२१ औ शताब्दीमा प्रबेश गरेका हामी, यो सृष्टिको विकास संगसगै मानिसहरुमा पनि असिम चेतनाको विकास भईसेकको छ। चन्द्रमा र मंगल ग्रहमा यान पठाउने कुरा त सामान्य भै सक्यो, अचेल चन्द्रमा र मंगल ग्रहमा सर्वसाधारणलाई पर्यटकको रुपमा लैजाने तयारी समेत चलिरहेको छ।
समयको माग अनुसार नेपाल र नेपाली जनताले देश बिकास संगसंगै, जनाताको हक र अधिकारको सुनिश्चित गर्दै ठुलो छलाङ मार्दै प्रजान्त्र, लोकतन्त्र हुदै गणतन्त्र देखी धर्मनिरपेक्ष सम्म आईपुगेको छ। तर यो यस्तो मोडर्न समाजमा पनि बारम्बार बिबादमा आईरहने एउटा अतिनै तुच्छ र गरिने अमानबिय व्यवहारको बिषय मध्ये एक हो । जातकै कारणले बैना गरिसकेको कोठा पनि कथित तल्लो समुदायका नागरिकले नपाउनु हो । एकछिन अघि सम्म आफू जस्तै मानिस भएको ठान्नेहरु जब उसको नामको थरको पछाडी सुनार, परियार, वा मिजार झुन्डिएको थाहा पाउछन ।
तब उनीहरुको नजरमा कुकुर भन्दा पनि तल देख्छन र सरी तपाईलाई कोठा दिन सक्दैनौ भनेर फोन गर्छन वा मेसेज गर्छन। त्यो पनि देशको राजधानी जस्तो शहरमा, जहा संसार घुमेका, पढे लेखेका र संसार बुझेका मानिसहरु बस्छन, जुन शहरको प्राय: जसो घरको १-२ जना सन्तान युरोप अमेरिका जस्तो संसारकै बिकसित र मानब अधिकार भएको देशमा बसेका छन,तिनका बाउ आमा हजुर आमाले पनि पुरै संसार घुमेर आएका छन, तिनै बर्गका मानिसहरु नै एउटा मानबले अर्को मानबलाई पशु भन्दा तल्लो व्यवहार, छुवाछूत गर्दा आफ्नो संस्कार र धर्म जोगाएको ढोंग गर्छ। त्यो भन्दा तुच्छ सोच र निच प्राणी सायदै कोही होलान यो संसारमा।
जब उनीहरु बिदेश जान्छन, बिदेशमा भेट्ने खैरै वा काले कुन जात वा धर्मको हो उनीहरुलाई मतलब हुदैन । जब उनीहरुको सन्तानले उबर ईट, ग्रु हब र डोर ड्यासबाट गोरु र गाईको पकाएको स्टेक ,बर्गर र पिज्जा बोक्दा आफ्नो धर्म र संस्कार नष्ट हुदैन। बिदेशमा गाई गोरु पाक्ने एउटै रेष्टुरेन्टमा खाना खादा उनीहरुलाई मतलब हुदैन ।
यस्तो सबै कुरा बारेर साध्य लाग्दैन भन्छन तर आफ्नै नेपाली दाजु भाई जब एउटा घरमा त्यो पनी भिन्दै चुलो र भिन्दै तलामा बस्दा यीनीहरुको देउता रिसाउछन, यीनीहरुको धर्म भ्रष्ट हुन्छ। घर भाडामा दिदा जात सोध्नेहरु, अस्पतालको शैयामा रगत लिदा किन जात सोध्दैनौ? तिमीलाई स्यार्ने नर्सको किन जात सोध्दैनौ ? आज यदि ति घरबेटी अस्पतालमा हुन्थिन र उनलाई रगत चाहिएको हुन्थ्यो र रुपा सुनार त्यहा रगत दिन जान्थिन भने त्यहा उनको जात सोधिँदैनथ्यो, तिमीले पिउने दबाई अमेरीका, युरोप, भारत वा नेपालकै कुन जातको मानिसले बनाएको हो किन सोध्दैनौ?
आफुले दु:ख गरेर बनाएको सपनाको घरमा कस्लाई बस्न दिने र कस्लाई बस्ने नदिने भन्ने अधिकार घरबेटीको हुन्छ र हुनु पनि पर्छ। बैना लिईसकेको वा मौखिक रुपमा समहमति भएर पनि कसैलाई एउटा जातकै आधार बनाएर अपमान गर्ने र तल्लो देखाउने अधिकार र छुट नेपालको संविधानले कसैलाई दिएको छैन। आजको २१ औ शताब्दीमा जातको आधारमा रंगको आधारमा, भुगोलको आधारमा, धर्मको आधारमा वा शारीरिक बनावटको आधारमा कसैलाई पनी अपमान गर्ने अधिकार छैन।
अहिले बिभिन्न सामाजिक संजालमा समाजमा पढेलेखेका र कथित बुद्दिजीबीहरुले हामीले कोटा पाएनौ, तिमीले कोठा पाएनौ ठिकै भयो भन्ने किसिमको अभिब्यक्ति आईरहेका छन।
कोटा हामीले मागेको होईन । सरकारले नै उपलब्ध गराएको हो। यो दलित कोटा हो । दलित भनेको सामाजिक, राजनितिक,आर्थिक, शैक्षिक हिसाबले पिछडिएको बर्गलाई बुझाउछ, यो बर्गमा पर्ने जो कसैले पनि यो आरक्षण पाउन पर्छ भन्ने मेरो मान्यता हो।
तर यहा बिडम्बना दलित भन्ने बित्तिकै अछुत भन्ने बुझ्छन, तिमीहरु आफै ठुलो पल्टेर दलितको परिभाषामा परेर पनि कोटा लिन जादैनौ , अनि आफै मैलै कोटा पाईन भनेर उफ्रिन्छौ? कि यसलाई नाम बदलेर अछुत कोटा भन नत्र भने दलितको परिभाषा भित्र पर्ने जुनसुकै धर्म र जातका समुदायलाई यो कोटा अनुसार लाभ लिन पाउनु पर्छ।
समाजमा पहिला भन्दा धेरै परिबर्तन भएका छन। हाम्रा धेरै छिमेकी र गैर दलित साथीहरुले समाजमा छुवाछुत र भेदभाब हटाउन धेरै सकारात्मक भुमिकाहरु खेल्नुभएको छ । यसको लागी सम्पुर्ण छुवाछुत बिरोधी साथीहरुलाई धन्यबाद दिन चाहन्छु तर समाजमा घटने रुपा सुनार माथी घटेको घटनाहरुले ती साथीहरुले गरेको सकारात्मक प्रयासमा पानि हालिदिने काम गर्दछ। त्यसैले यो छुवाछूत भनेको सयौ बर्ष देखी तपाईको सुन्दर घर अगाडी फालिएको दुर्गन्धित फोहोरको थुप्रो हो। यो दुर्गन्धलाई “सुगन्ध “ नामाकरण गर्दैमा सुगन्ध आउदैन, त्यो फोहोरको पोकै डम्पिङ साईटमा लगेर फाल्नु पर्छ।
रुपा सुनार संचार कर्मी र मिडियामा पहुच भएकी भएर यो घटना बाहिर आयो ।यस्ले ठुलो रुप लियो, प्रहरीले पनि उजुरी लिन बाध्य भयो नत्र यस्तो घटना टोलमा फासफुस भएर जान्छन । रुपा सुनार माथि घटेको घचना त समाजमा दिनहु घटिरहने घटनाको प्रतिबिम्ब मात्रै हुन यस्ता घटना समाजमा सयौ घटिरहेका हुन्छन ।
उनीहरु रुपा जत्तिको मिडीयामा पहुच भएका हुदैनन । रुपा जत्तिको आवाज बुलन्द पार्ने शक्ति उनीहरुमा हुदैन, उनीहरुको आवाज सुनिदिने कोही हुदैन। त्यसैले समाजमै दबिएर बिलाएर जान्छ।
यो घटानालाई बाहिर ल्याएर सुतेझै गरेर स्वाङ पारिरहेको समाजलाई झकझकाउने कार्य गरेकोमा रुपा सुनारलाई र यो कुप्रथाको बिरोध गर्ने सम्पुर्ण महान ब्यक्तिहरुलाई हृदय देखीनै धन्यबाद दिन चाहन्छु ।
नबिन बिक /Navin Bk एनाआरएनए केन्द्रिय सदस्य, चीन [email protected]
प्रतिक्रिया