सम्झना सिमानामा आइपुगी

राम अधिकारी २०७८ साउन ३२ गते २३:२६ मा प्रकाशित

 

उसका लागि कोरोनाको महामारी नेपाल फर्कने एउटा अवसर बनेको छ।अब उसका लागि नेपाल फर्कने बाध्यता तेर्सिएको छ।ऊ अर्थात् सम्झना,आफै हिँड्ने बेलासम्म अलमलमा छे।

गर्मी निकै चढिसकेको ।उसको अहिले न व्यापार छ न त आम्दानी।सम्झनाका लागि समय दिक्क लाग्दो र आततायी भएको छ,जुन समय गोरखपुर हुँदै दिल्लीको नरकमा हेलिँदा ताका थियो।महिनौँ भयो लगभग सबै कुरा ठप्प भएका छन्।उसका ग्राहक पनि अहिले ठप्प छन्।

कोरोनाको महामारी एड्सभन्दा खतरनाक बनेर तेर्सिएको छ। बेलाबेलामा फैलने एड्सको हल्लाले उसको दैनिकी त रोकिएको थिएन तर कोरोनाको सन्त्रास सुरु भएदेखि धेरैकुरा तहस-नहस बनाइसक्यो।

आज ठ्याक्कै तीन महिना र सत्र दिन भयो सम्झना डेराबाट बाहिर निस्कन पाएकी छैन। कोठामा सीमित भएदेखि मुमताजले कहिलेकाहीँ फोन गर्थी। जहिले भन्थी व्यापार चौपट छ घरभाडा तिर्ने कसरी हो? उसको ध्यान खालि त्यो घर बचाउनुमा थियो।

ठूलो सेटिङ मिलाएर उनीहरुले व्यापार चलाउनुपर्छ।सम्झना पनि उसको व्यापारको नियमित साझेदार थिई। मुमताजले खर्च नभएर पटक-पटक पैसा पनि दिएकी थिइन्।अहिले उसले त्यो पैसा मागेकी त छैन तर फोनमा पैसा नै नभएको गुनासो धेरै गरिरहन्छ।

सम्झनाले अघिल्लो हप्तासम्म अरु साहुनीहरुसँग पनि कुरा गरिरहेकी थिई। तर सबैतिर व्यापार शून्य छ,कति कोठीहरु त बन्द भएर मानिसहरु कता-कता लागे भन्ने पनि सुनियो। तर सम्झना सबै कुरा सामान्य होला र जिन्दगी सामान्य हुँदै जाला भन्ने आश गरिरहेकी छे।

अहिले दिल्लीको जीबी रोड सुनसान छ।चैत वैशाखको गर्मीमा निस्की साध्य छैन।ट्रेन स्टेशनमा कति हपहपी होला? उसलाई ट्रेन चढेर हिँड्न वाक्क नै लाग्छ। तर ट्रेन चढेर गाजियाबाद गएकी छे। ट्रेन बस चढेर त्यहाँबाट नजिकै पर्ने बाहुदरगंज गएकी छे।

हरियो लाइनको ट्रेन हुँदै उसले साथीकोमा पटक-पटक गएर समय बिताएकी छ।उसलाई गाउँ जान एकदम मनपर्छ।हुन पनि ऊ नेपालको गाउँमै हुर्केकी केटी हो। दिल्ली त उसको लागि नर्क नै हो। भनौँ न कर्मथलो नै हो।

फोहोर,गर्मी,पेसा र जति बसे पनि आफ्नो बन्न नसकेको सहर भएपछि सम्झना कहिलेकाहीँ अत्तालिन्थी तर बाध्यताले र अब आवश्यकताले ऊ दिल्लीमा रमाउन सिकिसकी। रातदिनको व्यापार, बजार, चोक, मान्छेहरु उसलाई सामान्य लाग्न लागिसके।

सानो कोठा पनि उसका लागि एउटा स्वर्ग जस्तो भएको छ।बन्धनमा बाँधिएको कोठीभन्दा ज्यादा स्वतन्त्रता छ।उसले आफै आफै प्रश्न गर्छे, किन म स्वर्ग ठान्दै गरेको कोठामा बसेर यस्तो कुकाम गरिरहेछु।

कोठामा नराम्रो झ्याल छ र पेन्टिङ पनि धेरै पुरानो भइसकेको छ।कोठाको मात्र एउटा कुरा राम्रो भाडा छ।जेसुकै भएपनि यो कोठाले उसलाई छुट्टै खालको स्वतन्त्रता दिएको छ।

बाल्टिनमा जम्मा गरेको पानीले फारु गरेर उसले शरीर पखाली।सावरबाट पानी आउन छोडेको कति भइसकेको थियो।अझ काम ठप्प भएपछि अझ दुई/चार जना कोठामा एडजस्ट हुन अनुरोध गर्दै थिए।

तर यो एक्लोपनमा पनि उसलाई न कसैसँग बस्नु जानु थियो न कसैलाई ल्याउनु थियो। बरु अब त उसलाई यहाँबाट आफै निस्कनु थियो। उसलाई यो जिन्दगीबाट छुटकारा पाउन थियो।

उसलाई गाउँघरका यादले खुब सताउँथ्यो।उसले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा बाबु-आमा र साथीभाइ छोडी। उसलाई लागिरह्यो बाबुआमा अझै बाँच्नु भएको होला। सुनौली हुँदै गोरखपुर लागेदेखि कहिल्यै कुरा भएन।

त्यसपछि चाहेर पनि चार वर्ष कुरा गर्न पाइन। चार वर्षपछि जब स्वतन्त्र भई,कुरा गर्ने आँट जुटाउन सकिनँ।त्यतिखेर र अहिलेसम्म पनि उसले बाबुआमासँग कुरा गर्ने केही आधार भेटिनँ,न कुरा गर्ने प्रयास पनि गरी।

त्यसरी बत्तिएर हिँड्ने बेलासम्म सम्झना धेरै कुरा बुझ्ने भैसकेकी थिइन।उसलाई बाहिरको ठूलो संसारबारे धेरै हेक्का नै थिएन।कक्षा सातमा पढ्दै थिई।पढाइ सँगसँगै उसले जिन्दगीका सपना बुन्न थालेकी थिई।तेह्र/चौध वर्षको बैँस छचल्किँदै पोखिँदै थियो।

अल्लारे केटाको प्रेममा परी।अझ भनौँ तोरी लाहुरेको जालमा परी।गरिबीले निम्त्याउने दुश्चरणको दलदलमा ऊ फसी।साना-साना सुविधाको मोहले सजिलै तानिई।सहरका मिठा कथा र तडकभडकको कल्पनामा ऊ एकाएक हराउन थाली। घरको अस्तव्यस्तताले विस्तारै विस्तारै उसलाई साना साना खुसीका मोहमा धकेल्यो।

त्योभन्दा अघि उसले ‘फुर्सी मेरो नाम, पारि मेरो घर’ भन्दै बाल्यकाल बिताई। बुबाआमा हुनेखाने थिएनन्। केटाकेटी हुँदा उसलाई त्यो कुरा मतलब नै भएन। जब सम्झना नौ दश वर्षमा टेकी, बल्ल घरको अभाव र आमाबुवाको दुःख महशुस गर्न थाली।

हुने र नहुनेको फरक छुट्याउन थाली। बाबुआमाको दुःख देख्न थाली। उसलाई पनि कतिपय दुःखका सिलसिला विस्तारै बिझाउन थाले। हातमुख जोर्न पाइ पाइ परेको बल्ल त्यो बेला गहिरोसँग बुझी।

सोनम खाइलाग्दो र हृष्टपुष्ट पनि थियो। भारतका विभिन्न सहर घुमिसकेको र अंग्रेजी पनि जाने जस्तो गर्ने ऊ केटाकेटीको आँखामा फिल्मको हिरो जस्तो नै लाग्थ्यो। सानैमा भारततिर हानिएको सोनम नेपाल आइरहन्थ्यो।

सम्झनालाई उसका सबै कुराले मोहित बनायो। कुरकुरे बैँसको हुहुटी वा सपनाको पहाडले उसलाई डुबायो। ऊ त्यस्तै तेह्र वर्षकी थिई। शरीर हलहल बढेको थियो। छाती पुक्क निस्किएका थिए।

यौवनको काउकुतीले उसलाई त्यसै-त्यसै रसिलो बनाएको थियो। त्यो बेला ऊ आफैँलाई ऐनामा हेरेर मुस्कुराई रहन्थी। छातीका भाग र शरीरका अङ्ग मुसारेर जिस्कन्थी आफैसँग। सम्झना तेह्र वर्ष टेकेदेखि अनौठो अनुभूतिमा हेलिएकी थिई।

स्कुलमा गाउँका अल्लारे केटाहरुले जिस्काउँथे। गोठालो जाँदा पनि उसलाई जिस्काउँथे। कतिलाई मुखभरिको जवाफ फर्काउथी त कतिसँग मस्किँदै घरतिर लाग्थी।

गाउँका अल्लारेहरुले सम्झनालाई राम्रोसँग जान्न सकेका थिएनन्। उसलाई उनीहरुसँग बोलौँबोलौँ लाग्दैन थियो। सँगैसँगै हुर्किएका र एउटै उमेरका भइरहँदा उसलाई त्यो वाह! भन्ने कोही पनि लागेको थिएन।

विस्तारै जिन्दगीको सपना बुन्न थालेकी सम्झना कल्पनातीत फिल्मी शैलीको संसारमा रमाउन थालेकी थिई तर, कल्पनामै उसले कल्पना गर्न थालेको झिलिमीली संसारमा पुर्याउने उसको मनमा कोही थिएन।

सोनमसँग भेट भएदेखि ऊ बेचैन भएकी थिई। क्लासमा केटाहरुले उसलाई जिस्काउन थालेका थिए। केटीहरुमाझ उसले अनायसै सोनामको प्रशंसा गरेकी थिई। त्यही प्रशंसा केटीहरुका लागि छेड हान्ने मौका भएको थियो।

यस्तै कल्पना र चाहनासँगै सम्झनाको मायावी अंकुरण सुरु भएको थियो। भर्खर भर्खर मानिसहरु फेसबुक चलाउन थालेका थिए तर राम्रो इन्टरनेटको सुविधा भने थिएन। सम्झनासँग पनि फोन थिएन, झन् घरमा इन्टरनेट हुने कुरै भएन।

सोनम इन्डिया फर्किसकेको थियो। उसले सम्झनालाई ठूला-ठूला सपना देखाइसकेको थियो। सम्झनाले उसको मायामा चुर्लुम्म डुबेको महशुस गरिसकेकी थिई। अलिअलि पैसा जम्मा गरेर छोटोमिठो फोन गर्थी सोनमलाई, त्यो पनि सार्वजनिक फोनसेवामा गएर।

फोन गर्दा कहिले लाग्यो कहिले लाग्दैन थ्यो। कुरा भएको बेला भन्ने गर्यो ‘दिदीकोमा गएको थिएँ, थाहा पाइनँ, गोरखपुर गएको थिएँ थाहा नै पाइनँ।’

सोनम धेरैपछि आउँदा इन्टरनेट चल्ने मोबाइल ल्याइदिएको थियो। फेसबुक चलाउन र मेसेज गर्न पनि सिकाएको थियो। सम्झना र सोनमका बारे गाउँका केटाहरुमाझ हल्ला भइसकेको थियो। उसले दिएको मोबाइलले त घरमा रँडाको नै मच्चायो।

