मेरी प्यारी (एकल बुबाहरुमा समर्पित)

दुर्गा लोहनी २०७८ जेठ २६ गते ९:४२ मा प्रकाशित

छोरा र नाति कति छन् कति तर म एक्लो छु
ति सबै जना हाँसेर बोल्छन् म मात्र बेग्लो छु
निष्ठुरी दैव ! लगिस् नि तैंले ति मेरी प्यारीलाई
संझना भनें खोसेर लान सकिनस् बरिलै !! १

बादल पारी छन् मेरी प्यारी ति अब आउँदिनन्
चाहेर पनि धर्तीमा उनी फर्कन पाउँदिनन्
रातमा हेर्छु चम्किलो तारा ति मेरी प्यारी हुन्
म माथि हेर्दै गर्दछु कुरा हे दैव ! तैंले सुन् !!२

जीवन भरि सँग सँगै जिउने भनेको यो नाता
ति मेरी प्यारी खै कता गइन् म मात्रै छु यता
सकिन प्यारी तिमी छेउ आउन संसारै टुटे नि
दैवको लाठी सहनै पर्ने मुटु नै फुटे नि !!३

बुझिन प्यारी महत्त्व तिम्रो साथमा हुँदा नि
पुछिन मैले यी हातले आँशु तिमीले रुँदा नि
त्यो गल्ती अब सुधार्न मैले कसरी सक्छु र ?
सुन्छ्यौ कि कुरा सुन्दिनौ प्यारी मलाई माफ गर।।४

ढिकी र जाँतो,वन र पाखा, पानी र पँधेरो
सृष्टिको फूल फुलायौ प्यारी भइनौ अँधेरो
प्रकृति पनि ति फूल हेरी दंङ्दास पर्दछन्
पाउँदिन फेरि तिमीलाई साथमा यि आँशु झर्दछन्।।५

कहिले त मन सारै नै जल्छ हिंड्दछु भौंतारी
भेटिन प्यारी यो मन मैले बिसाउने चौतारी
छोरा नि जान्छन् अफिसको काममा बुहारी घरधन्दा
छोरीलाई अन्माई पठाइयो घरमा को बस्ने मसँग ?? ६

तिमी नै मेरी हे प्राण प्यारी ! जीवन संगिनी
तिमी नै हुँदा रहेछ प्यारी ! यो जीवन रंगिनी
छ भनें अर्को जन्म नि प्रीया! तिमीलाई भेट्न पाऊँ
दैवको आँखा नलागोस् फेरि यो धोको मेट्न पाऊँ !! ७

( साँच्चै नै बुढेसकालमा एक्लो हुँदा आमाहरुलाई भन्दा बुबाहरुलाई बढी एक्लो पन महसुस भएको पाएँ। )

-दुर्गा लोहनी

प्रतिक्रिया