पढ्ने बेला त्यति राम्रो विद्यार्थी थिएन समिर।पढाउने सबै गुरुहरुका छद्म नाम राखिदिन माहिर थियो ऊ।गुरुहरुको अनुपस्थितीमा उनीहरुका छद्म नामले पुकार्दै क्यारीकेचर गरेर कक्षामा सबै साथीहरुलाई मनोरञ्जन दिन्थ्यो।
देशको राजनैतिक परिवर्तन सँगै पढ्न छाडेर ऊ राजनीतिमा सक्रिय भयो।यसै क्रममा ऊ आफैले पढेको विद्यालयमा आएर विभिन्न वहानामा गुरुहरुलाई तर्साइरहन्थ्यो,धम्काइरहन्थ्यो।गुरुहरुको निद्रा हराम गरेकोले उसलाई देखे पछि गुरुहरु त्राहिमाम् हुन्थे।
केही वर्ष पछि ऊ गाउँबाट लापता जस्तो भयो।कोहि भन्थे ऊ अहिले काठमाण्डौं तिर घर बनाएर बसेको छ रे।कोहि भन्थे ऊ सहरतिरै ठेक्कापट्टा गरेर बस्छ रे।जे भएपनि समिरको अनुपस्थितीले गुरुहरु अहिले चैनको निद्रा निदाउँथे,त्यो क्षणको सम्झना पनि गर्न चाहाँदैनथे।
आज गुरु पूर्णिमाको दिन समिरको फेसबुक वालमा “गुरु व्रम्हा, गुरु विष्णु, गुरुदेवो महेश्वर………………….”भन्ने शब्दहरु बडो सुन्दर र आकर्षक डिजाइनमा लेखेको शुभकामना सन्देश देखियो।समिर सँगै पढेको रतन जो अहिले त्यसै विद्यालयमा शिक्षक थियो उसले सबै गुरुहरुलाई त्यो सन्देश देखायो।गुरुहरुले के सोच्नु भो कुन्नी ओठ लेप्राउँदै आपसमा मुखामुख गर्दै भन्नु भो – “धन्य हाम्रो शिष्य।
-मित्र ‘उराठी’ गौतम अमरपुर- गुल्मी,हालःतिलोत्तमा न. पा.– २,रुपन्देही
प्रतिक्रिया