आमाबुवाले उसलाई नराम्रोसँग झपारे। उनीहरुलाई छोरी गलत बाटोमा त लागिन भन्ने लागिरह्ययो। बुबा रनक्क भए। उसको आमासँग पनि मुखामुख भयो। माइत आएकी दिदीले पनि सम्झनालाई सम्झाइन्। उनले अलि बढी सोधखोज गरिन्।

सम्झनाको एकमात्र दिदी, त्यो पनि नौ वर्ष जेठी थिइन्। बुवाआमाले कलिलै उमेरमा बिहे गरिदिएका थिए। उतै पहिलेको घरतिरैका आफन्तहरूले चाँजो–पाँजो मिलाएर उनको बिहे गरिदिएका थिए।

भिनाजु गाउँमा खेतीपाती गर्थे। बिहे भएको दुई वर्ष भित्र सम्झनाको दिदीले दुईवटा बच्चा पाइसकिन्। घरकै काम र व्यस्तताले उनी त्यति कपिलवस्तुमा आउँदिन थिइन्। सम्झना घरमा एउटा छोरीजस्ती भएकी थिई।

सम्झनाले घरमा ल्याएको मोबाइलको कुरा सामसुम भएन। अनि मात्र सम्झनाले बाबुआमालाई सबै कुरा भनी। बिहे गर्ने हो उसैसँग भनेर घरमा निडर भएर खुला राखी। तर उसको बिहे गर्ने उमेर भइसकेको थिएन।

यो ठाँसठुसमै धेरै समयसम्म चलिरह्यो। घरफर्कने बेला दिदीले पनि मन पेटले सम्झाइन्, ‘यस्ताका पछि नलाग्, बरु मन लगाएर पढ। सकेको सहयोग गरौँला।’

सम्झनाले सबै कुरा एक कानले सुनी अर्को कानले उडाई। आधा एक वर्ष त यसै-उसै गयो घरमा झगडा पर्दा उसकी आमा खाली त्यही कुरा लगेर जोड्थिन। आमाले पनि पढाइ सकेर बिहे गर्ने र आफूले पनि सहयोग गर्ने भनेर सम्झाएकी थिइन्।

बुवा घरमा नभएको बेला सम्झनाले सोनमलाई उसकी आमासँग भेट गराएकी थिई। सोनमलाई पनि आमाले त्यसैगरी सम्झाएकी थिइन्।

अरु कुरा जे-जसो भए पनि आठ कक्षाको वार्षिक परीक्षा सकिनसाथ सम्झना सोनमसँग हिँडेकी थिई। आज ठ्याक्कै दश वर्ष दुई महिना भएछ। उसले यति धेरै वर्ष कसरी नर्कमा बिताई। व्यस्तता अझ भनौं अस्तव्यस्तताले उसको जिन्दगी तहसनहस पारिदिएको थियो।

धेरै वर्षपछि उसलाई नेपाल आफ्नो गाउँ साथीभाइ र परिवार सम्झने जाँगर चलेको थियो। चार वर्ष त ऊसँग सोच्ने र सम्झिने तागत नै रहेन। सम्झन त सम्झी तर शक्तिविहीन भएर सम्झी तर पीडामा सम्झी, वेदनामा सम्झी, पश्चातापमा सम्झी, ग्लानी गर्दै सम्झी।

उसले ऐनामा अनुहार हेरी। छाला चाउरी परेका र आँखाको वरिपरि कालो दाग स्पष्ट देखिन्थ्यो। हुन त उमेर पनि तेइस/चौबीस पुगिसक्यो। शरीर पनि जायज नाजायज कामले थिलो–थिलो भइसकेको थियो। घर छाडेको चार वर्षपछि त दिल्लीमा ऊ फुक्काफाल भएकी थिई। तर किन हो किन ऊ घर फर्किन। जाने मन नभएर पनि होइन।

