सोमबार, जेठ ९ २०७९
काठमाडौं १४:४१
वासिङटन डिसी 04:56

गीत (सासू-बुहारी)

दुर्गा लोहनी २०७८ असार ६ गते १८:२० मा प्रकाशित

बुहारी : आज मलाई यी बुढीले झन्डै पिटिन् बुढा!
सासू : आज मलाई बुहारीले गर्नु गरि छोरा!

सासू : काम काज केही छैन दिनभरि बस्छे
बाह्र ठाउँमा मुख बङ्ग्याई किरिम पाउडर घस्छे
बुहारी : सबै काम एक्लै गर्छु मेरै मात्र भर
बसेको त देख्नै हुन्न कस्तो पर्‍यो घर ?

बुहारी: अब मलाई यो घरबाट छुट्टै राख बुढा !
सासू: यो बुहारी अलच्छिनी बुझिराख छ‍ोरा!

बुहारी: आफुले नि कस्त‍ो गर्‍यौ मलाई पनि था’छ!
मेरै कुरा काटी हिंड्ने काँ जाउँ जस्तो भा’छ!!
सासू: जा! जा!! तँ त गएदेखि खाली हुन्थ्यो घर!
खुट्टा भए जुत्ता कति मलाई के को डर!?

बुहारी: सुन्यौ बुढा! तिमीले नि यिनका जाली कुरा?
सासू : भुईंमा कुरा खस्नै हुन्न यस्को मुख छुरा!

छोरा: एउटी परिन् प्राण प्यारी अर्की जन्म दाता!
रातदिनको झगडाले कता लागूँ म त!??

-दुर्गा लोहनी

प्रतिक्रिया