सुदुरपश्चिमको चम्किला सर्जक भोजराज भट्ट

राधेश्याम लेकाली २०७८ असार २ गते २१:३४ मा प्रकाशित

म भन्दा ठिक पाँच महिनापछि वि. स. २०१५ मङ्सिर ८ गते डोटीमा जन्मिनु भएका कानुनविद,मानव अधिकारकर्मी,समाजसेवी, राजनीतिकर्मी एवं साहित्यकार भोजराज भट्टसित मेरो दुई प्रकारले सम्बन्ध रह्यो।पहिलो साहित्यिक हिसाबले सम्बन्ध त रहने नै भयो अर्को इलामे ज्वाई पनि पर्नु भयो।यस देखि वाहेक उहाँसित कार्यक्रमका सन्दर्भमा भएको अलग्गै सम्बन्ध पनि छ।

वि. स. २०३४/३५ ताका इलाम म र ब क्याम्पसमा आइए पहिलो र दोस्रो सत्रपछि म दार्जिलिङको गभर्मेन्ट कलेजमा पढ्न जादा मेरो सहपाठीका रुपमा जसुदाको नातेदार सोनादह निवासी ऋखिश्वर हाङ्खिमसित भेट भयो।उनी मार्फत जसुदाको काका वरिष्ठ साहित्यकार नन्द हाङ्खिम सित भेट भयो।दार्जिलिङ बसुन्जेल र पछि पनि त्यस घरमा मेरो राम्रै आवत जावत रह्यो।

त्यसो त त्यतिबेला म दार्जीलिङका धेरै साहित्यकारहरु सित उठबस गर्न थालिसकेको थिए।लख्खीदेवी सुन्दास,इन्द्रबहादुर राई,ईश्वर वल्लभ,रामलाल अधिकारी, पी.अर्जुन लगायत सित बरोबर भेट हुन्थ्यो।त्यतिबेला दार्जिलिङमा श्याम ब्रदर्स र साझा पुस्तक पसलको बोलबाला थियो।मोटर स्ट्याण्डमा रहेको साझा पुस्तक पसलमा प्रायःसाहित्यकारहरु सित भेट हुने गर्थ्यो।त्यतिबेला दार्जिलिङ बाट थुप्रै साहित्यिक पत्रिकाहरु पनि प्रकाशन हुने गरेको थियो।

त्यसताका इलाममा पढ्न पाइने साहित्यिक पत्रिकामा रुपरेखा थिय ।अरु भारतको हिन्दी भाषाका सारिका,धर्मयुग जस्ता पत्रिकाहरु नै थिए।यो पनि त्यतिबेलाको एक मात्र पसल पूर्ण भण्डारमा पाइन्थ्यो।यही भएर दार्जीलिङ गएको बेला त्यहाँबाट प्रकाशित हुने साहित्यिक पत्रिकाहरु इलाममा लिएर आउने गरेका थियौं। इलाममा आउने अर्को पत्रिका मर्यादित सीमा थियो।जुन पत्रिका भारतको रक्सौलबाट प्रकाशित हुने गरेको थियो।म यस पत्रिकाको पूर्वान्चल प्रतिनिधि पनि थिए।

ऋखिश्वर हाङ्खिम पनि राम्रो कविता लेख्थे।दार्जिलिङ जादा नन्द हाङ्खिमज्यूसित मौका पर्दा भेट्ने गरेको छु।२०६० सालमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र आमा महाकालीज्यू र मेरी श्रीमतीसित घुम्न जादा पनि त्यहाँका धेरै साहित्यकारसहित नन्दज्यूसित भेट भएको थियो।

