डोय राज्य र रौतहट

सञ्जय साह मित्र २०७८ जेठ २६ गते १०:१६ मा प्रकाशित

इसापूर्व छैटौँ शताब्दीमा उत्तर तथा मध्य भारतमा विकसित १६ महाजनपद मध्ये वैशाली एक थियो।वैशाली केन्द्र रहेको शासन व्यवस्थालाई बज्जीसंघ भनिन्थ्यो। यसको सिमाना नेपालको तराईदेखि गंगा नदीसम्म थियो।विभिन्न उतार–चढाव वा आरोह–अवरोह,राज्य गठन–विघटनको अँध्यारो युगमा रौतहटको भूमि यसै सेरोफेरोमा रहेको हुनुपर्छ राजनैतिक दृष्टिकोणले।भगवान गौतम बुद्धको मृत्युको तीन वर्षपछि मगध सम्राट बिम्बिसारका छोरा अजात शत्रुले वैशाली माथि आक्रमण गरी आफ्नो अधिनमा पारे।त्यसपछि बहुप्रचारित मिथिला (दरभंगाको इतिहासमा यसरी लेखिएको छ:“ विदेह राज्य का अंत हाने पर यस प्रदेश वैशाली गणराज्यका अंग बना।” र वैशालीको क्षेत्र माथि मगधको नियन्त्रण कायम हुन गयो।मगधका मौर्य,शुंग,कण्व तथा गुप्त शासकहरूको साम्राज्यको हिस्सा यो क्षेत्र बनेको दरभंगाको इतिहासमा स्पष्ट उल्लेख गरिएको छ।

भारती भवन प्रकाशनको प्राचीन भारत का राजनीतिक एवं सांस्कृतिक इतिहास भन्ने पुस्तकमा राधाकृष्ण चौधरीले यसलाई पुष्टि गरेका छन्।

साथै बंगालको पालवंशका गोपालले मगधमाथि नियन्त्रण गरेका थिए।करिब २५ वर्ष शासन गरेका गोपाल पछि उनका छोरा धर्मपाल शासक बने।धर्मपालले आफ्नो राज्यको विस्तार पूर्वमा बंगालको खाडी,पश्चिममा जालन्धर,उत्तरमा हिमालय तथा दक्षिणमा विन्ध्य पर्वतसम्म विस्तार गरेका थिए भन्ने उल्लेख पाइन्छ (चौधरी :पृष्ठ ३२८)।सन् ८१५ सम्म शासन गरेका धर्मपालको शासनकाल ३२ वर्षको रहेको थियो।उनी आफ्नो युगका अत्यन्त समृद्ध तथा शक्तिशाली सम्राट थिए । धर्मपालपछि देवपाल, देवपालपछि नारायणपाल,नारायणपालपछि राज्यपाल, राज्यपालपछि गोपाल द्वितीय मगधका शासक बने।गोपाल द्वितीयपछि क्रमशः महिपाल प्रथम, नयपाल, रामपाललगायतका शासकहरूले अनेक उतारचढावका बीच शासन गरेको देखिन्छ।

सम्भवतः रामपालकै समयमा डोय राज्यको स्थापना भएको देखिन्छ।उदाहरणको लागि नान्यदेव भनेर नेपाली विकिपिडिया खोलेर हेर्दा यसरी उल्लेख गरिएको पाइन्छ “:“नान्यदेवले गौड वंशीय राजा रामपालको राज्यमाथि आक्रमण गरे।त्यो राज्यको उत्तरतर्फको मिथिला प्रदेशलाई उनले आफ्नो अधिनमा पारी राज्य आफ्नै वंशलाई लिई शासन गर्न थाले ।” यस विकिपिडियामा रामपाललाई गौड वंशीय राजा भनिएको छ जबकि चौधरीले पाल वंशीय उल्लेख गरेका छन् ।

वि.सं. ११५४ (सन् १०९७) मा सिमरौनगढलाई राजधानी बनाई नान्यदेवले डोय राज्य स्थापना गरे।डोय राज्यलाई तिरहुत राज्य पनि भनिन्छ।निःसन्देह डोयराज्यले निकै शक्तिशाली राज्यको रूपमा आफ्नो पहिचान बनाएको इतिहास साक्षी छ।

रत्न पुस्तक भण्डारले २०६१ मा प्रकाशन गरेको नेपालको प्राचीन तथा मध्यकालीन इतिहास भन्ने पुस्तकमा प्रा.डा.श्रीरामप्रसाद उपाध्यायले तिरहुतको कर्णाटक राज्य शीर्षकमा यसरी उल्लेख गरेका छन् :“पूर्वमध्यकालमा नेपाल तीन भागमा विभाजित थियो।पहिलोलाई खस–मल्ल राज्य,दोस्रोलाई तिरहुतको (तीरभुक्ति) कर्णाटक राज्य र तेस्रोलाई नेपाल मण्डल भनिन्थ्यो।”