त्यो बेला जान्छु, भेट्छु, अनि सँगै बस्छु, उसलाई पटक्कै लागेन। बुवाआमाको माया लाग्दालाग्दै ऊ फेरि दिल्लीकै नरकमा हेलिई। जसोतसो गोरखपुरको कोठीबाट निस्केको तीन/चार दिनमै ऊ अर्को दलालको चङ्गुलमा फस्न पुगी।

ऊ ब्युँझँदा उसले आफूलाई दिल्लीको बन्द कोठीमा पाई। त्यसपछि अर्को सवा दुई वर्ष उसको जिन्दगी नरकमय हुनपुग्यो। त्यसपछि यसै-यसै बित्न थाले उसका जीन्दगीहरु। दिनहुँ लाहोरी गेटका वरिपरि मानिसहरु खोज्दै, दिल्लीका गल्ली चाहार्दै रक्सी र चुरोटका धुवाँमा उड्दै उसका दैनिकी बित्न थाले।

आत्मीयता कसैसँग थिएन तर पैसाको सम्बन्ध, स्वार्थको सम्बन्ध धेरैसँग थियो। यतिका वर्ष उसले निभेको बत्ती बनेर आफैलाई भुलाई। उसको एउटा भुलले हजारौं भुलहरु गर्न बाटो बनाइरह्यो।

ऊ हिन्दी प्रष्टसँग बोल्ने जान्ने भएदेखि, निडर हुन सिकेदेखि र आफ्नै कोठा लिएर बस्न थालेदेखि स्वतन्त्र भएकी थिई। ऊ स्वतन्त्र भएकी थिई, आफ्नै इच्छा अनुसार लाहोरी चोक घुम्न र मन लागेका मानिसहरुसँग समय बिताउन।

कम्तीमा सबै इच्छा मारेर जसो गर भन्यो उसै गरिदिनुपर्ने दलदलबाट ऊ मुक्त भएकी थिई। उसले धेरै पछि दिल्लीको एउटै कोठीमा थुनिएका साथीहरुलाई सम्झी। त्यहाँबाट निस्कने बेला न ऊसँग मोबाइल थियो, न उनीहरुसँग मोबाइल नै थियो।

के तिनीहरू अझै त्यहीं बर्बरतामा होलान् वा निस्के होलान्? एउटा ग्राहकको जिद्धीपनाले ऊ त्यहाँबाट निस्कन सफल भएकी थिई। अरुलाई त पुलिस आउनुभन्दा पहिल्यै अर्को ठाउँमा सारिसकेछ तर ऊ ग्राहकले ढोका नखोल्दा ग्राहकसँगै पुलिसद्वारा पक्रिन पुगी।

त्यो ठाउँबाट उन्मुक्ति पाएदेखि कसैसँग भेट हुन पाएकी थिइन। भेट भए त उसले ती पीडाका साथीहरुलाई आफ्नै कोठामा ल्याएर राख्थी होला र कम्तीमा स्वतन्त्र हुन सिकाउँथी होला।

उनीहरुलाई सुनाउँथी होला- ‘मेरो त आफ्नो धन्दा छ।’ आफ्नै छुट्टै कोठा लिएपछि सम्झना उनीहरुलाई भन्न चाहन्थी- ‘ पीडा उही छ तर स्वतन्त्रता छ।’

बच्चु अर्थात् दिल्ली सहरमा भेटिएको स्वार्थको साथी। उसले सम्झनालाई सहयोग नगरेको भए फेरि पनि कुनै न कुनै नरकमा जाकिन्थी होला। उसले सम्झनालाई कोठा खोजिदिएको थियो। सबै सरसामानको जोहो गरिदिएको थियो र अहिले पनि गरिरहेको छ।

ऊ पनि चार-चार जनाको परिवार लिएर दिल्लीको एउटा कुनामा खाँदिएको छ। जति सहयोग गरे पनि उसको सहयोग स्वार्थको छ। ऊ जतिबेला पनि सम्झनालाई गिजोल्न चाहन्छ। अहिले पनि चाहन्छ र गिजोलिरहेको पनि छ।

ऊ स्पष्ट थियो कि प्रेममा होइन शारीरिक सम्बन्धमा मात्र ऊ सम्झनालाई सीमित गर्न चाहन्थ्यो। सम्झनाले पनि यो कुरालाई आँखा चिम्म गरेर बिर्सिदिएकी थिई। सहयोग पाइरहेकी थिई र छे। उसलाई यसबाट गुमाउन केही पनि छैन।

सोनाम एकाएक सम्झनाको स्मृतिमा आयो। जसलाई उसले जिन्दगीको सपना भनेर कुनैबेला अर्थ्याएकी थिई। शरीरमा पहिलो लोग्ने मान्छेको स्पर्श र आनन्द उसैले दिएको थियो। भैरहवा हुँदै सुनौली बोर्डर काट्ने बेलासम्म उसले कति धेरै सपना बुनेर राखेकी थिई होला।

त्यो बेला ऊ कसरी सोनमको अंगालोमा लुटपुटुएकी थिई, कति तरल भएकी थिई। पानी जस्तै सग्ली र नरम भएकी थिई। मुखमा राखेको सख्खर बिलाए झैं बिलाएकी थिई।

केही दिनमै त्यो मायाको राप टिक्न सकेन। स्वार्थको प्रेम प्रगाढ बन्नै सकेन। सम्झनाको शरीर अहिले पनि काँप्न थाल्छ। मनमा काँडा उम्रन्छ। ‘त्यतिबेलै सुइँकोसम्म पाएको भए उसलाई टुक्राटुक्रा बनाइदिन्थेँ।’ तर समय बितेर गैसक्यो ऊसँग अहिले आक्रोश बाहेक केही बाँकी छैन। सोनम उसका लागि आक्रोश हो।

सोच्दासोच्दै सम्झना त टोलाइसकिछ। ऊ झल्यास्स निन्द्राबाट ब्युँझेजस्तो गरी ब्यँझी। दुई दिन लगाएर उसले कोठा सफा गरी। घरबेटीको सबै भाडा चुक्ता गरी। कति सामानहरु बच्चुलाई लैजान भनी। कति सामानहरु फोहोरसँगै फालिदिई।

यो दुई/तीन महिनाको आरामले ऊ भर्खर सोह्र वर्षे तरुनी जस्तो भएकी छे। कोठाको र आफ्नो सरसफाइले अझ उसमा स्फूर्ति थपिएको छ। आफ्नै शरीरमा अरूको गन्ध आउन छाडेको पनि धेरै भइसकेको छ।

कोठामा लुगा र सामानहरु पनि मिलाई-मिलाई राखेकी छे। सबैतिर जोडजाड गर्दा पनि जम्मा उसको कमाई सत्तरी हजार नघाउन सकिन। कमाउन त धेरै कमाइ होला तर अरुका लागि कमाइ।

जब आफ्नै लागि कमाउन थाली, बचाउन सकिन। सापटी दिएका दुई/चार जना साथीहरु पनि पैसा नै नदिई बेपत्ता भए। ठूलो सहरमा धेरै स्वार्थले भरिएका मान्छेहरु मात्र उसले भेटी।

हिँड्ने बेलासम्म सामान प्याक गर्न र ट्रेन स्टेशनसम्म पुग्न बच्चुले सम्झनालाई सहयोग गर्यो। उसको स्वार्थ आफ्नै थियो तर अति स्वार्थी भने थिएन। हिँड्ने बेलासम्म पनि उसले आफ्नी श्रीमतीसँग भेट गराएन वा गराउन चाहेन।

उसका छोराछोरीलाईसम्म हाटबजारमा सम्झनाले भेटेकी थिई। उनीहरुलाई कुल्फी किनिदिएकी थिई। कैयौं पटक कपडा किनेर बच्चुलाई दिएकी थिई। तर पनि सम्झना र बच्चुको सम्बन्ध दुईमा मात्र सीमित भयो। पारिवारिक सम्बन्धसम्म कहिल्यै पुग्नै सकेन।

कोरोनाले संसार तहसनहस भयो। लकडाउन, बजार बन्द र अन्य तिकडम भने चलिरहे। दिल्ली पनि ठप्पै थियो। तीन महिनापछि ट्रेन खुलेको थियो। यो बीचमा पनि कोरोना त बढेको बढै थियो। तर मानिसहरु कोरोनालाई जितेर अगाडि बढ्दै थिए।

मानिसहरु मास्क लगाएर ओहोर–दोहोर गरिरहेका थिए। मानिसहरु सकेसम्म नजिक पर्दैन थिए। पाकेटमारको डर भने यो बेला ज्यादै कम थियो। नत्र ट्रेन स्टेशन वरिपरि पाकेटमाराहरूको अखडा नै मानिन्थ्यो। सामान्य काम गरेर गुजारा चलाउने मानिसहरु सहर छोडेर गाउँ जान तछाड मछाडमा थिए।

त्यसमध्ये सम्झना पनि एक थिई। व्यापार र सबै कोठीहरु बन्द भएपछि बल्ल सम्झनालाई घर जाने कुराले झक्झक्याएको थियो। दिल्लीमा खान लाउन धौधौ हुन थालेपछि तरुनीका काख खोज्दै किन आउँथे र मान्छेहरु!

कोरोना भाइरसले धेरै कुरा अस्तव्यस्त बनाएपछि भविष्य के होला भन्ने कुरा त सम्झना त्यति बुझ्दिन थिई। सहरमा काम ठप्प भएकाले अब सहरमा बाँच्न गाह्रो छ भन्ने कुरामा स्पष्ट थिई। दुईवटा ब्याग बनाई ऊ दिल्लीबाट गोरखपुर जाने ट्रेन चढी।

जब ट्रेनले सहर छोड्यो। गाउँका कतै उराठ र कतै हरियाली हेर्दै सुनौली पुग्ने आशामा टोलाइरही। बाटोमा र ट्रेनमा धेरै नेपालीहरु भेटिए। तर ऊ कसैसँग बोल्न चाहिन। अरू कसैले उसलाई त्यति सोधखोज पनि गरेनन्।

जेठ महिनाको उखरमाउलो गर्मी थियो। ट्रेनको झ्यालबाट मन्द हावा आइरहेको थियो। हावाले उसको अनुहार शितल बनाएको थियो। उसको मन भने केही नसोची एकतमास बसिरहेको थियो। मनमा अनेक विचारहरु आइरहन्थे गइरहन्थे।

ऊ आफै पनि एकसुरे भएकी थिई। न नेपाल फिर्दाको खुसी न दुःखीपन उसमा थियो। बीच-बीचमा पानी र अरु खानेकुरा बेच्न मान्छेहरु फाट्टफुट्ट आइरहन्थे। उसले यसो मुन्टो हल्लाउँथी र इन्कार गर्थी।

छेउछाउका मान्छेहरुले पनि यो खाने त्यो खाने भनेर सोधिरहे तर उसले सबै कुरा इन्कार गरी। उसको मनमा एक्कासी डर लाग्यो- ‘कतै खानामा बेहोस बनाउने राखेर मलाई फेरि दिल्ली पुर्याउने त होइन?’

