`इज्जत´

शशी खड्का बूढानिलकण्ठ,काठमाडौँ। २०७८ साउन ३० गते १५:०३ मा प्रकाशित

मेरो बुबा खानेपानी संस्थानको अधिकृत हुनुहुन्थ्यो।उहाँले सहरमा छोराछोरी पढाउनै लागि आफ्नो पुर्ख्यौली थलो धादिङबाट सरूवा मिलाएर ललितपुर आउनुभयो।पछि बुबाले उताको सबै पैतृक सम्पत्ति बेचेर ललितपुरमा जग्गा किनेर घर बनाउनुभयो।बुबाको सरकारी जागिर,घर जग्गा पनि भएकाले हामीलाई केही अभाव थिएन।दाजुहरूले डाक्‍टर र इन्जिनियर पढ्नुभयो।मैले भने बुबाले जस्तै सरकारी जागिर खाने जीवनको उद्देश्य राखेँ।कक्षा बाह्रको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि स्नातक पढेर लोकसेवा आयोगको परीक्षाबाट उत्तीर्ण भइ बैँकको अधिकृतमा जागिर खाएर आफ्नो जीवन सुखमय बनाउने लक्ष्य लिएर अगाडि बढ्दै थिएँ।अचानक घरमा दुईचार जना मानिस आएर बसेको देखेँ।मेरो बिहेको बारेमा कुराकानी हुँदै रहेछ।सबैजना खुसी देखिनुहुन्थ्यो तर म भने साह्रै दुखी भएँ।म दुई दाजुको कान्छी बहिनी थिएँ।मेरो बिहे नगरी दाजुहरूले बिहे नगर्ने अडान लिएको कारण यत्ति छिट्टै मेरो बिहे गरिदिनुपर्ने बाध्यता बुबाआमालाई रहेछ।म के चाहन्छु कसैले सोधेनन्।एक्‍कासी केटासँग कुरा गर्न भनेर बुबाले आदेश दिनुभयो।मैले कुरा गर्न आनाकानी गरेँ तर केटाको आग्रहमा मैले केही समय कुरा गरेँ।केटाले मेरो जीवनको लक्ष्य सोधे मैले सबै बताएँ।केटाले तिम्रो सपना पूरा गर्न म परिवारलाई मनाउँछु र हरेक क्षणमा म साथ दिनेछु भनेपछि म बिहे गर्न तयार भएँ।केटाको घर पनि ललितपुर नै रहेछ।केटा पक्ष धेरै धनी रहेछन्,छोराछोरी विदेशमा छन् भन्दा समाजमा छुट्टै इज्जत हुन्थ्यो।मेरा दुईवटा जेठाजुका परिवार पनि विदेशमा उतैको नागरिकता लिएर बस्नुभएको रहेछ।त्यसकारण पनि मेरो घर समाजको प्रतिष्ठत घर मानिँदो रहेछ तर उनीहरूले मेरो बुबाको अनुरोधमा सामान्य तरिकाले बिहे सम्पन्‍न गरे।नयाँ घरपरिवार वातावरण मलाई असाध्यै गाह्रो भयो।मलाई दिनरात पढाइ र आफ्नो लक्ष्यको चिन्ताले सताउन थाल्यो।बिहे भएको चार महिनापछि एकदिन श्रीमानसँग कुरा गरेँ।उहाँले आमाबुबासँग कुरा गर्नुभयो।म स्नातक तहमा व्यवस्थापन सङ्‍कायमा भर्ना भएँ।घरमा काम गर्ने सहयोगी राखेको भए पनि खाना आफैँ बनाउथेँ र क्याम्पस जाँदा दिउँसोको खाजा पनि बनाएर राखिदिन्थेँ।

मेरो प्रथम वर्षको परीक्षा आउँदै थियो म गर्भवती भएँ।परीक्षा सकिएपछि घरमा नै बसेँ।मैले बीस वर्षमा पहिलो छोरीको जन्म दिएँ।घरमा नै बसेर पढेर दोश्रो वर्षको परीक्षा दिएँ।छोरी अठार महिनाको भएपछि फेरि गर्भ बस्यो।अब क्याम्पस गएर पढ्ने रहर पूरा नहुने देखेँ।बेलाबेलामा परीक्षाको फारम भर्न बाहेक मेरा लागि क्याम्पसको ढोका बन्द भयो। पारिवारिक वातावरण राम्रै थियो।श्रीमानले पनि माया नै गर्नुहुन्थ्यो।मैले एकदिन दुईवटी छोरी जन्मिए अब हामीलाई सन्तान पुग्यो,म पढेर आफ्नो सपना पूरा गर्न चाहन्छु भनेँ।श्रीमान केही बोल्नुभएन।त्यसपछि भने परिवारमा खटपट सुरू भयो।मैले तनाव लिन थालेँ।फेरि गर्भ बस्यो।डाक्टर जचाउन जाँदा श्रीमानले छोरा छ कि छोरी भनी सोध्नुभयो।मैले अँध्यारो मुख लगाएँ।छोरी भए गर्भपतन गराउँछु भनेपछि डाक्टरले जुम्ल्याहा छोरो छ भने तर जुम्ल्याहा छोरी जन्मिए।फेरि छोरी जन्मिएपछि भने सासुले पनि अलच्‍छिनी रहिछे।एउटा छोरो पनि जन्माउन नसक्ने।छोरा वा छोरी जन्मनुमा महिलाको केही भूमिका हुन्‍न भन्‍ने बुझ्दाबुझ्दै पनि श्रीमानले पनि मलाई नै दोषी बनाउनुभयो।एकदिन आमाछोरा कुराकानी गर्दै गरेको सुनेँ।आमाले हेर छोरा दाजुहरूका पनि दुई दुईवटी छोरी छन्।विचरा ! धेरै सन्तान जन्माएर कसरी हुर्काउछन्? फेरि विदेशमा छोराछोरीमा विभेद छैन।छोराछोरी बराबर हुन्।म उनीहरूलाई नाति पनि चाहिन्छ भनूँ भने कुराकानी गर्न नै बन्द गर्छन्।एउटा नातिचाहिँ मलाई जसरी पनि चाहिन्छ।पितृलाई तर्पण दिने छोरो चाहिन्छ र यत्रो सम्पत्ति कसले खान्छ।

दाजुहरूले पनि आमाबुबालाई कान्छाले राम्रोसँग राखेको छ। सम्पत्ति पनि उसैले खाओस् भन्छन्।तिम्रो पनि राम्रो कमाइ छ यसले छोरो नपाउने हो भने अर्की बिहे गर बाबु तिमी। हामीलाई केटी दिने कति छन् कति ? मिलेर बसे बस्छे नबसे अलिकति सम्पत्ति दिने त्यसका छोरीहरू पालेर बस्छे।मेरो श्रीमानले चाहिँ मैले उसलाई पढाएर जागिर खान पनि पठाउँछु भनेर बिहे गरेको हुँ। मेरो सुखदु:खमा साथ दिएकी छे।मेरो हेरविचार गर्छे।उसको के गल्ती छ र सौता ल्याउनुपर्ने। म उसलाई छोडेर अर्की ल्याउन सक्दिनँ।ऊ पढाइमा पनि अब्बल छे। मैले उसको पढाइमा अलिकति पनि ध्यान दिन पाएको छैन। चारचारवटा बच्चाको हेरविचार गरेकी छे । उसले एकदिन पनि मलाई कुनै गुनासो गरेकी छैन। हजुरहरूको पनि राम्रो हेरविचार गरेकी छे। म यसमाथि छोरा पाउनका लागि भनेर सौता ल्याउन सक्दिनँ।आमा हजुरलाई यसले जस्तो माया कुनै बुहारीले पनि गर्दैनन्। बहिनीको एउटी छोरी हुँदा ज्वाइँले छोरो चाहिँदैन भन्दा मेरो ज्वाइँजस्तो त कोही छैन। बच्चा जन्माउन गाह्रो हुन्छ भनेर एउटै सन्तानमा चित्त बुझाए। मेरी छोरी कति भाग्यमानी भन्‍ने अनि मेरो आग्रहमा चारचारवटा बच्चा जन्माउनेलाई चाहिँ यस्तो भन्‍ने ? छोरा बेसरी रिसाएपछि मलाई अरू कुरा थाहा छैन एउटा नाति चाहिन्छ भन्दै कराएको सुनेँ। बेलुका छोरीहरू सुतेपछि मैले भनेँ, म अब बच्चा जन्माउन सक्दिनँ। हजुर अर्की बिहे गरेर ल्याउनुहोस्। म छुट्टिएर बस्छु। घरमा अशान्ति छाउन थालेको छ। न मेरो सपना पूरा भयो न हजुरको घरमा शान्ति रहयो। मलाई हजुरप्रति कुनै गुनासो छैन। मेरो बाँकी रहेको विषयहरूको परीक्षा दिएर उत्तीर्ण गरी जागिर खान चाहन्छु।हजुरलाई अझ समस्या हुन्छ भने सम्बन्ध विच्छेद गर्छु।श्रीमानले त्यसो गरेमा म तिम्रो अगाडि नै आत्महत्या गर्छु भन्‍नुभयो।आमालाई राम्ररी सम्झाउँछु भन्‍नुभयो। म केही बोलिनँ।घरमा सधैँजसो छोराको विषयमा कुरा उठ्न थाल्यो। ससुरा केही बोल्नुभएन। आमाछोराको बीचमा भनाभन हुन थाल्यो।यदि यसले छोरो जन्माइन भने कि यो यस घरमा बस्दिन कि म भनेर आमा रून थाल्नुभयो।

त्यसपछि श्रीमानले अब यो पटकमा छोरो भएन भने म आफैँ परिवार नियोजन गर्छु भन्‍नुभयो।त्यसपछि म फेरि गर्भवती भएँ।परीक्षण गराउँदा छोरी छ भन्‍ने थाहा हुने बित्तिकै गर्भपतन गराउनुभयो।यस बीचमा आठपटक गर्भपतन गराउनुभयो।उठ्न नसक्ने हुँदा पनि मेरो इच्छा विपरीत गर्भपतन गराइरहनुभयो।म अब मर्छु, मेरा छोरीहरू टुहुरा हुन्‍छन् भनेर रोएँ।फेरि गर्भ बस्यो।यो पटक छोरो छ भनेर गर्भपतन गराउनुभएन तर म यो गर्भपतन गराउन चाहन्थेँ सफल हुन सकिनँ। मैले यो बच्चा मरोस् भनेर गर्भावस्थामा खान नहुने खानेकुराहरू खोजीखोजी खाएँ तर बच्चा राम्रो नै जन्मियो।मैले माइतमा आमासँग भने,‘आमा म छोरीहरू लिएर यहीँ बस्छु,यो बच्चा जन्माउन चाहन्‍न ‘ भनी सबै बेदनाको पोको खालेँ।आमाले आँखाभरी आँसु पारेर भन्‍नुभयो, ‘ छोरी यो कुरा कसैले थाहा पाए भने तिम्रो बुबा र दाजुहरूको इज्जत जान्छ , तिमी यहाँ आएर बस्यौ भने दाजुभाउजूको सम्बन्ध बिग्रन्छ, यो परिवार भताभुङ्‍ग हुन्छ। बिन्ती तिमी घर छोड्ने कुरा नगर र यो कुरा पनि कसैलाई नभन।’मेरो सानो दुखाइमा आँसु झार्ने मेरी जननीले आज इज्‍जतका लागि मसँग भिख मागको देखेर आफैँलाई धिक्‍कार्दै जीवनभरि बग्ने आँसुलाई त्यहीँ विसर्जन गरी फर्किएँ।म छोरीहरूको हेरविचार गर्न पनि विर्सन थालेँ। सासु रातदिन नातिलाई काखमा राखेर बस्ने गर्नुहुन्थ्यो तर ममा भने निराशा छाउथ्यो।नढाँटी भन्‍ने हो भने म अर्धपागल भइसकेको थिएँ।त्यो दिनको घटना सम्झिएपछि कि बेसरी रून्थेँ कि एकोहोरिएर घण्टौँ बस्थेँ। छोरीहरूको अबोध अनुहारले प्रश्‍न सोधेझैँ लाग्थ्यो, ‘ आमा तपाईँलाई केही भयो भने हामी के गर्ने? ‘ अनि झसङ्‍ग हुन्थेँ र आफूलाई सम्हाल्ने कोसिस गर्थेँ।

समयले घाउ पुरिँदै लैजान्छ भन्थे हो रहेछ।मेरो पनि घाउमा खाटा बसेको थियो।छोराको अन्‍नप्राशनको दिन आइपुग्यो। घरमा बेग्लै रौनक थियो।परिवारमा खुसीको सीमा थिएन। छोरीहरू भाइलाई काखमा राखेर आशीर्वाद थाप्न व्यस्त थिए। माइतबाट आमा, बुबा, दाजुभाउजू सबैजना आउनुभयो।सबैले आशीर्वाद र बधाई दिनुभयो।लगभलभग कार्यक्रम सकिनै लागेको थियो सानिमा सासू आइपुग्नुभयो र छोरालाई टीका लगाएर आशीर्वाद दिँदै भन्‍नुभयो, ‘छोरा त ठ्याक्‍कै आमाको अनुहार परेको रहेछ। आमाको अनुहार परेको छोरो र बाबुको अनुहार परेकी छोरी असाध्यै भाग्यमानी हुन्छन् रे।‘ यति भन्दा मेरो मनमा विगतको स्मृति सलबलाउन थाल्यो। मुटु पोल्न थाल्यो, छटपटी भयो र चिटचिट पसिना आउन थाल्यो।घाउको खाटो उप्किएर रगतको खोलो बग्न थाल्यो। बल्लतल्ल सुत्‍ने कोठामा पुगेर ढोका लगाएँ। पन्ध्र महिना अगाडिको मेरो जीवनको कालो दिनलाई सम्झिएँ।

एकदिन मेरो श्रीमानले मलाई एउटा ठूलो आश्रममा लिएर जानुभयो।त्यहाँको वातावरण असाध्यै रमाइलो थियो।आश्रममा नै बस्ने महिला र पुरूषहरू धेरै रहेछन्।महिला जति सबैले सेतो सारी ब्लाउज र गलामा रुद्राक्ष लगाएका थिए भने पुरूष जतिले सेतो कमिज र सुरुवाल र गलामा रुद्राक्षको माला लगाएका थिए। भगवानका ठूला ठूला तस्बीरहरू राखिएको एउटा भव्य मन्दिर आश्रमको बीचभागमा रहेछ। बिहान पूजा र बेलुका आरतीको समयमा रमाइलो हुँदो रहेछ।बस्तीभन्दा अलि टाढा सानो जङ्‍गलको फेदीमा अवस्थित त्यो आश्रममा पहिले पहिले राजा महाराजा आफ्नी रानीलाई लिएर आउँथे रे।आजभोलि मन्त्रीका श्रीमतीदेखि ठूला घरानका महिलाहरूको आवतजावत हुँदो रहेछ। उनीहरूले आश्रमलाई चन्दा सहयोग गर्दा रहेछन्। त्यहाँको बाबालाई भेट्न पहिले नै समय लिनुपर्ने रहेछ।मेरा श्रीमानले पहिले नै समय लिनुभएको रहेछ। करिब आधा घण्टा बसेपछि एउटा सेतो कुर्ता र सेतो धोती,निधारमा तलदेखि माथिसम्म चन्दन, हातका दसै औँलामा फरक फरक रङ्‍गका औँठीहरू र घाँटीमा रूद्राक्षका चारपाँचवटा माला लगाएका अग्लो गोरो अधबैँसे मानिस आएपछि सबैजनाले नमस्कार गरेँ। मैले पनि नमस्कार गरेँ।केही समयको भक्तजनसँगको भलाकुसारीपछि मलाई लिएर श्रीमान आश्रमको भित्री कोठामा जानुभयो।बाबाले तीनदिन लगातार शरीर पूजा गरेपछि सबैकुरा ठीक हुन्छ भनेँ तर मलाई डर लाग्यो र सोधेँ,‘मलाई के भएको छ र ?’ मेरो श्रीमानले आत्तिँदै यति गरेपछि छोरो जन्मिन्छ भन्‍नुभयो। छोराछोरी जन्मने कुरामा महिलाको कुनै भूमिका हुँदैन भन्‍ने थाहा हुँदा हुँदै शरीर पूजा गरेर छोरो जन्मन्‍छ भन्‍ने अन्धविश्‍वासी कुरा गर्ने भनेर म रिसाएँ।हजुर आधुनिक पुरूष र म आधुनिक महिलाले पनि यस्ता कुरामा विश्‍वास गर्ने ? म रिसाएको देखेर हेर नानु यहाँ यस्तो समस्या लिएर धेरै आउँछन् र शरीर पूजा गरेपछि छोरा जन्मिएका छन्। ‘तिमी पनि एकपटक पूजा गरी त हेर, भएन भने पनि शरीर पूजा गर्दा के हुन्छ र? बाबाले भने।‘ साँझ परेपछि श्रीमान र मलाई भगवानको पूजा गर्न लगाइयो। हामीले पूजा गर्‍यौँ र प्रसाद खायौँ।त्यसपछि मेरो शरीर पूजा गर्न भनेर श्रीमानलाई बाहिर पठाए।मैले नजान अनुरोध गरेँ तर बाबासँगै आएकी एक महिलाले म पनि यहीँ हुन्छु केही हुँदैन भनिन्।महिला पनि भएकोले डर भने हराएको थियो।मलाई चोखो लुगा लगाउन पर्छ भनेर एउटा सेतो सारी र ब्लाउज दिए। मैले लुगा फेरेपछि केही मन्त्र भन्दै फूल शीरदेखि पाउसम्म राखेँ।त्यसपछि ती महिला अब प्रसाद खाने बेला भयो भनेर बाबा र मलाई छोडेर गइन्।ढोका लाग्नेबित्तिकै बाबाले मलाई प्रसाद खान दिए।प्रसाद र पानी पिएपछि मलाई निद्रा लागेकोजस्तो भयो तर म पूर्ण निद्रामा थिइनँ। कसैले मेरो शरीर चलाएको जस्तो लाग्यो तर कराउन सकिनँ। म अर्धचेतन अवस्थामा थिएँ। शरीर पूजाको बाहनामा मेरो अस्मिता लुटियो।म त्यहाँ केही बोल्न सक्ने अवस्थामा थिइनँ।बाबाको नामको बलात्कारी र सहयोगी महिलालाई देखेर थुक्‍न मन लाग्यो।घर गएपछि श्रीमानलाई सबै कुरा बताएँ र ती महिला र पुरूषलाई अदालतमा मुद्दा हाल्छु भनेँ। मेरो श्रीमानले मैले यी सबै समाजमा आफ्नो इज्‍जत बचाउन गरेको हुँ। मुद्दा हाल्ने नै भए मलाई हाल भनेपछि म बेहोस् भएँ।एक महिना अस्पताल बस्नुपर्‍यो।म फेरि गर्भवती भएको थाहा पाएँ। इज्जत जोगाउन सबैले मेरो मुखमा ताल्चा ठोकिदिए।

इज्जत इज्जत भनी कराइरहन्छन् यहाँ सबै
खै कस्तो हुन्छ यसको रुपरङ्‍ग केही देख्‍दिनँ म त
बाहिर भरिलो भित्र कुहिएर गन्हाएको खोक्रो धोत्रो इज्‍जतको
खै कुन्‍नी कतै बजारमा यसको कुनै मूल्य नै देख्दिनँ म त

तर कसैको साथ र सहयोग नपाएपछि छोरीहरुको लागि भित्रभित्रै कुहिएर गन्हाएको खोक्रो इज्जतका लागि म लाटी बनिदिएँ केवल देखावटी इज्‍जतका लागि मात्र……………………………………!!!!

शशी खड्का
बूढानिलकण्ठ,काठमाडौँ।

प्रतिक्रिया