क्रियाशील सदस्यता किचलो समाधान गर्न देउवाको निर्देशन

इनेप्लिज २०७८ साउन ८ गते १०:२५ मा प्रकाशित

काठमाडौ।नेपाली काँग्रेसले अनसन बस्दै आएका पार्टीका नेता,कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएको छ।

बुढानिलकण्ठस्थित प्रधानमन्त्री एबं पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले पार्टी कार्यालय सानेपामा धर्ना दिँदै आएकाको माग सुुनुवाई गरी शनिवार बस्ने पदाधिकारी बैठकमा पेश गर्न छानवीन समितिलाई सचेत गराएको हो।देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा।प्रकाशशरण महत र पूर्वसमहामन्त्री डा।रामशरण महतलाई जिम्मेवारी दिएका छन्।

क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै काँग्रेस पार्टी कार्यालय सानेपामा धनुषा र बाराका संस्थापन इत्तर पक्षका नेता कार्यकर्ताले धर्ना र अनशन जारी राखेका छन्।त्यसको काउन्टरमा बाराका संस्थापन पक्षले पनि धर्ना सुरु गरेको छ।

बैठकले क्रियाशील सदस्यता वितरणका सम्बन्धमा देखिएको समस्या समाधान पार्टी केन्द्रित कार्य समितिले मात्रै टुंगो लगाउने पनि स्पष्ट पारेको छ।

बैठकमा क्रियाशील सदस्यता छानवीन समितिका संयोजक रमेश लेखकले साउन १० गते आईतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारी गराएका थिए।शनिवार पुन बस्ने कांग्रेस पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्नेछ।

क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन समेत नआएकाले महाधिवेशन कार्यतालिका कांग्रेसले संसोधन गर्न लागेको हो।पदाधिकारी बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने प्रस्ताव राखेका थिए।

प्रतिक्रिया