नेप्लिज हिमालयन एसोसियसनको अधिबेसन सम्पन्न, क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

इनेप्लिज २०७८ असार १३ गते १३:०० मा प्रकाशित

बेलायत / स्कटल्यांड एबर्डिनबासी नेपालीहरूको साझा संस्था नेप्लिज हिमालयन एसोसियसनले नबीन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

शनीवार साँझ सम्पन्न अधिबेसनद्वारा सर्वसम्मत रुपमा पुनः क्षेत्रीको नेतृत्वको ११ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो। समितिको उपाध्यक्षमा संचारकर्मी डा. शिव तिवारी रहनु भएको छ भने सचिवमा डा. टंक दाहाल (मुकुल दाहाल) र कोषाध्यक्षमा डा. दिलीप उप्रेती चयन हुनु भएको छ।

त्यसैगरी, सह-सचिबमा लव सिम्खडा र सह-कोषाध्यक्षमा श्रीकृष्ण भेटवाल (कृश भेटवाल) छानिनु भएको छ। संस्थाको नयाँ कार्यसमितिका सदस्यहरुमा मुना सापकोटा, राज क्षेत्री, सगुन पौडेल, गुरु भण्डारी र शर्मिला अधिकारी चयन हुनु भएको छ। नयाँ कार्यसमितिमा अधिकांश पुरानै पदाधिकारी तथा सदस्यहरू दोहोरिनु भएको छ।संस्थाको नयाँ कार्यसमितिको कार्यकाल आगामी २ वर्षको लागी हुनेछ।

अधिवेशनमा अघिल्लो २ बर्षे कार्यकालको प्रगति विवरण र आर्थिक प्रतिवेदन (आय-ब्यय विवरण) प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथी भएको खुल्ला छलफलपछि बहुमतले पारित गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियाका लागि पूर्व अध्यक्ष डा. नारायण श्रेष्ठको समयोजकत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरी निर्बाचनको जिम्मा दिईएको थियो । समितिमा संस्थाका पूर्व अध्यक्षहरु टक थापा र मीन भट्ट तथा पूर्व सल्लाहकार अनल गौतम सदस्य रहनु भएको थियो।

नयाँ कार्य समितिको घोषणा गर्दै डा. श्रेष्ठले अत्यन्तै सौहार्दपूर्बक सर्वसम्मतिमा नयाँ समिति गठन भएकोमा खुसी व्यक्त गर्नु भयो। उहाँले नयाँ कार्यकालको लागी शुभकामना दिदै उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो।कार्यक्रममा नवनिर्बाचित अध्यक्ष क्षेत्रीले सबैलाई धन्यबाद दिदै आगामी दिनमा एबर्डिनमा बसोबास गर्ने नेपाली समुदायको हितलाई प्राथमिकतामा राखेर हरेक सामाजिक गतिबिधीमा हातेमालो गर्ने प्रतिबद्दता जनाउनु भयो।

मुकुल दाहालद्वारा संचालित नेप्लिज हिमालयन एसोसिएसन (NHAS) को अधिवेशन कार्यक्रममा पूर्व सल्लाहकारहरूको तर्फबाट तोया सापकोटाले निबर्तमान कार्यसमितिको प्रशंसा गर्दै धन्यबाद तथा नवनिर्बाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो।

अधिबेसन समाप्ति लगतै बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले निबर्तमान कार्यसमिति, निर्वाचन समिति र ऐबर्डीनबासी सम्पूर्ण नेपालीहरूलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्दै निबर्तमान पदाधिकारी तथा सदस्यहरूलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्ने निर्णय गरेको छ। NHAS कार्यसमितिको अर्को बैठक आगामी शनिवारको लागी तय गरिएको छ।

एबर्डिनमा सन २००७ स्थापित यस संस्थाले बिभिन्न सामाजिक कार्यमा सहभागिता जनाउदै आएको छ। कोभिडको यो विषम परिस्थितिमा पनि बिभिन्न संघसंस्थाहरुसंगको समन्वयनमा बेलायतमा नेपाली तथा अन्य समुदायलाई झण्डै ४५ हजार पाउण्ड बराबरको सहयोग गरेको छ भने राष्ट्रीय अनुसन्धान केन्द्र, रबी लामिछाने फ़ाउण्डेशन लगायतका संघसंस्थालाई सहयोग रकम नेपाल पठाएको छ।

त्यस्तै NRNA स्कटल्यांडमार्फत समेत नेपालीको उपचारको लागी समेत रकम उपलब्ध गराएको छ। साथै यो संस्थाले नेपाली बालबालिकाहरूलाई लक्षित गरी बिगत ८ वर्षदेखी निरन्तररूपमा नेपाली भाषाको कक्षा संचालन गर्दै आईरहेको छ भने नियमित साहित्यिक कार्यक्रमहरूको आयोजना समेत गर्ने गर्दछ

प्रतिक्रिया