राजेश्वर नेपाली जसले महात्मा गान्धीलाई भेट्नु भयो

राधेश्याम लेकाली २०७८ जेठ २५ गते ९:४३ मा प्रकाशित

स्वतन्त्रता सेनानी,वरिष्ठ पत्रकार,साहित्यकार, सस्कृतिविद राजेश्वर नेपाली (जनकपुर)को शालिन व्यक्तित्व, विनम्र व्यवहार र सादा जीवनको जत्तिनै प्रशङ्सा गरे पनि पुग्दैन।मानवीय व्यवहार,असल आचरण र दयालु स्वभाव प्रवृत्तिले नै मान्छे असल बन्छ जुन गुण राजेश्वर नेपालीमा पाउन सकिन्छ।नम्र र शिष्ट बोली व्यवहार,सबैलाई हेर्ने दृष्टिकोणमा समानता र सदाशयता हुनु असल मान्छेको पहिचान हो । यही गुण राजेश्वर नेपालीमा मैले पाएको छु।

नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउदै आउनु भएका राजेश्वर नेपाली आफ्नो लेखनमा प्रजातन्त्र,मानवता,शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्नु हुन्छ।उहाँले समाजको लागि परिवर्तनकामी सोच राख्नु हुन्छ।सामाजिक रुपान्तरणको लागि कलम चलाउनु हुन्छ।उहाँ एक सचेत चेतनशील लेखक हुन भन्न सकिन्छ।

सरल स्वभावका नेपालीले भारतको मजफ्फरपुरमा महात्मा गान्धीलाई भेट्नु भएको थियो।गान्धीको प्रभाव परेर नै होला उहाँको स्वभाव आदर्शमुखी रहेको छ। उहाँको पोशाक पनि गान्धी कै जस्तो खादी र सुतीको भएको छ।तत्कालीन भारतको स्वतन्त्रता आन्दोलनमा लागेका नेपाली तत्कालीन राणा विरोधी आन्दोलनमा पनि सक्रिय रहनु भएको थियो।सक्रिय राजनीतिमा लागेकै कारण उहाँ पटकपटक निर्वासित जीवन बिताउदै सैतिस पटक त जेल पर्नु भएको थियो।

उहाँले आफ्नो गाउँमा क्लब,स्कुल,पुस्तकालयसमेत खोल्नु भएको थियो भने विभिन्न कार्यक्रमहरु आयोजना पनि गर्नु भएको थियो।उहाँले केही बर्ष पहिले नेपालमा प्रथम हिन्दी साहित्य सम्मेलनको आयोजना गर्नु भएको आज पनि स्मरण गर्न सकिन्छ।

पत्रकारिता,साहित्य,सस्कृति र भाषाको क्षेत्रमा विशेष योगदान पुर्याउदै आउनु भएका विशिष्ट साधक राजेश्वर नेपालीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भए वापत उहाँलाई प्रजातान्त्रिक सेनानीको रुपमा २०६५ मा अभिनन्दन गरिएको हो।राजेश्वर नेपाली पद्मानन्द ट्रष्ट पुरस्कार (२०४३), प्रवल गोरखा दक्षिणबाहु (२०४९), मैथिल संघ चेनई तमिलनाडु सम्मान (२०५५), गुजरात हिन्दी प्रतिष्ठान सम्मान (अहमदाबाद २०५६), रघुनाथ स्मृति सम्मान (२०६१), स्वतन्त्रता सेनानी सम्मान (अखिल भारतीय मध्यदेशीय बैश्यसभा,बनारस २०६२) जस्ता अनेकौं सम्मानहरुबाट सम्मानित भइसक्नु भएको छ।

त्यसो त उहाँ नेपाली पत्रकारिताको इतिहासमा शिखर व्यक्तित्वका रुपमा चिनिनु हुन्छ।यसैले उहाँले पत्रकारितामा प्रदान गरिने विभिन्न पुरस्कार र सम्मानहरु पनि पाउनु भएको छ।उहाँले पाउनु भएका सम्मान र पुरस्कारहरु हुन – नेपाल सरकारबाट वरिष्ठ पत्रकारिता सम्मान (२०६९), नेपाल पत्रकार महासंघ सम्मान (२०४७),नेपाल प्रेस युनियन सम्मान (२०५३), हेम सरिता पाठक प्रतिष्ठान,अमेरिकाबाट पत्रकारिता साधना पुरस्कार (२०६८), सरस्वती राजनारायण पत्रकारिता पुरस्कार (२०६४), पार्वती स्मृति पुरस्कार (२०६४), राजा सलहेस सम्मान (२०६८) आदि।

त्यस्तै सास्कृतिक क्षेत्रमा उहाँको अतुलनीय योगदानको उच्च कदर गर्दै NRNA GIOBAL CONFERENCE का अवसरमा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र NRNA द्वारा संयुक्त रुपमा आयोजित तेस्रो साहित्य उत्सव समारोह सन २०११ मा उहाँलाई अन्तर्राष्ट्रियस्तरमा अभिनन्दन गरिएको थियो।यस विशेष अन्तर्राष्ट्रिय समारोहको संयोजकको हैसियतबाट राजेश्वर नेपालीसहित तीनै व्यक्तित्वलाई अभिनन्दन गर्न पाएकोमा गर्व महसुस भएको छ।

राजेश्वर नेपालीसंगै साहित्य साधक राष्ट्रकवि माधवप्रसाद घिमिरे र संगीतका विशिष्ट साधक रनजित गजमेर (मुम्बई) पनि अभिनन्दित हुनु भएको थियो।

