जूममा हराएकी उनि

रामप्रसाद खनाल २०७८ असार ३ गते ९:५१ मा प्रकाशित

जूमको मिटिंग चलिरहेकै बेला उनि जुरुक्क उठेर क्यामरा बाट हराईन।क्यामराले खाली भित्तो मात्रै देखाई रह्यो।

सोचें,काम परे होला, आखिर मिटिंग सुरु पनि त भाको छैन।खोई, मनमा पनि के के आउछन आउछन। कहिल्यै नभेटी उनि छिटो छिटो आएर क्यामराबाट कहिले नहराए हुन्थ्यो जस्तो लाग्यो।सोचे जस्तै केहि समय पछि उनि फर्किईन,जूम फेरी रमाइलो लाग्न थाल्यो।

हेइत्तेरि,काम कुरो एकातिर,कुम्लो बोको ठिमीतिर पो भयो।कुरा थियो अर्कै – बर्णन गरिराछु अर्कै। सायद मन भनेको यस्तै त होला।

अँ,अब काम कुरो तिर एकछिन गफ गरौ न।जूममा भएका सय जना भन्दा बढी मान्छेहरु संसारबाट झुम्मिएका थिए भन्दा फरक नपर्ला।कुरो थियो,कसरि आफु सम्बृद्ध बन्ने अनि कसरि समाजलाई सम्बृद्ध बनाउने जस्ता कुरा।यसो सोचें- होइन यो कुरा कुनै नौलो कुरै होइन,पैसा कमाउन सबैले जानेकै छन्,जागिर खान सबैलाई थाहा नै छ,त्यो कुरा पनि भनि रहनु पर्ने वा सिकाई रहनु पर्ने कुरा हो र जसो लाग्यो। त्यै पनि जीवन विज्ञानको हावा अहिले यसरी चलेको छ नेपालमा, जसरि रामदेवको बेजोड हावाले विश्व हल्लाई दिएको छ।त्यहि जीवन विज्ञानको हावा महसुस गर्न मलाई एकजना सहपाठी मित्रले अनुरोध गर्नु भो। लौ त नि भनेर लागें।

यसो सोचें,बेला बेलामा देखा परिरहने गुरुहरुबाट त जिन्दगीमा कति सुनियो,कति।तर आफु त जस्ताको तस्तै।गुरुजीहरुको कुरा गरि रहदा टाउको हल्लायो,के के न बुझे जस्तो गर्यो,गुरु गए पछि चिल्लै।यस्तो चिल्लाराम त कति भैयो,भैयो।त्यसैले होला,मैले जिन्दगीमा उन्नति गर्न पनि नसकेको भन्ने लाग्छ कहिले काही।

होइन,यो मन भन्ने चिज पनि कस्तो हो- एक ठाउमा पटक्कै नबस्ने बा।मिटिंग चलि रछ,आफुलाई चाही “भोलि काममा जानु छ,आखिर हात खुट्टा जो बजार्नु नै छ, ‘बिल’ तिर्नु नै छ,मैले जानेको लाटो हिसाब त त्यहि त हो।खाली यस्तै यस्तै कुरा खेली रहने- ध्यान त पटक्कै छैन बा।

तर कहिले काही खालीयस्ता सोचाईले जिन्दगी कष्टकर बन्दो पनि रहेछ।उही जिन्दगी,उही काम,उही तालिका,उही परिवेश भएता पनि जिन्दगी सहज बनाउने अनेक बाटाहरु हुदा रहेछ्न।आखिर सहज जिन्दगी कसले चाहन्न र।खुसि हुन को चाहन्न र जिन्दगीको एउटा लक्ष्य त्यो पनि त हो।

आखिर जिन्दगी कसरि जिउने भन्ने सुत्र त आफ्नो सोच पनि रहेछ। कसैको सोच जिन्दगी भरि अरुको कुरा काटेर ठुलो पल्टिने हुन्छ र सधै सधै जिन्दगीको मिठास थाहा नपाई जान्छन। कसै कसैलाई कोहि उन्नति गर्न लाग्यो भने डाहाले आफै मर्छन र आफ्नै जिन्दगी नरक बनाउछन। आफ्नो सोच जस्तो छ, संसार त्यस्तै देख्छ, राम्रा बिचार राख्नेले हरा भरा संसारमा रमाएर जान्छन, अरुले क्षण क्षणमा पीडा पीडा भोगेर जान्छन। हाम्रा बुढा पुरानाले ठिकै भनेका हुन् , “आफू भलो त जगत भलो”।

गुरु रमेश नेपालजीको प्रबचन सुनेको यो मेरो दोश्रो पटक हो। मीठो बचनका धनी रमेश नेपालजी नमुस्कुराई बोल्न जान्नु हुन्न। मधुर बोली, आँखामा राखेर पनि नबिझाउने व्यक्तित्वका रमेशजीले सारै सार गर्भित कुरा गर्नु हुदो रहेछ।

“समाजका पाँच आबस्यकताहरुको पहिचान गर्नुस, कापीमा लेख्नुस” भने पछि सोचें-त्यस्ता त कति छन् कति। हामीले सोचे जस्तो वा हामीले चाहे जस्तो समाज कहाँ नै छ र। यो जूम मिटिंगमा बसे पछि त गुरुजिको कुरा त मान्ने पर्यो। नत्र यहाँ सुनेर बस्नुको अर्थ नै के र भन्ने लाग्यो र सम्झे मुगुका कठांग्रिने जाडोमा फाटेको एकसरो लुगा लगाएर, कलेटी परेका साना साना नानीहरुलाई देखें। भोकले सधै चिथोरी रहने ति नानीहरुको बुवा आमालाई देखें। देश बनाउन लाएक लाखौं लाख युवाहरु दिल्लीको गल्लीहरुमा भौतारि रहेको देखें। खाडीमा पसिना पेलिरहेका मेरा लाखौं भाईहरुलाई देखें। सोचें – यी सबै युवाहरु सधै भरि बिदेशमा भासिई रहनु पर्ने, देश सधै खाली रहने हो भने आखिर देश त बुढा खाडाको जमात भन्दा बढी नहुने पो भो बा।

दिमाग पनि गज़ब कै “मिसिन” बा।कति छिटो ब्रह्माण्ड घुमी सक्छ।फेरी नेपाल हुत्तिए र जातीय विभेदमा मारिएका भाईहरुलाई सम्झे,बोक्सी भनेर सहर डुलाईएका आमाहरुलाई सम्झे।

तर गुरु रमेश नेपालजीले भनेको एउटा कुराले मेरो मनमा छाप बसाल्यो, “तपाईहरुले आफ्नो कापीमा जे जे लेख्नु भएको छ,ति सबै कुराहरु समाधान गर्ने सकिने कुराहरु लेख्नु भएको छ।” सारै चित्त बुझ्यो।हो त नि गरे पछि के हुदैन र।अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको चुनाबी नारा नै थियो “हामी सक्छौं” अर्थात् “We can do it”. नत्र गोराहरुको झुण्डमा अस्वेत राष्ट्रपति चुनिनु लगभग सम्भव थिएन, तर भयो त। चिताए पछि त हुदो रहेछ।

अमेरिकामा अस्ति बाट सुरु भएको यो “सम्वृद्धि सम्बाद” पनि “We can do it” को प्रयोग हो।

करिब दश बजे सकिने यो बसाईले धेरै सकारात्मक प्रभाव समाजमा छोड्ने कुरामा दुई मत रहेन।
यी सबै कुराहरु गरि सक्दा नसक्दा उनि फेरी क्यामराबाट हराई सकेकी थिईन। क्यामराले फेरी भित्तो मात्रै देखाई रहेको थियो।

-प्रकाश नेपाल

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया