विश्वकप फुटबल छनोटस् नेपाल जोर्डनसँग पराजित

इनेप्लिज २०७८ जेठ २५ गते १०:१८ मा प्रकाशित

काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो । नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गरे। जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ ।

कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गरे। नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेका विकास खवास जोर्डनविरुद्धको शुरुवाती ११ खेलाडीमै परेका थिए। खेलको २९औँ मिनेटमा घाइते भएपछि उनी मैदानबाट बाहिरिए । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरे।

कुवेतमा खेल सञ्चालन हुँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी रहेको थियो । दोस्रो हाफमा जोर्डनले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको ५८औँ मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सकेनन् । खेलको ६७औँ मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारे। नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया