताए । ‘धेरै डेलिगेट्स भएका देशहरुमा विवाद झिक्ने काम भएको छ । डेलिगेट्स सूची बनाउंदै गर्दा कति देशमा घटाउने कति देशमा बढाउने काम भएको छ,’ आचार्यले भने, ‘कमिटीमै रहेका साथीहरुले आफै डेलिगेट्स थप्ने हो भने किन चुनाव गर्नु प-यो ?’

देश अनुसारको छुट्टाछुट्टै प्रक्रिया लागू हुन नसक्ने विषयमा कार्यसमितिलाई आचार्यले पनि जानकारी गराएका थिए । ‘संस्थामा मनपरि भएपछि सही बाटोमा लैजान साथीहरुले परराष्ट्र मन्त्रालयलाई गुहार्न भएको हो। ‘

‘चुनाव जित्नु मात्रै मेरो लागि ठूलो कुरा होइन । चुनाव हार्दा पनि मैले काम गरिरहेको छु । साथीहरुको भावना, लगानी र समय जोडिएको यो संस्थालाई विधान अनुसार संसारभर एकरुपता गरौं’ आचार्यले भने । चुनावको परिणामलाई ध्यानमा नराखी संस्थालाई सही बाटोमा लैजान निरन्तरता दिइरहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

उनले संसारभरि रहनु भएका साथीहरुसंग प्रत्यक्ष जोडिएर सुझाव, सल्लाह लिन सोमबारदेखि नेपालको समय अपरान्ह ५ बजे देखि ६ बजेसम्म जूम मार्फत ‘खुला डबली’ आयोजना गरेको पनि बताए।

हेर्नोस् आचार्यको भनाइको अंश यो भिडियोमा:

https://www.facebook.com/GlobalNepalese/videos/3317523775146190

प्रतिक्रिया