एनआरएन स्वीट्जरल्याण्डमा शुभ एल्मर लामा अध्यक्ष, सीता गौतम आइसीसी सदस्यमा निर्वाचित; पुरै कार्यसमिति निर्विरोध

इनेप्लिज २०७८ असार २८ गते १:४७ मा प्रकाशित

बेर्न (जीएनएन) — स्वीट्जरल्याण्डको राजधानी बेर्नमा गैरआवासीय नेपाली संघ स्वीट्जरल्याण्डको १३ औं वार्षिक साधारणसभा तथा सातौँ राष्ट्रिय अधिवेशनको स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराईले उद्घाटन गरेका छन् ।

उनले हालै नेपालमा कोभिड-१९ को संक्रमण चर्किएका बेला स्वीट्जरल्याण्ड लगायत संसारभरि रहेका नेपालीहरुले गरेको सहयोगको प्रशंसा गरे।

साधारणसभाले स्वीट्जरल्याण्डकी सुपरिचित समाजसेवी शुभ एल्मर लामाको अध्यक्षतामा सन् २०२१-२०२३ का लागि पुरै कार्यसमिति निर्विरोध चयन गरेको छ।

त्यस्तै सीमा गौतम अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्। एनसीसीको कोषाध्यक्ष तथा उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेकी गौतमले आइसीसीका विभिन्न टास्कफोर्समा रहेर पनि काम गरेकी छन्।

यस्तै उपाध्यक्षमा प्रमोद कुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल (कृष्ण) प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापति, महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामा यम काउचा मगरको मात्र उम्मेदवारी परेपछि सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो।

अन्य केही पदहरूमा उम्मेद्वारी नपरेपछि पद रिक्त रहेको छ।

दोश्रो पुस्तालाई एनआरएनएसंग जोड्ने : 

यसैबीच जीएनएनसंग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष शुभ एल्मर लामाले नेपालमा सक्दो सहयोग गर्नुका साथै स्वीट्जरल्याण्डमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई केही समस्या आइपर्दा तयार भएर बस्ने आफ्नो प्राथमिकता भएको बताइन्। “२० वर्षीय बिनिता सुनुवारलाई हामीले युवा संयोजकको जिम्मेवारी दिएका छौं। एनआरएनएलाइ दोश्रो पुस्तासंग जोड्नु पनि मेरो प्राथमिकता हो,” लामाले भनिन्। एनआरएनएलाई राजनीतिक दबाब भित्र पर्न नदिने तर्फ आफु सचेत रहने पनि उनले बताइन्।

विदेशी बाबु र नेपाली आमाका सन्तानले एनआरएनएको सदस्यता पाउने कि नपाउने भन्ने अन्यौल रहेकोमा आफुले आइसीसीसंग सम्पर्क गरी आफ्नो छोरा लगायत विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका अन्य युवाहरुलाई पनि एनआरएनएको सदस्यता दिलाएको उनले स्मरण गरिन्। “हामीले हाम्रा छोराछोरी मात्रै हैन, हाम्रा नाती, नातिनालाई पनि नेपालसंग जोड्न जरुरी छ,” उनले भनिन्।

आइतबार सम्पन्न अधिवेशनमा नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथ दिलाइएको थियो।

प्रतिक्रिया