मैले देखेका बुबाहरू

शशी के.सी २०७८ असार ६ गते ९:५८ मा प्रकाशित

आज अमेरिकाको ‘बुबाको मुख हेर्ने दिन/ फादर्स डे’ नेपालमा प्रत्येक बर्ष ‘कुशे औंसीमा बुबाको मुख हेर्ने दिन’ भनेर मनाए जस्तै, अमेरिका, क्यानडामा जुन महिनाको तेस्रो आईतबार लाई ‘ फादर्स डे’ भनेर मनाइन्छ। नर्थ अमेरिकामा’ पहिलो‘फार्दस डे’ सन् १९१० जुन १९ मा वासिंगटन स्टेटको स्पोकेनमा मनाइएको देखिन्छ र यसको शुरूवातको श्रेय,’सोनोरा स्मार्ट डथ’नामक महिलालाई जान्छ। अनि सन् १९७२ मा राष्ट्रपति निक्सनले राष्ट्रिय पर्वको रूपमा प्रत्येक बर्षको जुनको तेस्रो आईतबार ‘ फार्दर डे’ मनाउने घोषणा गरे।

नेपालमा जस्तै, अमेरिकामा पनि आफ्नो बुबालाई मिठो मिठो खुवाएर, राम्रो गिफ्टहरू दिएर र भेट्न, घुम्न गएर मनाइन्छ फार्दस डे। प्रिस्कुल, स्कुल पढ्ने साना नानीहरूले आफै कार्ड बनाएर दिन्छन्। तेस्तै यो बेला सपिंग मल तिर, अनलाइन सपिंग स्टोर तिर लुगा, जुत्ता, पर्फ्युम, खेलकुदका सामान, बारबिक्यु ग्रिल, घर मर्मत गर्ने सामान बेच्ने आदी स्टोरमा सेल/ छुट पनि लाग्छ।

अमेरिकन बुबाहरू

अमेरिका आएको शुरूको बर्ष, सानो तिन बर्षको छोरालाई प्रिस्कुल राखेर काम खोज्न थाले। आउने साथ न आफ्नो गाडी नै थियो, न चलाउन जान्नु र बस पनि त्यति सजिलो जता ततै नपुग्ने। बरू छोरा पढ्न जाने स्कुलमा टिचर चाहिएको रहेछ। त्यही काम गर्न थालें। छोराको क्लासमा चाहीॅं काम गर्न दिएनन्। जे भएपनि छोरालाई बेला बेलामा देख्दा ढुक्क पनि लाग्थ्यो।

युनिभर्सिटीले चलाएको प्रिस्कुल हुनाले, त्यही कलेजका बिध्यार्थी र प्रोफेसरका केटाकेटीहरू आउॅंथे।मेरो काम ३ महिना देखि २ बर्षको बच्चाहरूको रूममा थियो।

एकदिन एउटा बच्चाको आमा लिन आएको थिइन। मैले बच्चाको डायपर सकिएको नोट तिम्रो हजबेन्डलाई दिएको थिॅंए, खै त डायपर ल्याएको भनेर सोधें। उसले हाॅंसेर “उ त मेरो हजबेन्ड ( श्रीमान) हैन, हामीले बिबाह गरेको छैन अहिले सम्म भनिन” मत तिन छक्क परें। १९ बर्ष अगाडी, भरखर नेपालबाट अमेरिका आएको केही महिना मात्र भएको, के थाहाअमेरिकी समाजमा बिबाह नगरि सॅंगै बस्ने र बच्चा पनि जन्मिदाॅं सजिलै लिन्छन् भन्ने। जे होस् बुबा आमा दुबै कलेज पढ्थे, त्यो बच्चालाई माया चाहीॅं बराबरै गर्थे।

दोस्रो, एउटा तिन महिनाको नानी आउथिन्।उसको बुबा चाही केमिष्टि पढाउने प्रोफेसर, हेर्दै साइन्टिस जस्तो लाग्ने। उ नै प्राय: पुर्याउन/ लिन आउने, आमा कहिलेकाहीॅ मात्र। गज्जबको जिन्दगी बच्चाहरूको यो देशमा, स्कुल बिहान ७ बजे खुल्ने र बेलुका ६ बजे बन्द हुन्थ्यो । त्यो नानी बिहान ७:१५ मा बुबाले छोड्ने र बेलुका ५:४५ बजे लिन आउने। सॅंधै पहिलो रअन्तिम नानी उनी हुने। बुबाले कहिल्यै सोधेनन् छोरी के गर्छे दिनभर भनेर। बरू हामी नै लामो लामो नोट लेखेर, उसको छोरीले खाएको, बामे सरेको, पहिलो स्टेप हिॅंडेको आदी राखिदिन्थ्यौं। खै घर गएर पढ्थे त होलान्।

तेस्रो, एक बर्षको बच्चीको बुबा चाहीॅं असाध्य छोरी सॅंग लगाव भएको। उ जर्मनीबाट आएको र श्रीमती चाहीॅं चिनबाटआएको। कलेज सॅंगै पढ्दा पढ्दै बिबाह गरेका रहेछन्, दुबै प्रोफेसर। एकबर्षसम्म त चिन बाट सासु ससुरा आएर नातिनी हेरिदिएको रहेछ। शुरू शुरूमा त बच्ची रूने धेरै बुबा आमाले छोडेर जाॅंदा। बुबा बिचरा छोरीको मायाले आउने हेर्न बेला बेलामा, आफै जर्मनी भाषाको लोरी सुनाएर काखमा राखेर सुताउने, खेल्ने।

यसरी दुई बर्ष त्यहाॅं काम गर्दा थरीथरीको बुबा भेटियो।त्यसपछि अरू राज्य सरियो। बिस्तारै अमेरिकी समाज बुझ्न पनि थालियो। साथीहरू पनि थरी थरीका र काम पनि। एक जना सॅंगै काम गर्ने साथी थिइन भरखर हाईस्कुल सकेकी। मदर्स डे मा त आमालाई के के गिफ्ट किन्ने खुशी भएर, फादर्स डे लाई त ‘आई हेट दिस डे/ मलाई मन पर्दैन’ भन्ने । किन त्यसो भनेर सोधेको त, बिचरीलाई उकुस मुकुस रहेछ, कसलाई भनुॅं पिडा भनेर, भन्न थाली। उस सहित तिनजना सन्तान उसकोआमाका, तर सबैको बुबा बेग्ला बेग्लै, आमा ‘सिंगल मदर’। उ आमा हाईस्कुल पढ्दा जन्मेकी रहिछ। स्कुल सकियो, बुबा कता, आमा कता पुगे। बुबा को हो पनि थाहा रहेनछ र कहिले केही आमालाई सहयोग पनि गरेनछ। बिचरी सॅंधै अभाबमा हुर्केकी, न बुबाको माया पाउनु, रिस त पक्कै उठ्दो होला।

अर्को काम गर्दा, एक भर्खर हाईस्कुल सकेकी २ बर्षको छोराको आमासंगै काम गर्थिन् । उसको कहानी, अपार्टमेन्टमा छोराको ‘बुबा’ ब्याईफ्रेण्डसंग बस्दिरहिछ। एकदिन मुखभरि निलडाम लिएर आईन।के भो तॅंलाई भनेको, ब्याईफ्रेण्ड सॅंग झगडा भयो, मत आजकल आफ्नै बुबा आमाको घरमा सरें भनी। छुट्टिए पनि काममा पछिसम्म बेलाबेलामा त्यो पुरानो ब्याडफ्रेण्ड छोरालाई खेलौना, खानेकुरा आदी दिन आउॅंथ्यो।

नेपाली बुबाहरू

नेपाली बुबाहरूको गाथा हाम्रा जिजु बुबा, हजुर बुबाको पुस्ता देखि शुरू गर्छु। नेपालमा भन्छन् नी ‘खुट्टा भए जुत्ता कति कति’ तेस्तै अवस्था थियो उहिल्यै। बुबा एक तर आमाहरू धेरै हुने प्राय:को घरमा। अलिक हुने खाने परिवार छ भने त बुढालाई पनि आफ्ना साना बच्ची बिबाह गरेर दिने चलन। त्यो बेला घरमा धेरै आमाहरूबाट ग्याल ग्यालती सन्तानहरू, कताको बुबाको माया पाउनु, उस्तै परे कति बुबाहरूले आफ्नै सन्तान नचिन्ने होलान्। यसरी हुलमुलमै हाम्रा बुबाआमा पुस्ता हुर्कनु भयो। केही भाग्यमानी बुबाहरूले साथै आमाहरूले पढाई लेखाई गर्न पाउनु भयो।

त्यस पछि हाम्रो बुबाहरूको पुस्ताको कुरा गर्दा, प्राय: हामी सबैको बुबाहरू हेर्दा असाध्य कडा, कठोर, अनुशासित। बोल्न पनि डरै लाग्ने। खै मैले कोही बुबाहरू देखिन केटाकेटीहरू सॅंग रमाइलो गरेर हाॅंसेर बोलेको सानो हुॅंदा। ओहो, अहिले बरू हामी पनि उमेर बढ्दै गयौं, उॅंहाहरू झन् बुढेशकालतिर, हल्का फुल्का कुरा गरेर हाॅंसिन्छ। त्यो बेला त केही चाहिए पनि मम्मीलाई भन्ने, अनि मम्मीहरूले बुबाहरूलाई ।

प्राय: सबैका बुबाहरू सरकारी जागिरे, बिदेशी लाहुरे, खेती किसान गर्ने र केही आफ्नो व्यापार व्यवसाय र केही राजनिति गर्ने। तर जे सुकै पेशा गरे पनि सबैमा आफ्ना सन्तानलाई पढाउनु पर्छ भन्ने चेतना चाहीॅं निक्कै भएको। आफ्ना रहर सबै मारेर भए पनि छोरा छोरीलाई सकेजति पढाएकै हुन्। एउटा साथीले भनेको अझै याद आउॅंछ। टि.भी किन्न सक्ने हैसियत भएर पनि केटा केटी नपढ्लान् भनेर एस. एल.सी नसकुन्जेल नकिनेको रे। जुन साथी अहिले डाक्टर छिन्।

अनि अर्को कुरा, त्यो बेला प्राय: सबै बाबु आमाहरूको आफ्ना सन्तान डाक्टर, इन्जिनियर बनुन् भन्ने रहर र चाहना। सबै त बन्न के सम्भव र ? जो जो बने सबै जस्ले स्कलरसिपमा नै नेपाल र बिदेश गएर पढे। हामी एक किसिमले भाग्यमानी पुस्ता नै रहेछौं, अहिले सोच्दा। त्यो बेला जो सुकै होस, राम्रो नंबर ल्याएको छ भने स्कलरसिपमा पढ्ने मौका पाउॅंथे। अहिले त पहुॅंच हुने बाहेक अरूले त पत्तो पनि पाउॅंदैनन्, कहिले र कता निक्लेको छ स्कलरसिप।

तेस्तै कति त योग्य भए पनि स्कलरसिप नमिलेर नेपालमा मास्टर्स सम्मको पढाई सकेर, अनि स्कलरसिपमा बिदेशमा अरू पढाई पि. एचडी, मास्टर्स आदी गरेर कोही बिदेशमै बसेका र कोही नेपाल फर्केर राम्रो इलम गरिरहेका छन्।

अहिले फर्केर हेर्दा, सायद केटा केटीहरू लाई बाहिरबाट कडा जस्तो, अनुशासित किसिमले राख्यो भने मात्र पढ्छन्, बिग्रिदैनन्, गरिखान्छन् भन्ने होला तेसो गरेको। हाम्रो बुबाहरूको आफ्नै स्टाइलको प्यारेन्टिगं। भित्र भित्र त माया गर्थे नै ।हुन त उॅंहाहरूले तेती गर्नाले त सबै गरिखान सक्ने भएका छौं।

अब हाम्रो केटाकेटीको बुबाहरूको कुरा गर्दा, अघिल्ला पुस्ताहरू भन्दा त धेरै परिवर्तन भएका छन्। जति व्यस्त भएपनि छुट्टी मिलाएर परिवार सबै घुम्न जाने, केटाकेटीको स्कुल, कलेजको कार्यक्रममा जाने। केटा केटीहरू सॅंग साथी जस्तो व्यवहार गर्ने। तर अर्कोतिर अब त आफै गर्न सक्छन् भनेर ढुक्क हुन सक्दैनन्, पुराना पुस्ताले जस्तै।

नेपाली बुबाहरू प्राय:को मिजास किन अलिक कडा, सॅंधै सबै आफै गर्न खोज्ने आदी, सोच्दा। हाम्रो नेपाली समाज अझै “पृतिसत्तात्मक समाज” नै छ। छोरी/ महिलालाई न अंशमा हक छ न वंशमा नै । केही नयाॅं कानुन त बनेको छ तर हालत उस्तै छ। तेस्तै अझै पनि छोरीलाई सानैदेखि बिबाह गरेर अर्काको घर जाने जात र छोराले घर सम्हाल्ने, परिवार हेर्ने, कमाउने साथै पैत्रिक सम्पत्तिको हकदार भन्ने चलन छ। यस्तो मानसिकतामा हुर्केको छोरा मान्छे, आफुलाई सॅंधै ठुलो र जिम्मेवार ठान्ने नै भए। तर गारो पनि छ जिम्मेवारी लिन र पुरा गर्न।

अहिले बुबाहरूको समस्या के भने, एकातिर आफुले अनेक दु:ख गरेर पढेको हुनाले, आफ्नो करियरलाई पनि उन्नति गर्दै माथि पुग्नुछ। अर्कोतिर बुढेश कालतिर पुगेका बुबाआमाको जिम्मेवारी छ। साथै सन्तान पुस्ताहरूलाई पनि अहिलेको कम्पिटिसनको बजारको लागि योग्य बनाउनु छ।

नेपाल होस् वा बिदेशतिर, केटाकेटीको शिक्षाको लागि ठुलो खर्च छ। नेपालमा स्कुल असाध्य महंगो, बच्चालाई राम्रो स्कुल नपढाए हत्तपत्त राम्रो कलेज वा मेडिकल, नर्सीगं स्कुल वा बिदेश उच्च शिक्षा पढ्न पठाउने अवसर नपाईने डर छ।धन्न आमाबुबा दुबै कमाउने छन् कति घरमा र खर्च धान्न सकिरहेछन्।

फेरी हामी जस्तो हो र अहिलेको पुस्ता । हामीले त बुबाआमाले नसक्ने देख्दा चित्त बुझाएर आफै अनेक गरेर उन्नति गर्र्यौं।अहिलेको पुस्ता, उनीहरूलाई जसरी पनि ठुलो बन्नुछ, बिदेशै गएर शिक्षा लिनुछ, भनेको कुरा जसरी पनि पुरा गर्नुछ।

हुनत हाम्रो पुस्ताको पनि कता कता गल्ती देख्छु उनीहरूलाई यस्तो बनाउनुमा। हामी आफु दु:ख, अभाबमा, सबै कुरा मागे जस्तो बुबाआमाले चाहेर पनि पुर्र्याउन नसक्ने (त्योबेला सबैको हालत त्यही थियो) अवस्थामा हुर्केको भएर होला, सन्तानलाई सबै पुर्र्याइ दिन्छौं, दु:ख देखाएनौ, वा दु:ख लुकाउॅंछौं। त्यस्तै हामी उनीहरूले, आफुले बिदेशतिर पढ्दा पैसाकोअभावमा अनेक काम गरेको जस्तो दु:ख नगरून भन्ने चाहान्छौं।

नेपाली बुबाहरूको कुरा गर्दा अर्को समुह जो कठिन परिश्रम, मेहेनत गर्ने, मजदुरी गर्ने, भारी बोक्ने, बिदेश तिर गएर काम गर्ने बुबाहरू पनि धेरै छन्। उॅंहाहरूको कारणले सन्तान शिक्षित, सुखी हुन पाएका छन्।

आमाको गाथा सबैले लेखे, बुबा सॅंधै ओझेलमा परे। खासमा सन्तानको लागि बुबा आड,भरोसा र हिम्मतको प्रतिक हो।

केही हरफ बा कविता: नीरा शर्माबाट

“बा त हाम्रो अँधेरो मेटाउन मैन झैँ जलिरहे

हाम्रा खुसी समेट्न मोनो रेल झैँ चलिरहे

जिन्दगी भर कुदिरहे, कुदिरहे

थाकेर सुइय नगरी सँधै एक्लै कुदिरहे”

अन्त्यमा, सबै बुबाहरूलाई ‘फादर्स डेको’ शुभकामना !!

-शशी के.सी

यो लेख पुन प्रकाशित गरिएको हो !

शशी के.सी

लेखिका

प्रतिक्रिया