आइतबार, असोज १० २०७८
काठमाडौं ०३:०६
वासिङटन डिसी 17:21

दुई बर्ष देखि संपर्कबिहीन पांच बालकको उद्धार ,गाउं खुशी

टंक पन्त २०७८ साउन १७ गते १५:४५ मा प्रकाशित


काठमाडौ । करिब दुई वर्षदेखि अभिभावकसँग सम्पर्क विहीन रहेका पाँच बालकलाई भारतबाट उद्धार गरिएको छ ।
झापाको विश्व सेवा विस्तार संस्थाको पहलमा आफ्नै घरबाट वेपत्ता भई भारत पुगेका पाँच बालकलाई दुई वर्षपछि भारतको कलकत्ताबाट उद्धार गरिएको हो ।

सेवा समाजले उद्धार गरी ल्याइएका बालकहरुलाई सार्वजनिक गरेको छ ।२०७६ साल मंसिर २८ गते शनिबारदेखि अभिभावकको सम्पर्क विहीन रहेका मेचीनगरका चार जना तथा दमकका एक जना बालकको उद्धार गरिएको छ ।

उद्धार गरिएका बालकहरुमा मेचीनगर – १ गाडागल्लिका १६ वर्षीय अनिस विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल रहेका छन् ।

अर्का बालकमा दमकका १४ वर्षीय खेम राजवंशी रहेका छन् । उनीहरुलाई हिजै अभिभावकहरुको जिम्मा लगाइएको छ ।भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा विश्व सेवा विस्तार संस्थाले त्यहाँ रहेको बालगृहमा रहेका बालकहरुको उद्धार गरेको संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले जानकारी दिनुभएको छ ।

बस्नेतका अनुसार महावाणिज्य दूतावासका राजदुत शतिसकुमार थापाको सहयोगमा बालकहरुको उद्धार गरिएको हो । बालकहरुका अभिभावकहरुले झण्डै दुई वर्षदेखि हराइ रहेका आफ्ना छोराहरुको उद्धार गरि दिएकोमा विश्व सेवा विस्तार समाजप्रति आभार प्रकट गरेका छन ।

सो अवसरमा उद्धार गरी ल्याइएका बालकहरुले आफुहरु घुम्नका लागि भारत गएका बेला आफुहरुलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बंगालस्थित जलपाईगुडी जिल्लाको एक बाल गृहमा लगिएको बताए ।

१८ महिनाअघिदेखि हराइ रहेको आफ्नो नातीलाई देख्न÷भेट्न पाउँदा आँफू अत्यन्तै हर्षित भएको उद्धार गरिएका मेचीनगर–१, गाडागल्लीका खड्गबहादुर विश्वकर्माले बताए ।

‘हामीहरु कुनैदिन नाती फर्केर आउँला भन्ने आशामा थियौं, आँखा भरि आँशु पार्दै विश्वकर्माले भने–‘ आज त्यो पर्खाइको समय सकिएको छ, यसमा विगत दुई महिनादेखि अहोरात्र खटिएर उद्धारमा लागिदिने विश्व सेवा विस्तार संस्थालाई हामी धन्यवाद दिन्छौं ।’

दुई वर्षदेखि बेपत्ता छोराहरुलाई भेटेपछि अन्य अभिभावकहरुसमेत खुशी भएका थिए ।सो अवसरमा संस्थाका कोअर्डिनेटर बस्नेत, वरिष्ठ सदस्य प्रमिला दुरालले अभिावकसमक्ष जिम्मा लगाइएको बालकहरुको राम्रो रेखदेख तथा हेरचाहका लागि अभिभावकहरुलाई आग्रह गरे ।

विश्व सेवा विस्तारले विगत पाँच वर्षदेखि झापाको काँकरभिट्टा तथा भद्रपुरस्थित सीमानाकामा रहेर चेलबेटी बेचविखन तथा बाल अधिकारको क्षेत्रमा रहेर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया