विराटनगर,२६ साउन।प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको सम्बन्धित कार्यालयहरुले जनाएको छ।
लगभग रोपाँई सकियो यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया,डिएपी र पोटास मौज्दातमा रहेको बताइएको छ।
कृषि सामग्री कम्पनि लिमिटेड कार्यालय विराटनगरमा अझै युरिया पाँच हजार ५०६ मेट्रिकटन,डिएपी ६४६ मेट्रिकटन र पोटास ७२ मेट्रिकटन मौज्दातमा रहेको प्रमुख नवरत्न गौतमले जानकारी दिनुभयो।उहाँले यस कार्यालयमा केही दिनभित्रै थप युरिया एक हजार ५०० मेट्रिकटन आउने भएकोले किसानलाई बर्षेधानबालीका लागि चाहिने मलको अभाव नरहने बताउनुभयो।
गएको वर्षमा रासायनिक मल ५१ हजार २०८ मेट्रिकटनमा मातहतका कार्यालयमा २८ हजार ९५४ मेट्रिकटन पठाएको र कार्यालयले आफै १२ हजार ९१६ मेट्रिकटन बिक्री गरी असारसम्ममा नौ हजार ७७७ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको थियो।
युरिया अहिले ५० केजीको प्रति बोरा रु ७५० र डिएपी रु.दुई हजार २०० मा बिक्री भएको बताइएको छ।
यस्तै,साल्ट ट्रेडिङ कम्पनि विराटनगरमा युरिया १८ हजार ५६२ बोरा, डिएपी १५ हजार २०६ बोरा र पोटास एक हजार ९६४ बोरा मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो।
कार्यालयले यसवर्ष युरिया २३ हजार ७४७ बोरा, डिएपी १३ हजार ४७० बोरा र पोटास एक हजार ६०० बोरा वितरण गरेको छ भने चालु आर्थिक वर्षको साउन देखि अहिले सम्म वितरण गरेको रासायनिक मलको विवरण भने निकाल्न नपाएको प्रमुख चौधरीले जानकारी दिनुभयो।
प्रतिक्रिया