नेपाल र दार्जिलिङका साहित्यकारहरुको विशेष उपस्थितिमा इलामको कर्फोकमा २००९ र २०१० सालमा पहिलो र दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो। जसमा राजा महेन्द्र,महाकवि लक्ष्मीप्रसाद देवकोटा,लेखनाथ पौडेल,धरणीधर कोइराला,सूर्यविक्रम ज्ञवाली,बालकृष्ण सम,महानन्द सापकोटा,ईश्वर बराल,शंकर लामोछाने,दीर्घराज कोइराला,पी. टी. लामा,पूण्य प्रभा देवी ढुंगाना,डा. ताना शर्मा आदिको उपस्थिति रहेको थियो।त्यस कार्यक्रमको आयोजना गर्न नरेन्द्रनाथ बास्तोला र महानन्द सापकोटाको विशेष योगदान रहेको थियो।त्यो कार्यक्रमका सहभागीहरु दार्जिलिङको दास फोटो स्टुडियोमा आएर सामुहिक तस्वीर खिचेका थिए।

दार्जिलिङ मेरो मामा घर पनि भएकोले यदाकदा जाने गरेको हो।गत बर्षमात्र म अध्यक्ष रहेको बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को त्रिदिवसीय एसिया स्तरिय साहित्य सम्मेलनको आयोजना गरियो।त्यस सम्मेलनमा अमेरिका,बेलायत,कोरिया,कतार,नेपाल र भारतका विभिन्न प्रान्तहरुबाट सर्जकहरुको उपस्थिति रहेको थियो । सोही सम्मेलनमा दार्जिलिङका डा.गोकुल सिन्हा, लोकनाथ चापागाईं,नन्द हाङ्खिम, मातृका गजमेर, उर्मिला घिसिङ, वीणा हाङ्खिम र प्रेम प्रधानसहित सात साहित्यकारहरुको सम्मान पनि गरिएको थियो । यस सम्मानमा नन्द हाङ्खिम पनि हुनुभएकोले मलाई खुसी लागेको थियो । उहाँ वरिष्ठ नाटककारको रुपमा पनि चिनिनु हुन्छ।

जसुदा सानोमा सोनादहमै हुर्किएकी हुन।उनलेआफ्नो बाजे हरिलाल राई र बजै राधा राईसित आफ्नो बाल्यकाल बिताइन।उनलाई सानैदखि स्वास प्रस्वासको समस्या थियो।उनको दार्जिलिङ,विराटनगर,इलाम,काठमाडौं र धनगढीमा जीवन व्यतित रह्यो।नृत्य,संगठन,समाजसेवा जसुदाको जीवनको महत्वपूर्ण पाटो थियो ।

इलाममा जसुदा र मेरो घर ठिक चिया कमानको मुनी थियो।फ्याक्ट्रीबाट आउने टुकटुक आवाज सुन्ने बानी परेको थियो।यो आवाजसंगै हामी निदाउने गरेका थियौं।पछि २०५१ सालतिर कमिसनको प्रलोभनमा संघाई ग्रुपलाई कौडीको मोलमा इलाम र झापामा रहेका सात बगानहरु बेच्ने काम तत्कालीन नालायक नेपाल सरकारले गर्यो । संघाईले नेपालको त्यो पहिलो चिया प्रशोधन मेसिन हटाउने काम गर्यो।जसको विरोधमा पुरै इलाम उठेको थियो।

जसुदालाई मैले देखे देखि नै दृढ़ र हकी स्वभावकी रहिन।स्वाभिमानी,मेहनती,लगनशील,कर्मठ निडर र हसमुख उनको स्वभाव रह्यो।इलाममा हाम्रो एउटै टोल, एउटै आगन रहेको थियो।उनको साहित्य र नृत्यमा विशेष रुची थियो।खास गरेर निबन्ध लेखनमा दखल थियो भने पुरुष भेषमा नृत्य गर्न रुचाउथिन।उनले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता बी. पी. कोइरालाकी श्रीमती सुशीला कोइरालाबाट कत्थकलगायतको नृत्यको प्रशिक्षण लिएकी थिइन।त्यतिबेलाको समयमा उनको स्वभाव, पहिरन र जीवन शैली आकर्ष रह्यो।जसुदाका कतिपय निबन्धहरु स्थानीय पत्रिकाहरुमा प्रकाशित रहेका छन।