नेपाली मिथिला सस्कृतिका विज्ञका रुपमा चिनिनु हुने राजेश्वर नेपालीले खास गरेर मिथिला क्षेत्रको सस्कृतिको पहिचानका लागि अनेक योगदान गर्दै आउनु भएको छ।अझ उहाँले नेपाली मध्यदेशीय बैश्य समाजको सास्कृतिक,सामाजिक,शैक्षिक,भाषिक,साहित्यिक तथा साङ्गठानिक योगदानसमेत गर्दै आउनु भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले उहाँलाई गरेको अभिनन्दन पनि नेपाली मिथिला सस्कृतिका क्षेत्रमा पुर्याएको योगदानको लागि नै हो।काठमाडौंस्थित रसियन सास्कृतिक केन्द्रको विशिष्ट सभाकक्षमा संविधानसभाका अध्यक्ष एवं तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले सो अभिनन्दन गर्नु भएको थियो।

सो सम्मेलनमा विश्वका विभिन्न देशहरूबाट प्रतिनिधित्व भएको थियो।वरिष्ठ सस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे,वरिष्ठ संगीतकार रनजीत गजमेर,वरिष्ठ समालोचक डा. ताना शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति गङगाप्रसाद उप्रेती (वर्तमान कुलपति),वरिष्ठ समालोचक राजेन्द सुवेदी,वरिष्ठ कवि एवं सस्कृतिविद तुलसी दिवस, NRNA का पूर्व अध्यक्षहरु उपेन्द्र महतो,जीवा लामछानेलगायतको उपस्थिति रहेको थियो।

राजेश्वर नेपाली आमा इन्द्रमणि देवी र बुबा रामदुलार शाहको तीन दाजुभाई र तीन दिदीबहिनीहरु मध्ये माइला छोराको रुपमा वि. स. २००२ भदौ १९ गते धनुषामा जन्मिनु भएको हो।

राजेश्वर नेपाली मुलतः पत्रकारितामा संलग्न हुनुहुन्छ । उहाँ वि. स. २०१८ बाट प्रत्रकारितामा आवद्ध हुनु भएको हो । नेपाल सन्देश पत्रिकाबाट सुरु गरेर राष्ट्रपुकार, विश्वदीप, नेपाल टाइम्स, नेपालवाणी आदिमा पत्रिकामा योगदान गर्नु भयो।

उहाँले लोकमत (साप्ताहिक २०४०)लगायतको पत्रिका सम्पादन गर्नु भयो भने प्रथम मिथिला कवि विध्यापति स्मारिका ((२०५६),नेपाल भारत सम्बन्ध (पुस्तक २०४९), नेपाल के हिन्दी कवि और कविताए (२०५३) र नेपाल मे हिन्दी की अवस्था (२०५३ पुस्तक) आदिको सम्पादन पनि गर्नु भएको छ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नु भएका नेपालीले नेपाली साहित्य उत्थानमा समेत उल्लेखनीय योगदान गर्दै आउनु भएको छ।वि. स. २०२० देखि साहित्यमा प्रवेश गर्नु भएका नेपालीले लेख्नु भएका पच्चिस कृतिहरु मध्ये कविताकृतिहरुमा पुकार (२०२५), प्रेरणाप्रद शहीदहरु (२०५५), मिथिला मैथिली (२९५७), नेपाल नेपाली (२०५९), बम नही विचार क्रान्ति (२०६२), लोकतन्त्रको लालिमा (२०६९), नव नेपाल (हिन्दी २०६९) आदि हुन।

यसैगरी खण्डकाव्यमा गरिबको व्यथा (२०६८) र निरपहाय मानव (२०६८) हुन।

यसैगरी कथा कृतिहरुमा सोहागिन (मैथिली २०६१), कनिआ काकी (मैथिली २०६१), प्राचीन जनकपुरधाम एक विवेचना (२०५९), प्रेरणाप्रद प्रजातन्त्र सेनानीहरु (२०६१), पत्रकारिता मेरो पूजा (आत्मवृत्तान्त हिन्दी (२०६२), क्रान्तिकारी सर्युग चौधरी (जीवनी हिन्दी २०६९) हुन ।

यसैगरी राजेश्वर नेपालीले गर्नु भएका सम्पादनमा नेपाल भारत सम्बन्ध (२०४९), नेपाल के हिन्दी कवि और कविताए (२०५३), नेपाल मे हिन्दी की अवस्था (२०५३) र विद्यापति स्मारिका (२०५६) आदि हुन ।

वि. स. २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा वरिष्ठ पत्रकारहरु मणिराज उपाध्याय, मदनमणि दीक्षितसंगै प्रेस काउन्सिल नेपालको सल्लाहकारमा नेपाल सरकारले मनोनयन गरेर सम्मान गरेको थियो।यसैगरी २०४८ सालमा गठित प्रेस काउन्सिलको सदस्यमा पनि मनोयन गरिएको थियो।

राजेश्वर नेपाली नेपालको प्रजातान्त्रिक आन्दोलनका एक सशक्त योद्धा हुन,नेपाली पत्रकारिताका ज्युदो इतिहास हुन,मिथिला सस्कृतिका एक विज्ञ हुन र नेपाली, मैथिली र हिन्दी साहित्यका एक धरोहर हुन।म उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक कामना गर्छु।

राधेश्याम लेकाली
[email protected]

प्रतिक्रिया