ह्याप्पी फादर्सडे २०२१

सुरेन उप्रेती २०७८ असार ५ गते १०:०६ मा प्रकाशित

 

हामी नेपालीहरू कुशेऔँसीलाई Father’s Day यानेकी बुवाको मुख हेर्ने दिनका रूपमा मनाउँछौँ। यो बुबाहरूको दिन मनाउँने प्रचलन आज विश्वभरी नै फैलिएको छ।कती देशहरूले त बुबाहरूको दिनमा राष्ट्रिय बिदा समेत दिने गरेका छन।अमेरिका लगायत पश्चिमी दुनियाँमा फादर्स डेको इतिहाँस लगभग शताब्दी मात्र नाघेको पाइन्छ।तर नेपालमा यसको ईतिहाँस हजारौँ बर्ष भएको पाइन्छ।भलै प्रचार प्रसारको अभावमा आजको जस्तो सर्वव्यापी हुनसकेको थिएन।ब्यवहारिक रूपमा जीवित बुबाहरूको सम्मान गर्ने र प्रसंशा गर्ने काम पनि भएन होला।बहुसंख्यक नेपालीहरू सँग एक पेट मिठो मसिनो खुवाउन सक्ने हैसियत पनि नभएको वास्तविकता छ।यस्तो अवस्थामा भिन्न परिकार पहिरन र उपहारको कल्पना पनि चन्द्रमाको यात्रा तय गर्नु भन्दा सहज छैन। पेटभरी खानलाई दसैं कुर्नु पर्ने नियति खेपेकाहरूमा यो बुबाको मुखहेर्ने दिनले पनि ओठलोप्र्याएर कुटिल व्यङ्ग्य गरेको अनुभूति हुन्छ।

सनातन धर्म परंम्परा अनुसार दिवंगत बुबाहरूलाई पिंण्ड र पानी चढाउँने कामको शुरूवात कुशेऔँसीबाट भयो।पूजाआजा गर्ने, दानदक्षिणा तथा तर्पण गरी सबै दिवंगत बाहरू र पितृहरूलाई सम्झने परंपरा शुरूभएको पाइन्छ।

कुशे औँसीका बारेमा बिभिन्न किँबदन्तिहरू पाइन्छन्।भगवान बिष्णुले पृथ्विको उद्धारका लागि हिरण्याक्ष दैंत्यलाई बध गर्न बराह अवतार लिनु भयो।हिरण्याक्ष सँगको युद्ध पश्चात विष्णु भगवान थकाई मेट्न नदीतटमा गएर आराम गर्नु भयो।आराम गर्दा झरेका रौंहरू नै काँस र कुश भएर उम्रिएको हो।भगवान बराहबाट कुशको उत्पत्ती भएको हो भन्ने धार्मिक ग्रन्थहरूमा पाइन्छ।त्यस्तै गरी जालन्धरकी पत्नी वृन्दालाई बिष्णुले छलगरेर सतित्वहरण गरे।वृन्दाले वास्तविकताको बोध पछी बिष्णुलाई श्राप दिइन।बिष्णुले बृक्ष,चटान, घाँस, र झारहुनु भन्ने श्राप पाए।यसैले पिपल,शालिग्राम,तुलसी,र कुशलाई बिष्णुकै प्रतिकका रूपमा मानिन्छ।

यसरी बिभिन्न प्रसंगबाट कुशको महत्व अधिक रहेको पाइन्छ।त्यसैबेला देखि कुशलाई बिविध यज्ञादिमा पाठपूजा र धार्मिक प्रयोजनमा प्रयोग गर्न थालियो।कुशासनमा बस्ने,कुशादण्ड लिएर,कुशको पवित्रलगाएरध्यानादी गर्ने चलन चल्यो।हरेक धार्मिक कार्यमा कुशको प्रयोग गर्न थालियो।धार्मिक कार्यमा कर्ताले दाहिने हातको औँलामा कुशको औँठी ग्रहण गर्दा सबै कार्यलाई शुद्ध बनाउछ भन्ने मान्यता छ।कुश एउटा यस्तो घाँस हो जसलाई बैज्ञानिकहरूले Eragrostis cynosuroides भन्दछन्। यो धारिलो घाँस नेपालको तराई देखि पहाड सम्म सजिलै प्राप्त गर्न सकिन्छ।कुशका जराबाट बिभिन्न प्रकारका औषधीहरू पनि बनाइन्छ। बैज्ञानिकहरूले कुशको प्रयोगबाट विकिरणहरूलाई परिवर्तन गराउँन सकिन्छ

मन्ने पत्ता लगाएका छन्।कुशलाई कुशेऔँसीका दिनमात्र संकलन गरी घरघरमा राख्ने चलन छ।अरू दिन ल्याएको कुशलाई शुद्ध मानिदैन।कुश संकलन गर्ने औँसी नै कुशे औँसी हो।जसलाई बुबाको मुखहेर्ने दिन पनि भनिन्छ।