नेपाल परिचय भन्ने पुस्तकमा खगेन्द्र निरौला (पृष्ठ ३१) मा लेख्छन् :“ई.सं. १०९७ मा कर्नाट देशबाट आएका नान्यदेवले दक्षिण र दक्षिपूर्वी तराई खण्डमा सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे।सन् १६४९ को प्रताप मल्लको अभिलेखअनुसार यस राज्यमा नान्यदेपछि गांगदेव,नृसिंहदेव, रामसिंह देव,शक्तिसिंह,भूपालसिंह देव आदि हिन्दू राजाहरूले सबा दुई सय वर्षसम्म राज्य गरे।ई.सं. १३२४ (वि.सं. १३८१) मा दिल्लीका बादशाह गयासुद्दीन तुगलकले सिम्रौनगढ ध्वस्त पारेपछि नान्यदेवका ६ पुस्तापछिका हरिसिंहदेव ज्याद जोगाई तुलजा भवानी साथमा लिई नेपालतर्फ भागे। … ”प्रा.डा.श्रीरामप्रसाद उपाध्यायले पनि नान्यदेवपछि तिरहुतमा क्रमशः गंगादेव नरसिंहदेव,रामसिंहदेव,शक्तिसिंहदेव,भूपालसिंहदेव र हरिसिंहदेवले शासन गरेका थिए भनी उल्लेख गरेका छन्।

विभिन्न तथ्यहरूमा शासकसम्बन्धी करिब एकै किसिमको विवरण पाइन्छ।१० जुलाई १०९७ का दिन सेनापति नान्यदेवले आफूलाई स्वतन्त्र राजा घोषणा गर्दै सिमरौनगढलाई राजधानी बनाएका थिए।भएको के थियो भने तत्कालीन कर्णाटकका राजाले उत्तरी क्षेत्रमा आफ्नो राज्य विस्तार गर्ने क्रममा विश्वसनीय सेनापति तथा बुद्धिमान योद्धा नान्यदेवलाई जिम्मा दिएका थिए।नान्यदेवले विजययात्रामा सफलता पाउँदै उत्तरतर्फ बढ्दै गरिरहेका थिए।कतिपयले उनी विक्रमादित्यका सेनापति थिए भनेका छन् भने धेरैले दक्षिण भारत कर्नाटक देशमा चालुक्य वंशको शासक थियो र उनी चालुक्य शासका सेनापति थिए भनेका छन्।मगधका राजा रामपालको अधिन रहेको यस क्षेत्रमा नान्यदेवले विजय अभियान संचालन गरी अगाडि बढ्दै गर्दा गुप्तचरले कर्णाटकका राजाको मृत्यु भएको खबर सुनाएपछि नान्यदेवले आफूलाई नै राजा घोषणा गरेका थिए। कर्णाटकभन्दा धेरै टाढा र गंगाभन्दा पनि उत्तरमा भएकोले यस क्षेत्रमा उनलाई कतैबाट आक्रमण होला भन्ने डर थिएन र आफै शक्तिशाली भएको तथा आफ्नो अधिनमा रहेको सेना आफूप्रति बफादार भएकोले नान्यदेवले सिमरौनगढमा राजधानी स्थापना गरे र आफूलाई राजा घोषणा गरिदिए।

कतिपयले नान्यदेव डोय वंशका थिए भनेका छन्।यसै कारण वंशको नाममा यस राज्यलाई डोय राज्य भनिएको हो पनि भनेका छन्।कर्णाट वंशीय नान्यदेव पनि भनिन्छ।उनी कर्णाटकबाट आएकाले हो वा कर्णाट राजाको अधिनमा रहेकाले हो वा उनी पनि कर्णाट वंशीय भएकाले हो,अध्ययन हुन बाँकी नै रहेको छ।डोय वा तिरहुत राज्यको राजधानी सामान्यतया सिमरौनगढ नै रहेको पाइन्छ।

दरभंगाको अँधराठाड़ीमा प्राप्त शिलालेखमा नान्यदेवलाई नृप भनिएको छ। यसबाट यो स्पष्ट हुन्छ कि नान्यदेवको समयमा कम्तीमा दरभंगासम्म डोय राज्यको विस्तार थियो।नान्यदेवका दुई छोरा थिए मल्लदेव र गंगदेव।मल्लदेव र गंगदेवमा राम्रो सम्बन्ध रहेको पाइन्न।नान्यदेवपछि सम्भवतःडोय राज्यको विभाजन भएको देखिन्छ जसअनुसार पूर्वीभागको राजा मल्लदेव र पश्चिमीभागको राजा गंगदेव भएका थिए।विद्यापतिले नान्यदेवपुत्र मल्लदेवलाई युवराज उल्लेख गरेको राधाकृष्ण चौधरी (पृष्ठ ३३८)ले उल्लेख गरेका छन्।मल्लदेवको राजधानी भगवानपुरको भीठ भन्ने ठाउँमा थियो।साहसी तथा वीर राजा मल्लदेवको एक अभिलेख भीठ (भगवानपुर, दरभंगा)मा भेटिएको छ जसमा ऊँ श्री मल्लदेवस्य लेखिएको छ।उनको सम्बन्ध कनौजका राजा जयचन्द्र तथा चिक्कौरका राजासित पनि निकै घनिष्ट रहेको थियो।

(औपचारिक इतिहासमा सिमरौनगढको राजगद्दीमा बस्ने शासकको नाम र तिनको शासनको बारेमा उल्लेख पाइन्छ । राजाका छोराहरूको बारेमा खासै उल्लेख गरिएको पाइन्न।भाइहरूले गर्दा हुने गृहकलहको विषयमा खासै चर्चा गरिएको पाइन्न।

सिमरौनगढको शासनमा गंगदेव आरुढ भएकाले सिमरौनगढ तथा डोय राज्यको इतिहासमा यिनकै चर्चा पाइन्छ।यिनी यहाँको मुख्य उत्तराधिकारी भएकाले वंशतालिकामा यिनकै नाम आएको देखिन्छ।गंगदेव कुशल शासक थिए।यिनको समयमा राज्यको आर्थिक र भौतिक उन्नति खूब भएको थियो।

गंगदेवपछि सिमरौनगढको शासनमा बसेका नरसिंहदेव राजा भए । नरसिंहदेव मल्लदेवसित बढी नजिक थिए।उनी मल्लदेव (बुबा गंगदेवका भाइ वा दाजु) सित नजिक थिए।उनको समयमा केही समय सिमरौनगढभन्दा बाहिर पनि राजधानी लगिएको थियो भन्ने उल्लेख पाइन्छ।वा सम्भवतः उनी दुई ठाउँबाट राज्यको सञ्चालन गर्दथे।मल्लदेवसित कन्नौजको यात्रा पनि गरेका थिए त्यहाँको राजासित सम्बन्ध विस्तार गर्न।उनी बारम्बार कनौज जाने गरेको पनि उल्लेख पाइन्छ।

नरसिंहदेवपछि रामसिंहदेव यहाँको शासन सम्हालेका थिए।यिनको समयमा तिब्बती यात्री धर्मस्वामी आएर केही दिन दरबारमा बसेको थिए र यहाँबाट शिक्षा आर्जन गर्न नालन्दा विश्वविद्यालयमा गएका थिए।यो इ.सं. १२३६ को घटना हो। नरसिंहदेवको शासनमा विद्वानहरूको निकै कदर थियो।रामसिंहदेवपछि सिमरौनगढको शासनमा शक्तिसिंह बसेका थिए।शक्तिसिंहलाई शक्रसिंह पनि भनिएको पाइन्छ।शक्तिसिंहपछि यहाँका राजा हरिसिंहदेव भए।इतिहासकारहरू लगभग यस कुरामा सहमत छन् कि नान्यदेवपछि हरिसिंहदेव नै सबैभन्दा प्रतापी राजा थिए।

हरिसिंहदेवकै समयमा दिल्लीका शासक गयासुद्दीन तुगलकले वि.सं. १३८१ (सन् १३२४) मा सिमरौनगढमाथि आक्रमण गरी ध्वस्त बनाएका थिए।तुगकलले किन आक्रमण गरे भन्ने विषयमा दुई किसिमको धारणा पाइन्छ:पहिलो,बंगालको विद्रोह दबाई तिरहुतको बाटो फर्कंदा मुसलमानी फौज सिम्रौनगढमा आक्रमण गर्न आयो भन्ने सम्झी जनतालाई उठाई युद्ध गर्ने तयारी गरे।यो कुरा थाहा पाएर तुगलकको फौज तिरहुतमा आक्रमण गरेर सिम्रौनगढलाई ध्वस्त बनायो।

दोस्रो,बंगाल विजयपश्चात् गंगाको बाटो फर्किरहेको तुगलकको फौजले धेरै गहना तथा मुद्रा लिएर जाँदैछ भन्ने सुनेर हरिसिंहदेवले आफ्ना केही फौजलाई लुट्न पठाएका थिए छेउछाउमा आक्रमण गरी लुट्ने दस्यु नभएर सिम्रौनगढको फौज हो भन्ने थाहा पाएपछि तुगलकको फौजले सिम्रौनगढमाथि आक्रमण गरी ध्वस्त बनाएको हो।

सिमरौनगढ ध्वस्त भएपछि हरिसिंहदेव सपरिवार उत्तरतर्फ पलायन भए ।
वि.सं. ११५४ (सन् १०९७) मा स्थापना भएको डोय (तिरहुत) राज्य वि.सं. १३८१ (सन् १३२४) मा पतन हुँदा यस राज्यको अस्तित्व २२७ वर्ष रहेको देखिन्छ।

डोय (तिरहुत) राज्यको राजधानी सिमरौनगढ रहँदाको अवस्थासम्म निसन्देह वर्तमान रौतहटको भूमिको शासन सिमरौनगढबाटै हुने गरेको थियो।यसमा कतैबाट शंका देखिएको छैन।

-सञ्जय साह मित्र

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया