वर्तमान सन्दर्भमा थपिएको अभिभावकीय भूमिका

कोमल अधिकारी,टिकापुर-१, कैलाली। २०७८ असार २७ गते ४:१६ मा प्रकाशित

मेरो फेसबुक एकाउण्टमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो,सँगै मेसेञ्जरमा उनैको ‘हाइ’ लेखेको ‘रिक्वेष्ट’।मेसेञ्जरमा मैले ‘हु आर यू?’ ‘आ (र) यू अ स्टुडेण्ट ? ‘ … ‘ आई एम अ टिच (र)’… लेखेर पठाएँ.. उताबाट ह्वाट्स एप नं. आयो,त्यही नं.मा कुरा गरौँ रे ! मलाई किन किन वाहियात फ्रेण्ड रिक्वेष्ट आयो जस्तो लाग्यो किनकी कोही म्युचुअल फ्राईण्ड पनि थिएनन् र मैले कुनै कोणबाट पनि निजलाई चिनेको झैँ लागेन….केही क्षण पछि ‘ह्वेर आ(र) यु फ्रम?’ भन्ने आयो तर लेखेर पठाएँ- ‘ ह्वाई आ(र) यु सेण्डिङ्ग फ्राईण्ड रिक्वेष्ट ?’ त्यसपछि च्याट बन्द भो।

अनलाईनमा समाचार पढ्दा विज्ञापनहरू आउँछन् कुनै त अश्लील नै हुन्छन् तर सबै हैनन्।
कम्प्युटरमा एउटा एप्स खोल्न खोज्दा अर्कै विज्ञापन आएर हैरान हुन्छ,ब्याक वा रिमुभ गर्न हम्मे हम्मे पर्छ।गेमहरूका विज्ञापन त यसरी आउँछन् कि जता छोए पनि गेम शुरू हुने खालको फेरि त्यो गेम क्वीट गर्न पत्तै लगाउन गार्‍हो ,धेरै समय लाग्ने हुन्छ बच्चाहरू त गेमै खेल्न शुरू गर्ने हुन्छ।

यी उदाहरणहरू किन पेश गरेको भने हामी अहिले ईन्टरनेटको हिसाबले नै भनौँ,एकदमै खुला परिवेशमा छौँ,चाहे आफ्ना कुरा आदान-प्रदान गर्न,साथी बनाउन,सिक्न-सिकाउन,वा,अन्य केही स्वार्थहरू… पुरा गर्न।सकारात्मक र नकारात्मक दुबै।ईन्टरनेट आफैँमा तटस्थ साधन हो।यसबाट अनेकौँ राम्रा ताजा जानकारी पाउन सकिन्छ।यो ज्ञानको भण्डार हो।तर,यसको प्रयोग सहि तरिकाले गरिएन भने यो जस्तो हानीकारक पनि केही हुन्न भन्ने तर्क आउन थाली सकेको छ।

सम्पन्नता,देखासिकी,प्रतिस्पर्धा,छोराछोरीलाई २१ औ शताब्दीमा ‘अप टु डेट’ राख्ने हिसाबले र अहिले ‘अनलाईन क्लास’का हिसाबले हामीले बच्चाहरूलाई मोबाईल,ट्याब्लेट,ल्यापटप किनीदिई रहेका छौँ (अझ, सहरी क्षेत्रतिर त जन्मेको ३/४ महिनादेखि नै- रोयो भने,खाना खुवाउन,चुप लगाउन हाईपररियालिटीका भिडिओहरू देखाउँदै आफूले अन्य काम वा आराम गरेको पनि देखिन्छ र त्यो बिस्तारै देखासिकीबाट ग्रामीण क्षेत्रतर्फ सङ्क्रमण हुँदैछ)।

खासगरी डिजिटल दुनियाँबाट टाढा रहनु भएका (Digital Dinosaurs) र भर्खर डिजिटल दुनियाँमा प्रवेश गर्नु भएका ( Digital Immigrants) अभिभावकहरूले आफ्ना बच्चाहरूले मोबाइल/ल्यापटप चलाउँदा खुशी मान्नु र गर्व गर्नु स्वभाविक पनि हो,किनकी यो वहाँहरूको सोचाइमा आफूले नगरेका वा गर्न नपाइएका कामहरू हुन् र २१ औ शताब्दीमा यो अपरिहार्य पनि छ।झट्ट हेर्दा यो आफ्ना छोरा-छोरी फर्वार्ड भएको मान्ने हामी धेरै छौँ।तर,हामीलाई थाहा छ,किताब पढ भन्दा कुन किताब पढेको छ वा किताब भित्र के राखेर पढेको छ भन्ने पत्ता लगाए जस्तै हामीले ईन्टरनेट त चलाएको छ,तर,के विषयवस्तुमा अध्ययन गरिरहेको छ भन्ने पत्ता नलगाउँदा समस्याहरू आउन थालेका छन्।

हामीले यसो गरेर ( ध्यान नदिएर वा नजानेर)गल्ती त गरिरहेका छैनौँ? भन्ने सोच्नु वर्तमान अभिभावकको दायित्व भईसकेको छ।बच्चालाई त्यस्तो गर्न दिँदा ( निसङ्कोच ईन्टरनेट प्रयोग गर्न दिँदा)उनीहरूको शारीरिक,मानसिक,बौद्धिक,सामाजिक विकासमा कुनै असर त परिरहेको छैन? भन्ने सोच्नु पर्ने अवस्था आईसकेको छ।बच्चालाई मानसिक समस्या पो आईरहेको छ कि ? रियल भन्दा हाईपररियल तिर पो तिनीहरू गईरहेका छन् कि? फ्रि फायर,पबजी जस्ता खेलहरू लत लाग्ने खेल्ने,पोर्न भिडिओ हेर्ने,थाहै नपाई आफ्नो ठेगाना,परिचय गलत मानिसलाई पो दिईरहेका छन् कि वा अन्य त्यस्तै गतिबिधितिर पो लागि सक्या छन् कि ?सोच्न जरूरी छ।जुन उद्देश्यलेे हामीले उसलाई मोबाइल दिएका हौँ के बच्चाले त्यही उद्देश्य मात्रै पुरा गरी मोबाइल थन्क्याई दिएको छ त ? के उसको मोबाइलमा माथि मलाई आएको जस्तो मेसेज नआएको होला? के उसले त्यसलाई ‘डिनाइ’ गरेको होला? सम्भवत: गरेको छैन,गर्दैन।बाल्यावस्था,यौवनावस्था र किशोरावस्थाका विशेषताहरूले त्यस्तो गर्न उसलाई दिँदैन।ऊ जिज्ञाशु हुन्छ।हेर्न हुँदैन भनेको कुरा उसलाई झन् हेर्न मन लाग्छ, अरूको धारणा जान्नका लागि ऊ लागी पर्छ…

CWIN ले सन् २००३ मा सेभ द चिल्ड्रन नर्वेको सहकार्यमा काठमाण्डौ र सन् २००५ मा युनिसेफको सहकार्यमा अन्य ४ जिल्लामा (सहरी क्षेत्र) गरेको सर्वेक्षणले बच्चाहरूमा बिस्तारै ईन्टरनेट हेर्ने, पोर्नोग्राफीमा रुचि, अज्ञानतावश घरका/आफ्ना गोप्य कुराहरू फुस्काउने,फोटो सेयर गर्ने कामहरू गर्ने गरेको देखाईएको छ र निकट भविष्यमै यसले थुप्रै समस्याहरू जस्तै: बाल यौन दुराचार, अश्लील लेखन, बालबेचबिखन आदि निम्त्याउने उल्लेख छ।(CWIN Campaign on Protecting Children Online in Nepal)

हामी समाज विकासको जटिल अवस्थामा छौँ।हुन त हामीले सुन्ने गरेको यो जटिलता हिजो पनि नभएको होईन। हिजो हिजैको सन्दर्भमा थियो, सायद आजभन्दा अलि सरल थियो, आज हामीले हिजोको तुलनामा बढी अध्ययन गरेको/ हामीमा सचेतता बढेकाले पनि हिजोको सरलता देखिएको हुन सक्छ।

हिजो पढाइका लागि बत्तीको व्यवस्था,खाजा/खानामा पौष्टिकता,पुस्तक/पत्रिका/अभ्यास पुस्तिका/ लेखन र खेल सामग्रीको व्यवस्थापन,विद्यालय पठाउने वातावरण,छोरीलाई शिक्षा कि दाइजो सहितको विवाह,घरको काम सहितको अध्ययन,मजदूरी सँगसँगै शिक्षा,१६ वर्ष पछि उनीहरूको विवाहका लागि हत्तारिने, यौन शिक्षा दिनु पर्दैन उनीहरू आफैँ सिक्छन् भन्नेको बाहुल्यता, प्रजनन अधिकारबारे उपेक्षा, शिक्षा लगायत अन्य क्षेत्रमा पनि पितृसत्तात्मक परम्परा र सोच, लैङ्गिक विभेद,जातीय/साम्प्रदायिक/आर्थिक रूपमा विभेद,अस्वस्थता/रोगबारेको अज्ञानता र हेलचेक्र्याइ,शिक्षाको लगानीलाई अनावश्यक रूपमा लिईने सोच आदि केही मुद्दाहरू ( Issues) देखिँदै आएका थिए।जुन अहिले ग्रहण गर्ने हिसाबले सरल देखिन्छन्।निश्चित अध्ययन गरेपछि यस्तो यस्तो काम गर्न पाईन्छ र आर्थिक उपार्जन/ समाज सेवा/ सेवा आदि गराउन सकिन्छ र पारिवारीक जीवन चलाउन सकिन्छ भन्ने धारणा देखिन्थ्यो।अर्थात्,पारिवारीक जीवनलाई सरल रेखामा परिभाषित गर्न सकिन्थ्यो। यसको मतलब त्यतिखेर अभिभावकीय भूमिका कम हुन्थ्यो भन्नेचाहिँ होईन।

तर,आज ती पहिले देखिने समस्याहरू (केही बाहेक) ज्यूँ का त्यूँ छन्, बेरोजगारी बढ्दो छ,पढेर पनि काम नपाईने हुनाले निराशा बढ्दो छ र यी ईन्टरनेटबाट आउने समस्याहरू थपिएका छन् र अभिभावकीय जिम्मेवारी नयाँ रूप लिँदै थपिएको छ।

अब के गर्नु पर्छ त?
यस्तो अवस्थामा अभिभावकहरूको दायित्व चाहिँ निम्नानुसारको हुनुपर्छ:

१) दुई पुस्ता बीचको सोच र भावनात्मक दूरीलाई कम गर्ने।
२) अभिभावकले एउटा निश्चित दायरामा रही छोरा-छोरीसँग मित्रता कायम गर्ने ताकि अन्यत्र सोध्नु पर्ने धेरै प्रश्न अभिभावकलाई नै सोधियोस्।
३)परम्पराको तुलनामा विवेक र व्यावहारिकतालाई महत्व दिने।
४) अभिभावक र छोरा-छोरीबीचको मत भिन्नतालाई साँघुर्‍याउने।
५)लागू पदार्थ, यसका किसिम, यसबाट हुने हानीहरू बारेमा स्पष्ट गर्ने।
६)जीवन उपयोगी सीपहरू:अनुभूति, प्रभावकारी सञ्चार, अन्तर-व्यक्ति सम्बन्ध,संवेग नियन्त्रण,तनावको व्यवस्थापन,सृजनात्मक सोचाइ,समालोचनात्मक सोचाइ,निर्णय गर्ने क्षमता र समस्या समाधान आदिको प्रयोग गर्ने।
७) छोरा-छोरीलाई नयाँ नयाँ समस्या (जस्तै:समाज विकास,उत्पादन आदि)बारे छलफल/अन्तरक्रिया गर्नुहोस्, त्यस्तो समस्यालाई समाधान गर्न ईन्टरनेटको सहायता लिन सकिन्छ भनी आफूले गरेर देखाउनु होस्।त्यसको लागि आफू पनि Digital Dinosaur बाट Digital Immigrant (Digital Native भए झन् राम्रो) तिर जाने प्रयास गर्नुहोस्।
८) ईन्टरनेट सँग-सँगै घरको काम, करेसा-बारी तथा खेतको पनि काम गरी उत्पादन बढाउनु पर्छ भनी ईन्टरनेट हेर्ने समयलाई सीमित गर्नुहोस्, आफू पनि सँगै गर्नुहोस्।
९) आफू पनि अनुकरणीय व्यवहार गर्नुहोस्।जस्तै: आफू पनि मोबाईल कम चलाउनु होस्, मोबाइल चलाउने समय तोक्नुहोस्,छोरा-छोरीसँग कुरा गर्ने समय निकाल्नुहोस्, परिवारका सदस्यसँग वा छिमेकीसँग मनोरञ्जन/वार्तालाप गर्नुहोस्।
१०) अन लाईन क्लासपछि त्यसमा उठेका समस्याहरू के के छन्,तपाईं पनि संलग्न भई वा छोरा-छोरीलाई प्रेरित गरी समाधान गर्नुहोस्,अभ्यास गर्न लगाउनु होस्।
११) बच्चामा आएका परिवर्तनहरूको निरन्तर अवलोकन गर्नुहोस्,समस्या देखिएमा हल गर्नका लागि बढी समय दिनुहोस्।

(सन्दर्भ सामग्री:
जनसङ्ख्या अध्ययन स्वाध्यायन सामग्री,शिक्षा मन्त्रालय,वर्ष २६,अङ्क:४३ लगायत)

प्रतिक्रिया