कटहरिया नगर प्रमुख कुशवाहाद्वारा पुनः पदभार ग्रहण

इनेप्लिज २०७८ असार १७ गते १३:२० मा प्रकाशित

 

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले विहीवार पुनः पदभार ग्रहण गरेका छन् । एकै कार्यकालमा नगर प्रमुख कुशवाहाले तेस्रो पटक पदभार ग्रहण गरेका हुन् ।

गत असार ११ मा निर्वाचन आयोगको पत्रले पदमुक्त भएका कुशवाहा सर्वोच्च अदालतको अन्तरिम आदेशको पत्र प्राप्त भएपछि विहीवार पुनः पदभार ग्रहण गरेका हुन् । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले बुधवार पदभार ग्रहण गरेकी हुन् ।

एकै कार्यकालमा कटहरिया नगर प्रमुख कुशवाहा तेस्रोपटक पदभार ग्रहण गरेका हुन् । एकै कार्यकालमा तीनपटक पदभार ग्रहण गर्ने वर्तमान संरचनाका सम्भवतः पहिलो नगर प्रमुख कुशवाहा बन्न पुगेका छन् । यसअघि वीरगंजका काशीनाथ तिवारी हत्याकान्डमा जेल गएपछि कुशवाहालाई सर्वोच्च अदालतले उक्त घटना सफाइ दिएको थियो ।

कटहरिया नगरपालिका गठन भएपछि भएको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचन लडेका कुशवाहालाई गत वैशाखमा माओवादी केन्द्रले कारबाही गरेको थियो । कुशवाहालाई दल त्याग गरेर अर्को दलमा प्रवेश गरेको भन्दै कारबाहीको पत्र निर्वाचन आयोगमा पठाएपछि गत असार ११ मा निर्वाचन आयोगले पद रिक्त भएको सूचना सार्वजनिक गरेको थियो ।

पहिलोचोटि निर्वाचित भएपछि पदभार ग्रहण गरेका कुशवाहालाई दुईपटक सर्वोच्च अदालतले पुनर्बहाली गरेको हो ।

प्रतिक्रिया