हाम्रो बाल्यकालको “बाल दिवस भाद्र ४ गते” केही संम्झना

शशी केसी २०७८ भदौ ४ गते २३:२६ मा प्रकाशित

आज बि.सं २०७८ सालको भाद्र ४ गते, हो यो दिन सम्झॅंदा त आफ्नो बाल्यकालको स्कुलका दिन याद पो आयो। हामी स्कुल पढ्दा भाद्र ४ लाई बाल दिवसको रूपमा धुमधामसॅंग मनाईन्थ्यो। यो दिन बाल दिवस मात्र हैन की श्री ५ मुमाबडामहारानी रत्न राज्य लक्ष्मी देवी शाहको जन्मोत्सव पनि भनेर मनाईन्थ्यो।

नेपालमा बाल दिवस विसं २०२१ साल भाद्र ४ गतेदेखि मनाउन शुरू भएको हो। इतिहासलाई फर्केर हेर्दा नेपालमा तत्कालिन बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो ।तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिन पारी विसं २०२१ भाद्र ४ मा “नेपाल बाल संगठन “ स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ । ४ भाद्रका दिनलाई राष्ट्रिय बालदिवसको रूपमा देशले ४२ वटा बालदिवस मनायो ।

तर वि.सं २०६३ मा नेपालमा लोकतन्त्रको स्थापना पश्चात संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गर्यो । जस अनुसार अहिले भाद्र २९ गतेलाई देश व्यापी रूपमा बाल दिवसको रूपमा मनाउने गरिएको छ।

अझ हामी होस्टेल बस्नेहरूको लागि त भाद्र ४ भनेको स्कुलको गेटबाट बाहिर निस्कन पाईने दिन, कम्ता खुशीको दिन हुन्न थियो र। आज भन्दा ३० -३५ बर्ष अगाडी काठमाडौंमा होस्टेल भएको स्कुल त औंलामा गन्न सकिने केही मात्र नै थियो।अझ केटीहरूको होस्टेल भएको स्कुल महेन्द्र भवन, स्टेन्टमेरीज र केही अरू एक दुई मात्र होलान्। त्यो बेला होस्टेल निक्कै कडा तरीकाले चलाउॅंथे। गेटबाट बाहिर निक्लन कुनै होस्टेल बस्नेहरूलाई पनि अनुमति हुन्न थियो ।

बाल दिवस आउन लाग्यो भनेर हामी होस्टेल बस्नेको केही दिन अगाडी देखि स्कुल ड्रेस मिलाउन तयारी हुन्थ्यो। त्यो बेला हाम्रो महेन्द्र भवनको स्कुल ड्रेस भनेको खद्दरको सेतो रंगको चोली, स्कट र सेतो कपडाको जुत्ता र सेतो मोजा त थियो।

लुगालाई निर वा टिनोपाल हालेर टल्लक सफा बनाउॅंथ्यौं। अझ होस्टेलमा कता पाउनु आईरन गर्न स्कटमा, तर केही छैन, आईडिया अनेक थियो चट्ट मिलाउने। होस्टेलको किचनमा पाक्ने भातको फाल्ने माड मागेर ल्यायो र त्यसमा स्कट डुवायो।अनि तन्ना भुईंमा ओछ्याएर क्रिज मिलाएर स्कट घाममा सुकाउने। सुकेको स्कटलाई आफु सुत्ने बेडको डसना मुनी राख्ने।ओहो माडले कक्रक्क परेको स्कट नधोए सम्म टक्क बसिरहन्थ्यो। सेतो जुत्तालाई पनि धोएर, सेतो पालिस लगाएर घाममा सुकाएर तयार गर्थ्यौं।

त्योबेला बाल दिवसमा काठमाडौं भरिको स्कुलका केटाकेटीहरूलाई त्रिपुरेश्वरको दशरथ रंगशालामा भेला गराएर मनाउनेगरिन्थ्यो। बिभिन्न स्कुलले के के कार्यक्रम गर्ने पहिले देखि पूर्व तयारी गरेका हुन्थे। त्यस दिनको अर्को आकर्षण भनेको“मार्च पास” प्रतियोगिता। प्रथम, दोस्रो र तेस्रो हुने स्कुलले प्रमुख अतिथि राजा रानीको हातबाट सिल्ड र प्रमाणपत्र पाउॅंथे। ओहो, हाम्रो स्कुलले महिनौ अगाडीदेखि कक्षा ८-१० सम्मका छात्राहरूलाई छानेर मार्च पास सिकाउॅंथ्यो। प्रहरी होवा आर्मीको अलिक कडा अफिसर आएर नमिल्दा खुट्टामा लठ्ठीले हानेर पो सिकाउने गर्थे।

स्कुलबाट ४-१० सम्मका हामीलाई बसबाट रंगशाला पुर्याइन्थ्यो । यति रमाईलो लाग्ने चाडवाड नै आए जस्तो। त्यो बेला होस्टेल बस्ने कोही बिरामी भएर क्लिनिकको सिस्टरले जाने अनुमती नदिंदा त रून्थे पनि। रंगशाला पुगेपछि लाईन बसेर भित्र प्याराफिटमा लगिन्थ्यो। आफ्नो छेउछाउमा काठमाडौंको कुन अर्को स्कुल पर्ला त्यो हेर्न झन् रमाईलो हुन्थ्यो। अरूस्कुल पढ्ने साथीहरू परबाट देखिएमा हात हल्लाउने गर्थ्यौ ।

रंगशालाको छेउछाउमा आफ्नो स्कुल लगेर राख्दा त दिक्क पनि हुने, अगाडी रहेको मन्चमा रहेका राजा रानी देख्न नपाईनेभयो भनेर। हुन त टाढाबाट खासमा तेसैपनि जता राखेपनि के नै देखिन्थ्यो र !

राजारानी तथा अरू राज परिवारका सदस्य र अन्य गन्यमान्य स्वदेशी तथा विदेशी अतिथीहरूको सवारी भएपछि कार्यक्रमशुरू हुन्थ्यो। त्योबेलाको राष्ट्रिय गान “ श्रीमान् गम्भीर “ सबै भन्दा पहिले बज्थ्यो । राष्ट्रिय गान बज्दा सबै उठेर गाउॅंथ्यौं।अनि तेसपछि प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर कार्यक्रम शुभारम्भ हुन्थ्यो। युवराज दिपेन्द्र बुढानिलकण्ठ स्कुलबाटर राजकुमारी श्रुती, राजकुमार निराजनहरू आएका छन् की छैनन् कौतुहलता हुन्थ्यो।

तल चउरमा बिभिन्न स्कुलले आ-आफ्नो कार्यक्रम गर्थे। स्काउटहरूले खेलकुद, जिमनास्टिक देखाउॅंथे। बिभिन्न राष्ट्रिय गीतहरू बज्थ्यो। नाचगान आदी पनि देखाउॅंथे। प्रहरीसंघले कुकुरलाई आगोको रिगंमा जम्प गराउने, चोर समात्ने आदी अनेक खेल देखाउॅंथ्यो।बिभिन्न कार्यक्रमको प्रदर्शन पछि मार्च पास हुन्थ्यो। आफ्नो स्कुलको मार्च पासको ग्रुप आफु अगाडी नजिक आउॅंदा उठेर हामी कराउॅंथ्यौं।

सबै कार्यक्रम सकिएपछि पुरस्कार वितरण हुनथ्यो। बिभिन्न व्यक्तिको नाम बोलाउॅंदै राजारानीको हातबाट पुरस्कार थापेको परबाट हेरेर माईकमा भनेको आधारमा थप्पडी बजाउॅंथ्यौं। मार्च पासमा कसले जित्यो घोषणा हुन्थ्यो। ओहो, आफ्नो स्कुलले जित्दा त “हिप हिप हुरे , यो जित कसको, हाम्रो” भन्न कम्ता मज्जा हुन्न थियो। हाम्रो स्कुलले प्राय: जित्थ्यो।

सरकारहरूको फिर्ती सवारी सकिएपछि कार्यक्रम सकिन्थ्यो। तेसपछि हामी स्कुल फर्कन लाईन लागेर बसतिर जान्थ्यौं। बस चढ्नु अगाडी खाजाको पोका जसमा निमकिन, खजुरी, समोसा, केरा वा स्याउ आदी राखेर दिन्थे। यसरी रमाईलोसॅंग हाम्रो बाल दिवस सकिन्थ्यो। अनि अर्को साल फेरी कहिले बाल दिवस आउला भनेर प्रतिज्ञा गर्थ्यौं।

शशी के.सी

 

प्रतिक्रिया