सबै मानिसहरूले मास्क लगाएका थिए। सजिलै बोल्न र कुराकानी गर्न त अप्ठ्यारो नै थियो। त्यसैले मानिसहरू नजिक हुन र कुरा गर्न खोज्दैनथे तर जतिबेला पनि त्यो सम्भव हुँदैन थियो। सम्झनाले आफूले झोलामा ल्याएका कुरा निकालेर खाई।

कोठाबाटै लिएर आएको पानी खाई। जतिजति यात्रा सकिँदै गयो उसलाई उतिउति गाउँ र घरका कुरा याद आउन थाल्यो। सुनौलीबाट गोरखपुर जानेबेला, त्योबेला एकपटक आमासँग फोनमा कुरा गरेकी थिई। उसमा चिन्ता र चासो बुवाआमा कहाँ र के गर्दै होलान् भन्ने थियो।

भलवाड गाउँमै होलान् कि अन्त बसाइ सरे होलान् भन्ने भइरह्यो। अब घर कसरी जाने, के मुख लिएर जाने, के भनेर जाने चिन्ता भने उसलाई लागिरह्यो। के पेसा र के गर्थेँ भन्ने प्रश्न उसमा तेर्सिरह्यो। किन सम्पर्क गरिन, यो प्रश्न उसैका लागि अनुत्तरित नै थियो।

सबै कुरा सम्झेर सम्झनाको मन ढुक्क भयो। दिदी के गर्दै होलिन्? नानीबाबु कति ठूला भए होलान्? दिदीको सामु के भनेर मुख देखाउने भन्ने सोचेर उसको शरीर नै अटसमटस भयो। एक मनले सोची कतै घरदेखि टाढा गएर पसल गरेर गुजारा चलाउँछु। फेरि सोची दश वर्षमा कति कुरा फेरिए होलान्? न त भने जति सजिलो होला दुकान गर्न।

सोच्दासोच्दै ट्रेन त गोरखपुर स्टेशन आइपुगेछ। सम्झना ओर्ली र नौतनवा आउन अर्को ट्रेन छोपी। नरकमा हेलिएको ठाउँ आइपुग्दा उसको आङ जिरिङ्ग भयो। उसले ती दिनहरु सम्झन पनि सकिन।

सोनमलाई यतैकतै भेटे ‘टुक्रा–टुक्रा पारिदिन्थेँ’ भन्ने भाव पनि मनमा आयो। फेरि त्यो रिस विस्तारै हराएर गयो। अर्को तिर भने गर्मीले सम्झनालाई उकुसमुकुस बनाइसकेको थियो। नौतनवा ट्रेन स्टेशनबाट झरेर फेरि उसले सुनौली आउने टेम्पो चढी। केही छिनमा सुनौली बजार पनि आइपुग्यो। टेम्पोबाट झरेर झोलाहरु घिस्याउँदै किराना पसल छेउ गई।

केही खानेकुरा र पानी किनेर खाई र राम्रोसँग खाना नपाएकोले खाना खान होटल खोजी। सबै सामान त्यही थन्क्याई। इण्डिया जाँदा सोनमसँगै फुल्की-पानी खाएको झलझली सम्झी। उसको आँखामा आँसु टिलपिल भयो।

छेउबाट नेपाल-भारत सिमानाको गेट देखियो। वरिपरि मानिसहरु खचाखच थिए। कोरोनाका कारण बोर्डर सिल गरिएको थियो। व्यवस्थित गरेर नेपाल फर्कने मानिसलाई जान दिने व्यवस्था थियो। होहल्ला ज्यादा थियो।

ऊ पनि व्यवस्थित तरिकाले सामान थन्क्याई र कसरी नेपाल जान सकिन्छ भनेर बुझ्न थाली र दिल्लीमा भएको एकमात्र सहयोगी साथीलाई मेसेज लेखी- ‘म दशगजा आइपुगेँ, यता पारि जाने व्यवस्था मिलेपछि कल गर्छु।’

-शाभार:सेतो पाटी

राम अधिकारी

राम अधिकारी साहित्यकार,लेखक हुनुहुन्छ ।

प्रतिक्रिया