सत्ययुगमा एकपटक शिवजी हराउँनु भएछ।ब्रम्हा,बिष्णु,इन्द्र भएर चारै तिर शिवजीलाई खोजे।धेरै समयको खोजी पछी शिवजीलाई श्लेष्मान्तक बनमा सुनौलो मृगको रूपमा फेलापारेछन्।तीनै जनाले घेराहालेर मृगलाई समात्न प्रयास गरे ।अरू सबै मृग बेपत्ता भए।सबैले मृगका सिङमा समाते।सबैका हातमा सिंङमात्र आयो।शिवजी अलप हुनु भयो।त्यसबेला आकाशवाणी भयो।सबैलोकमा लगेर स्थापना गरे तीनै लोकमा कल्याण हुनेछ।त्यस पछी बिष्णुले बैकुण्ठमा इन्द्रले श्वर्गमा र ब्रम्हाले मर्त्यलोक पृथ्विमा स्थापना गरे।ब्रम्हाजीले गोकर्णमा स्थापना गरेको हुनाले गोकर्णेश्वर महादेव भनिएको हो।यो कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ।त्यस्तै अर्को किंबदन्ति अनुसार एक जना व्यापारीले आफ्ना पिताको सम्झनामा गोकर्णेश्वरमा पिण्डदान गर्न गएछन्।पिण्डदान गर्ने वेलामा त धेरै पितृहरू आएछन।छोरालाई उसको बुवा चिन्न गाह्रो परेछ।

त्यसैबेला ब्रम्हाजी प्रकट भएर उसको बुबा चिनाइ दिएछन।छोराले बाबुका हातमा पिण्ड राखिदिए।पिताले पिण्ड ग्रहण गरेर छोरालाई आशिर्वाद दिएछन।बुबाको आशिर्वाद पाएर छोरा पनि धनसम्पति र मान सम्मानले प्रशिद्धि पाएछन्।त्यो दिन भाद्र कृष्णपक्षको अमावश्या कुशे औँसी अथवा पितृ औँसीको दिन रहेछ।त्यसैबेला देखि गोकर्णको उत्तरबाहिनी र वाग्मतीको दोभानमा स्नान गर्नेको भेला हुन थाल्यो।बराह्क्षेत्र र विष्णुपादुकामा पनि मानिसहरू भेलाभएर पितृतर्पण गर्न शुरूभयो।आज क्रमश बढ्दैगएर मेलाकै रूपमा मानिसहरू भेलाभएर पितृलाई सम्मान, सम्झना र आराधना गर्ने गर्दछन्।

संसारका बिभिन्न देशहरू जस्तै अमेरिका,क्यानडा,बेलायत,फ्रान्स,ग्रिस,आयरलेण्ड,मेक्सिको,भारत,पाकिस्तान,सिंगापुर,अर्जेन्टिना,दक्षिण अफ्रिका र भेनेज्वएला आदि देशहओमा जून महिनाको तेश्रो आइतवारलाई फादर्सडेका रूपमा मनाउने गर्दछन्।न्यूजिलेण्ड र अस्ट्रेलियामा भने सेप्टेम्वर महिनाको पहिलो आइतवारमा फादर्सडे मनाउने चलनछ।त्यस्तै गरी थाइलेण्डमा त्यहाँका राजाको जन्म दिवसलाई नै बाबुहरूको दिनका रूपमा मनाउने गर्दछन्।ब्राजिलयनहरूले अगष्टको दोश्रो आईतबारमा फादर्सडे मनाउने गर्दछन्।त्यस्तै गरी ताइवानमा अगष्टको आठमा मनाइन्छ।फिलिपिन्समा भने डिसेम्वरको पहिलो सोमबार फादर्सडे मनाइन्छ।यसरी संसारका धेरै देशहरूमा आआफ्नै दिनमा फादर्सडे मनाउने चलन छ ती देशहरूको फादर्सडे मनाउने गरेको इतिहाँस भने भर्खरैमात्र सताब्दीलाई नाघेको पाइन्छ।संयुक्तराज्य अमेरिकाको पश्चिम भर्जिनियामा सन १९०८ मा कोइला खानीमा बिष्फोटन हुँदा ३६२जना श्रमिकहरूको मत्यु भयो।

ती मृतकहरूको सम्झना र सम्मानमा पश्चिमी भर्जिनियन चर्चले कार्यक्रमको आयोजना गर्यो।त्यसको अर्को बर्ष सन १९०९मा वाशिङटन निवासी सोनोरा स्मार्ट डोड नाम गरेकी युवतीले पिताहरूको सम्मान गर्ने सोच ल्याइन।उनीहरू सानै हुँदा आमाको निधन भएको थियो।उनीहरूका बाबुविलियमले छजना छोराछोरीलाई एक्लै पालनपोषण गरेर हुर्काए।।बुबाले विवाह नगरी एक्लै बसेर हुर्काएकोमा सोनोरा अनुगृहीत भइन।उनले आफ्ना पिता विलियमलाई ह्रृदय देखिनै धन्यवाद दिन चाहिन्।सोनोराले बुबाहरूको सम्मान गर्ने अभियान शुरू गरिन।त्यसको ठिक अर्को बर्ष १९१०को जुन महिनाको तेश्रो आइतवारलाई बाबु दिवसको रूपमा मनाउन थालियो उनी स्थानिय चर्चमा गएर YMCA (young men church Association)मा कुरा गरीन।स्थानिय अधिकारीहरूले उनको कुरा उचित ठहराए ।१९१६ देखि वासिंटन राज्यले बाबुहरूको दिन घोषणा गर्यो।त्यसको ठिक ५६ बर्ष पछी १९७२मा राष्ट्रपति उड्रो विल्सनलेराष्ट्रिय पर्वका रूपमा मनाउने र सो दिनलाई विदा दिने निर्णय गरे।।हरेक वालवालिकाहरूले उनीहरूका बुबालाई मिठा खानेकुरा र फूलका गुच्छा तथा उपहारहरू दिएर बुबाको दिन मनाउन थाले।यो थालनिले विश्वव्यापी करण हुँदैअरू धेरै देशहरूमा पनि पुग्यो।रोमन क्याथोलिकहरूले फादर्सडेलाई सेण्ट जोसेफडेका रूपमा मनाउने गर्दछन्।

यसरी संसारका धेरै देशहरूले फादर्सडे मनाउन थालेको सय बर्ष नाघ्दै गर्दा हामी सँग हजारौँ बर्षको इतिहाँस छ। परापूर्वकाल देखि बुबाको मुख हेर्ने दिनलाई मनाउँदै आएकाछौँ।मातृ देवोभव,पितृ देवोभव, गुरू देवोभव,भन्ने वैद्धिक श्लोकको उचारण गर्दै हाम्रो संस्कृति हुर्किएको हो।पिताको वचनलाई शीरोधार्य गर्दै पालना गर्ने हाम्रो संस्कृति हो।आदर्श पुरूष भगवान रामचन्द्रले पिताको वचनलाई शिरोधार्य गर्दै चौधबर्ष बनवास गएका थिए।पिता भनेको परिवारको मेरूदण्ड हो।पिता भनेको

भगवान बिष्णु झैँ पालन कर्ता हुन।जस्तै आपदविपदमा पनि धैर्यताको बाँध बनेर परिवारलाई बचाउँछन्।कहिले सन्तानको सुखका नीम्ति बन्दुक,तोप,गोला र बारूद सँग भिड्ने आँट गर्छन्। कहिले आफुलाई थाहा नै नभएको ठाउँमा गएर जंगली हात्ती र बाघ जस्ता हिंस्रक जनवारहरू संग भिड्छन।औलो संग लड्छन् जंगल फँडानी गरेर बस्ती बसाउँछन्।कहिले मध्यपूर्वको बालुवाका देशमा होमिन्छन्।भाषा मिल्दैन संस्कार र संस्कृति मिल्दैन।तातो हाँडीको मकै जस्तै भएर भुटिन्छन्।पेलिएको उखुको खोष्टा जस्तै भएर निचोरिन्छन्।कठोर वचन र यातनाहरूलाई त बहिरो जस्तै बनेर नसुनेको अभिनय गर्छन।मेशिन जस्तै भएर काम गर्छन।अनि पनि आफ्नो लक्षबाट विचलित हुँदैनन्।मात्र छोराछोरी भनेर।मात्र सन्तानको भविष्य सोचेर।ती बुबाहरूको सपना केही ठूलो हुँदैन।सन्तान अशल र गुणी बनोस्।ठूलो मानिस बनोस्।प्रशिद्धि कमाओस।

आफुले झैँकठोर परिस्थितिको सामना गर्नु नपरोस्।यस्ता मार्गप्रदर्शक सुभचिन्तक भगवानकै अंश हुन बुबाहरू। आफु मैनबत्तीझैँ जलेर सन्तानका लागि,परिवारका लागि समाज र राष्ट्रका लागि उज्यालो छर्छन्।अरूलाई उज्यालो छर्दाछर्दै सिद्धिने ती समर्पित मैनबत्तीहरूलाई हार्दिक नमन चढाएँ। ३६५ दिनमा एक दिन मिठो खाना दिएर,एक दिन राम्रो लगाउन दिएर मात्र सम्मान गरेको ठान्नु हुँदैन।आफ्नो कर्तव्य पुरा भएको ठान्नु हुँदैन।मातापिता भनेका देवताहरू हुन।सृष्टीकर्ता हुन।पालन कर्ता हुन।

भगवानलाई दैनिक पूजा गर्नु पर्छ।सदैब पूज्य छन्।जीवित देवताको आदर गरौँ। सम्मान गरौँ र सेवा गरौँ।

-सुरेन उप्रेती अटवा क्यानडा

ह्याप्पीफादर्सडे २०२१ ।

सुरेन उप्रेती

साहित्यकार/कवि

प्रतिक्रिया