जसुदाको बुबा ठाकुरसिह राई (टिएस राई) भनेपछि नचिन्ने कोही थिएनन।उहाँ स्वयंम सर्जक हुनुहुन्थ्यो । खासगरेर सङ्गीतमा रमाउनु हुन्थ्यो । नाटक र मूर्तीमा चाख थियो।लामो समय प्रशासनमा रहेर तत्कालीन श्री ५ को सरकारमा सेवा दिनु भयो । आमा ममताकी खानी हुनुहुन्थ्यो।जसुदाको दिदी पार्वती, बहिनी करुणा र भाईहरु महेश्वर र दिब्येश्वर सहयोगी र प्रिय छन।बहिनी करुणा यतिबेला नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सदस्य छिन।मेरो सहपाठी कवि मित्र राजेन्द्र परदेशीसित उनको बिहे भएको थियो।केही समयअगिमात्र उनको देहावसान भयो।राजेन्द्र एक जुझारु योद्धा थिए।इलाम क्याम्पसमा राजेन्द्र, देवेन्द्र सोक्तेन, उपेन्द्र बैधसहित मेरो मिल्ने मित्रमण्डली थियो।

२०३६ सालको जनमत संग्रहको बेला मेरो संयोजनमा इलाममा आयोजना गरिएको सडक कविता क्रान्तिमा विष्णु नविनसहित राजेन्द्र र देवेन्द्रहरुको सक्रिय सहभागीता रहेको थियो।

उनको विहे पछि सुदुरपूर्वकी उनी सुदुर पश्चिम धनगढी पुगिन।त्यहाँको सस्कृति,रितिरिवाजलाई अपनाउदै पूर्वको सस्कृतिको पहिचान पनि विस्तार गरिन।उनी एक योग्य शिक्षक,समाजसेवी र कुशल गृहिणी तथा जिम्मेवार ममतामयी आमा सावित भइन।

अहिले भट्टजीले त्यो दायित्व बहन गर्नु भएको छ।घरमा एकजना विरामी भएपछि त्यो घरको कस्तो अवस्था हुन्छ कल्पना गर्न सकिन्छ।तर भट्टजीले सात बर्षदेखि थलापरेकी श्रीमतीको स्याहार गर्दै छोराछोरीको पोषणमा समर्पित रहनु भयो।जसुदा विरामी भएर काठमाडौं आएपछि मैतीदेवी मन्दिर पछाडिको डेरामा म भेट्न गएको थिए।उनको अनुहार केही मलिन भए पनि उत्साहमा कमी थिएन।भट्टजीले छोराछोरीहरुप्रति गर्नु पर्ने सम्पूर्ण दायित्व पुरा गर्दै आउनु भएको छ। ४८ बर्षको उमेरमा वि. स. २०६४ माघ २८ गते जसुदाले महा प्रस्थान गरेदेखि एकाएकी जीवन बाचिरहेका भट्टजी वर्तमानमा साहित्य सिर्जना,समाजसेवामा जागरुक हुनुहुन् ।जसुदाको देहावसान पछि भट्टजीले अर्को बिहे गर्नेबारे सोच बनाउनु भएन।२६ बर्षको दाम्पत्य जीवनको सम्झना संगालेर आफ्ना छोराछोरीसित नै रमाइरहनु भएको छ।

जसुदाको मिल्ने साथी इलाममा हुँदा जसुदा खाकी (प्रधान) थिइन भने काठमाडौं आएपछि निलम श्रेष्ठ,कविता राई, गीता श्रेष्ठ,देवी भट्टराई आदि रहे।मेरो पुतली सडकस्थित तत्कालीन डेरामा भेला भएर चिया खाजा पनि खाने गरेका थियौं।

इलामे चेली जसुदा राईको अन्तरजातीय बिहे भोजराज भट्टसित भएकोले उहाँ ज्वाई पर्नु भयो।यति मात्र होइन भट्टजीको सासुआमासित भाईटिका लगाएको नाताले पनि उहाँ ज्वाई पर्नु भयो।

मृदुभाषी,सरल व्यक्तित्व,सहयोगी मनका धनी र खास गरेर कसैको पनि मन दुखाउन नचाहने गुण कै कारण म भोजराज भट्टलाई मन पराउछु।उहाँ बहुमुखी प्रतिभा भएका व्यक्ति मात्र होइनन् चिन्तनशील, अध्ययनशील, सवेदनशील, मर्मस्पर्शी व्यक्ति पनि हुनुहुन्छ।सधैं देशको चिन्ता लिने भोजराज भट्ट राष्ट्रियताको सवालमा गम्भीर व्यक्ति पनि हुनुहुन्छ।उहाँमा स्वाभिमान छ।मानवीय प्रेम छ।देशको लागि केही गरौं भन्ने सोच पनि छ।

अबको पच्चिस बर्षपछि हाम्रो भेट नहुने उल्लेख गर्दै उहाँले मलाई केही महिनाअगि लेख्नु भएको पत्रले सोच्न बाध्य गरायो।साथै आफ्नोबारे केही लेख्न आग्रह पनि गर्नु भयो।त्यो समय मेरो ब्यस्तताको समय रह्यो।फेरि कोरोना कहरको आहत हामी सबैले भोगिरका छौं।यस्तो विषम परिस्थितिमा मानसिक तनावले सताइरहेको छ।तथापि मैले यी शब्दहरु प्रस्तुत गर्ने दुस्साहस गरेको छु।

देवदत्त भट्ट र भागरथी भट्टको पाँचौ सन्तानका रुपमा जन्मिनु भएका भोजराज भट्टका दुई दिदीबहिनी र तीन दाजुभाई हुनुहुन्छ।नेपालको प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानी उहाँको फुपू र अभिभावक पनि रहनु भयो।उहाँको दुई छोरी र एक छोरा हुनुहुन्छ।जेठी छोरी रितु जो समाजसेवी हुन कान्छी छोरी पृथा जो डक्टर हुन दुबैको बिहे भैसकेको छ।छोरा प्रवण नेपाली सेनाको मेजर हुन।छोरा प्रवणको श्रीमती मलिका बज्राचार्य अहिले अध्ययनरत छिन।

सुदुर पश्चिममा हुर्किनु भएका भोजराज भट्टले जीवन र जगत राम्ररी बुझ्नु भएको छ।आफू जन्मिएको डोटीको भावरडाडा, पैयालेकदेखि धनगढी र काठमाडौंसम्मको यात्राले उहाँलाई निखारेको छ।

कविता, कथा, निबन्ध, यात्रा साहित्य आदि विधामा कलम चलाइरहनु भएका र अनेक अनुभव संगालेका भोजराज भट्टले यसबीच संसद र सिंहदरबार फल्दैछ फुल्दैछ (२०५५), बमन रानाको कोट (२०६७) मन रखनी (२०६८), संघर्षका मेलाहरु (२०६८), मैले देख्न पाएको कैलाश मानसरोवर (२०६८), अक्षर, रंग र सपनाहरू (२०६८), कथा चारधाम बद्रीकेदारको (२०७१), श्रीपेच बन्धकी राख्ने राजा (२०७१), बैशालु खप्तड (२०७१), धेरै दुखेको छ नेपाल (२०७५) र गोदावरीका मनहरु (२०७५) जस्ता कृतिहरु नेपाली साहित्यलाई दिनु भयो । भट्टको लेखनमा पश्चिमको प्रस्तुति पाउन सकिन्छ । सरल शैलीमा लेख्ने भट्ट बढी यात्रा साहित्यमा रुची राख्नु हुन्छ ।

यसैबीच उहाँले विभिन्न सम्मानहरु पनि पाउनु भएको छ । उहाँलाई केही समयअगि नेपाल सरकारले सम्मान प्रदान गरेको थियो । यस्तै नेपाल सास्कृतिक प्रतिष्ठानले २०६५ सालमा अभिनन्दन गर्यो । यसैगरी गोदावरी साहित्य सस्थाले (२०६८) र सुदुर पश्चिम साहित्य समाजले पनि अभिनन्दन र सम्मान गर्यो । त्यसो त भोजराज भट्टले देवकान्त राष्ट्रिय प्रतिभा पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ।

भोजराज भट्ट राजनीतितवरमा सचेत हुनुहुन्छ । वि. स.२०३६, २०४६ लगायत सबै प्रजातान्त्रिक आन्दोलनहरुमा योगदान गर्नु भएको छ । त्यसै पनि कानुनविद, सचेत लेखक र जागरुक नागरिक हुनाले पनि भट्टले देशको चिन्ता लिनु स्वभाभिक नै हो । विद्यार्थी जीवनदेखि नै उहाँको विभिन्न नेताहरुसित पनि विशेष सम्पर्क हुने गरेको हो । उहाँ ने बि संघको राजनीतिमा रहदा बी. पी. कोइराला, गणेशमान सिह, कृष्णप्रसाद भट्टराई, डा. के. आई. सिह, टंकप्रसाद आचार्य, सि. के. प्रसाईं, डिल्लीरमण रेग्मी, रामराजाप्रसाद सिह, बखानसिह गुरुङ, शैलजा आचार्य, प्रदीप गिरि आदि नेताहरुको सम्पर्कमा रहनु भयो भने पछि फरक राजनीतिमा आउनु भयो र मनमोहन अधिकारी, मदन भण्डारी आदिको सम्पर्कमा रहनु भयो ।

यसैले पनि राजनीतिमा उहाँको सक्रियताको अनुमान गर्न सकिन्छ ।

नेपाली साहित्यमा विशेष योगदान गर्नु भएका जगदीश घिमिरेले उल्लेख गर्नु भए अनुसार भोजराज भट्टजीले उहाँलाई आफ्नो उमेरको आठ बर्ष विधिवत कानुनी रित पुर्‍याएर घरजग्गा जस्तै रजिस्टेसन पास गरेर दिनु भएको छ । घिमिरेको कृति अन्तर्मनको यात्रा पढेर गदगद भइ यस्तो भावनात्मक कदम भट्टजीले चालेको सहज अनुमान गर्न सकिन्छ । आखिर सर्जक न पर्नु भयो ।

भोजराज भट्टजीले विभिन्न सस्थाहरुलाई सहयोग गर्ने मात्र होइन आफैले कैलाली, धनगढीको गोदावरीमा आध्यात्मिक केन्द्रको स्थापनार्थ नेपाल माता मन्दिर निर्माण गर्नु भयो । यस केन्द्रमा सन्त र विदेशी पाहुनालाई निशुल्क बासको व्यवस्था गरिएको छ । साथै आफ्नी दिवङ्त श्रीमतीको नाममा जसुदा राई (भट्ट) फाउन्डेसनको स्थापना पनि गर्नु भएको छ । दिवङ्त श्रीमती जसुदाको स्मृति ग्रन्थसमेत प्रकाशित गरेर सही श्रद्धाञ्जली प्रकट गर्नु भएको छ । मैले भने सो स्मृति ग्रन्थमा समयाभावका कारण केही लेख्न सकिन । अहिले पछुतो लागिरहेको छ ।

यसैगरी जसुदाको विहे भट्टजीसित भएपछि कानुनविद चन्द्रमणि अधिकारीको परिवारसित बढी हेलमेल रह्यो । खास गरेर चन्द्रजीको श्रीमती पुष्पा अधिकारीसित विशेष दोस्ती रह्यो ।

चन्द्रमणि अधिकारी मिलनसार र मृदु भाषी हुनुहुन्छ । उहाँलाई म मामाजी भन्छु । बहिनी सुनिता पौडेलले उहाँलाई मामा भन्नु भएकोले मैले पनि मामा भन्ने गरेको हो । चन्द्रमणिसहित गोपाल सिवाकोटी र म भएर मिति २०५२ चैत ४ गते सम्मानित सर्वोच्च अदालतमा महाकाली सन्धिबारे रिट निवेदन दर्ता गरेका थियौं । यो रिट निवेदन नै महाकाली सन्धिबारेको पहिलो मुद्दा हो । यसैगरी मिति २०५२ चैत ४ गते पनि विद्युतशक्तिको व्यापारसम्बन्धी तत्कालीन श्री ५ को सरकार र भारत सरकारका बीच भएको सम्झौताका विरुद्ध रिट निवेदन दर्ता गरेका थियौं । यसरी चन्द्रमणि अधिकारीसितको मेरो सम्बन्ध रह्यो । म पुतलीसडक बस्दा नजिकको छिमेकी पनि रहनु भयो । उहाँ कहाँ खाएको परिकारको प्रशङ्सा आज पनि मेरो श्रीमतीले गर्ने गरेकी छिन ।

यिनै चन्द्रमणिजीको उठबस लामोसमयदेखि भोजराज भट्टसित रहिआएको छ । अझ मित्रतामात्र होइन पारिवारिक सम्बन्ध कायम रहेको छ । हिजोआजको सम्बन्धहरु त स्वार्थ र छलछामको हुने गरेको छ । लामो टिक्दैन । तर उहाँहरु दुईको सम्बन्ध लोभ लाग्दो रहेको छ । उहाँहरुको साथमा मित्र कृष्ण ढकालको मैले नाम लिइन भने अन्याय हुन्छ । उहाँ पनि उति नै मिलनसार र सहयोगी हुनुहुन्छ ।

सन १९९४ मा नेपालमा पहिलोपटक मतदाता शिक्षा (Voter Education) कार्यक्रमको सुरुआत भयो । National Democratic Institute (NDI) भन्ने अमेरिकी सस्थाले काठमाडौं, विराटनगर र पोखरामा सो कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा म, वर्तमान सर्वोच्च अदालतका माननीय न्यायधीश सपना मल्ल प्रधानसहित हामीहरु सक्रिय थियौं । पछि इन्हुरेड इन्टरन्याशनलको आयोजनामा नेपालको छत्तीस जिल्लाहरुमा यो कार्यक्रमको आयोजना गरियो । त्यसताका म इन्हुरेड इन्टरन्याशनलमा आवद्ध थिए । कार्यक्रम कै सिलसिलामा धनगढी जाने अवसर मिल्यो । सो कार्यक्रमको लागि काठमाडौंबाट मसहित पूर्व मन्त्री एवं कानुनविद कर्ण थापा र रेणु बजगाईसहित विभिन्न जिल्लाहरुमा कार्यक्रम गर्दै धनगढी पुग्यौं । त्यहाँ ज्वाई भट्टसित भेट भयो । उहाँबाट कार्यक्रमको लागि अनेक सहयोग पाइयो । सो कार्यक्रममा भट्टजी र जसुदाको सक्रिय सहभागीता रह्यो । उहाँले आफ्नो हसनपुरस्थित घरमा आमन्त्रण गर्नु भयो । यहाँ उहाँको फुपू नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीसित भेट गराउनु भयो ।

भट्टजीको वकालत पेशा र जसुदाको शिक्षण पेशा तथा दुबैजनाको समाजसेवाले धनगढीमा दुबैजना जमेको पाएको थिए।जीवन निर्वाह पनि राम्ररी चलेको थियो । कस्को मरण कहिले र कहाँ हुन्छ भन्न सकिन्न । जसुदा विरामी भएपछि काठमाडौं आउनुको बाध्यताले यतै बसायो।तर भट्टजीलाई काठमाडौंको स्वार्थले छोएको छैन, राजनीतिको दाउपेचले पनि छोएको छैन र नत लोभलालचले नै छोएको छ । बस आफ्नो कर्तव्य वहन गरिरहनु भएको छ । म भट्टजीको बाकि जीवन सिर्जनशील बनोस भन्ने कामनासहित उज्वल जीवनको पनि कामना गर्छु।

राधेश्याम लेकाली
[email protected]

 

प्रतिक्रिया