यात्रामा भेटिएकी कागजमा नेपाली बन्न नसकेकी एक नेपाली चेलीको कथा

शशी के.सी २०७८ जेठ २५ गते २२:१८ मा प्रकाशित

केही दिन अगाडी अब त आमाको नामबाट नेपालको नागरिकता पाइने भयो भन्ने चर्चा जताततै सुनियो।बिरोध र समर्थनका आवाजहरू सोसल मिडियामा निक्कै देखियो।सत्य भन्नु पर्दा मैले खासमा कता र के के परिवर्तन भएछ पढेकोत छैन।तर मलाई जहिले पनि नेपालको नागरिकता संम्बन्धि परिवर्तन र आमाको नामबाट संतानले नेपालको नागरिकता पाउने भए भन्ने सुन्ने साथ यात्रामा भेटिएकी एक चेलीको याद आउॅंछ।

कुरा सन् २०१० को अमेरिका देखि नेपाल जाने क्रममा टर्किस एयरलायन्स हो।प्लेनमा भित्र सबैजना बिस्तारै लाइनमा पस्दै थियौं।मेरो साथमा सानो गुडाउने सुटकेस थियो।आफ्नो सिटमा पुगेपछि सुटकेसलाई माथि राख्न थाले।सुटकेस अलिक गरूंगो भएकोले एकछिन गाह्रो पर्यो राख्न।म पछाडी रहेकी एक २०-२२ बर्ष जतिकी बिदेशी केटीले नेपाली भाषामा “ आन्टी म राखिदिन्छु” भनिन र राख्न सहयोग गरिन।मैले “धन्यवाद” भनेर आफ्नो सिटमा बसें।बसेपछि सोच्न थालें “तिनीको होलिन,नेपालीले जस्तै प्रष्ट सॅंग सुद्ध नेपाली बोल्ने बिदेशी केटी”।

केही बेरमा सबै आआफ्नो सिटमा बसे पछि वरीपरी हेरेको त उनी मेरै लाइनको दाहिने पट्टिको बिचको सिटमा रहिछिन्।उनी छेउको बिदेशी बुढा मान्छे सॅंग अंग्रेजी त हैन अर्कै भाषामा कुरा गर्दै थिइन।

प्लेन उडेको केही समयपछि उनी बाथरूम गएर आईन।बस्न लाग्दा मैले अंग्रेजीमा “तिमी राम्रो नेपाली बोल्ने रहेछौ” भने।उनले त कति मिठो सॅंग “आन्टी म नेपाली त हो नी” भनिन।म नेपालमा जन्मेको, हुर्केको,पढेको र मेरो घर भक्तपुर हो।अनि मैले अहिले कताबाट आएको त सोधें।देशको नाम त बिर्से तर युरोपतिरको कुनै देशमा पढ्ने र छुट्टीमा बुबासॅंगै नेपालजान लागेको भनिन्।

अझ कुरा गर्दै जांदा थाहा पाईयो,उनको आमा नेपाली महिला रहिछन् र बुबा चाहीं बिदेशी युरोपको ( नाम बिर्से कुनैदेशको) नागरिक।आमा पढ्न जांदा त्यतै भेट भएर विवाह गरेका रहेछन्।पढाई सकिए पछि आमा नेपाल आएर आफ्नै व्यवसाय गरेर भक्तपुरमा बस्न थालिछन्।र बुबा इन्जिनियर पनि कुनै बिदेशी संस्थामा काम गरेर नेपालमा नै बसेछन्।उनी नेपाल मै जन्मिछन्।तर केही बर्षदेखि बुबा चाहीं आफ्नो देशमा काम गरेर बसेका रहेछन्।

उनको बुबा आफ्नो देश जानु परेको कारण त झन् रोचक रहेछ।सबैलाई थाहा भएकै कुरा हो नेपालको नागरिकता बुबाको नामबाट मात्र पाइन्छ।उनको बुबा बिदेशी,छोरीको पहिचान दिलाउन वा नागरिकता बनाईदिन चाहे छोरी नेपालमानै जन्मे,हुर्केको र आफु पनि नेपालमा नै घरजम,जागिर खाएरै बसेको भए पनि केही समयलाई आफ्नो देश जानु परेकोरहेछ। कस्तो बाध्यता।

ती चेलीले त कस्तो दिक्क मानेर भनिन् ,आन्टी के गर्नु म कहिल्यै बुबाको देश गएर बसेको थिइन।कहिलेकाहीं घुम्न गएको मात्र हो।म त नेपालको छोरी,नेपालमा नै नेपाली आमाबाट जन्मे,हुर्केको तर अहिले नागरिकताको कारणले बुबाआमा “मेरो लागि” छुट्टिएर बस्नु परेको छ।आमा नेपालमा बस्नु हुन्छ।बुबा र म बिदेशमा बस्छौं।तर धन्न मेरो पढाई सकिन लाग्यो।पढाई सकिए पछि नेपालमा नै भिषामा बसेर काम गर्छु।

नाम त बिर्से तर उनको नाम शिव भगवान सॅंग मिल्दोजुल्दो केही नेपाली नाम थियो।बोली बचन तेस्तै मिठो,अझ पहिलो पटक भेटेको मलाई कति आदर गरेर “आन्टी” भनेर कुरा गरेको नेपालीले जस्तै।उनको कुरा सुनिसके पछि मनबाटै भन्नमन लाग्यो।“ माफ गर,हामीले तिमी नेपाली नै भए पनि कागजी रूपमा तिमीलाई नेपाली बनाइदिन सकेनछौं “

हो उनी त भाग्यमानी रहिछन्।बुबाआमा छन् र बुबाको देशले पनि नागरिकता दिदों रहेछ सजिलै।तर नेपालमा कतित्यस्ता अभागी संतानहरू छन् जो आमा सॅंग हुर्किरहेछन्।कतिका त नेपाली बुबा छन् तर बहुविवाह मुद्दा झेल्नु पर्ने,संम्पत्ति बांड्नु,दिनु पर्ने आदी कारण देखाएर कानुनी रूपमा आफ्नो संतान नस्विकार्दा नागरिकता नपाएर अनागरिक भएर वा बन्नुपर्ने अवस्था छ।त्यस्तै बिदेश होस् वा नेपालमा नै आमा हिंसामा परेर जन्मिएका बच्चाहरू,वादी समुदायका बाबुको ठेगान नभएका बच्चाहरू,बिदेशीसॅंग विवाह गरेका नेपाली आमाबाट जन्मेका बच्चाहरू जो आमाबाबुको संम्बन्ध बिच्छेद पछि आमासॅंग नेपालमा हुर्किरहेका छन्।हो ती पीडित संतानको लागि चाहिएको “आमाको नामबाट नागरिकता”।

नेपालमा जहिले पनि नागरिकता संबन्धि नियम कानुनमा संशोधन र आमाको नामबाट नागरिकता दिने भन्ने कुरा उठ्छ ।चाहे देश चलाउन बसेका नेताहरू हुन वा सर्वसाधारण नेपाली नै किन नहुन, ओहो तेसो गर्न हुन्न भारतले देश लग्छ, भारतियले शासन गर्छन। भान्जाभान्जीले नागरिकता लिन्छन् भनेको सुनिन्छ। नागरिकताको समस्या नेपालको हो की भारतको ?

भोग्नेहरूको कथा पढ्दा,बेलाबेलामा संशोधन भएको नागरिकताको नियम कानुन अनुसार “आमाको नामबाट नागरिकता” लिन सबैले सोचे जस्तो सजिलो चाहीं छैन रहेछ।प्रमाण धेरै नै जुटाउनु पर्ने रहेछ।तेसैले मेरो बिचारमा बाबुको नाम बाट कानुनी रूपमा सजिलै सॅंग नागरिकता पाउने देशमा बाध्यता नपरि कोही तेसै आमाको नामबाट नागरिकता लिन खोज्दैन होला।

अन्त्यमा, नेपालको नागरिकताको नियम कानुन आवश्यकता हेरेर समय सॅंग सॅंगै परिवर्तन हुनु जरूरी छ।नागरिकता संबन्धि कानुन कडा र कानुन तोडे कडा सजाय हुने व्यवस्था बनाउनु पर्यो।गरे के हुन्न र।कानुनी रूपमा नै सती प्रथा हट्यो।कानुनले बहुविवाह गर्न दिदैंन।बाबुआमाको संम्पत्तिमा पनि छोराछोरी दुबैको हक लाग्ने गरि परिवर्तन भएको छ।तर नागरिकता एउटा चाहीं सॅंधैं बाबुको नामबाटै किन लिन पर्ने।आमाको नामबाट किन सजिलै लिन नपाउने ?

-शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया