भन्दिनु है बा

शकुन ज्ञवाली २०७८ जेठ २३ गते १३:५६ मा प्रकाशित

सिसामा खाँदेको तामा र गुन्द्रुक
नपठाइदिनु है आमा
यो अमेरिका,
यहाँ केको फुर्सद पाउनु र मैले
आलु र तामा पकाएर खान
भटमास र गुन्द्रुक साँधेर खान
एक हप्तादेखि बनाई राखेको खाना
डिब्बामा बोकेर दौडिन्छु काममा सधैं ।

बा फोनमा मैले हाँसेर बोलेको सुनेका छौ
बेलाबेलामा पठाएको डलर देखेका छौ
यहाँको दु:ख त कहाँ बताएकी थिएँ र बा मैले
मेसिन जस्तै घोंटिएर
डलर कमाएको कुरा त
कहाँ भनेकी छु र बा ?

चाड पर्व आएको बेलामा
राम्ररी मनाउनु भनिरहन्थ्यौ नि आमा
तिमीलाई त कहाँ बताएकी छु र आमा
दशैंको टीका त यहाँ फुर्सद निकालेर
लगाउनु पर्छ भनेर
घरका जहान सबै जम्मा भएर
दुई छाक खान त पाइदैन भन्ने
कहाँ बताएकी छु र आमा ।

मैले कहाँ भनेकी छु र बा
यहाँको हावाले हाम्रा सन्तानले
हामीले भनेको फिटिक्क टेर्दैनन् भनेर
श्रीमान श्रीमति बीचको खटपटले
कयौं परिवार बिजोग भएको कुरा ।

भिडियो कल गर्दा
आमाले सोध्ने एउटै प्रश्न-
संधै थाकेकी जस्तो देखिन्छेस् नि !
मैले तिमीलाई कहाँ बताएकी छु र आमा
दिनको १०-१२ घन्टा
उभिएरै काम गर्दाको पीडा ।

यहाँ कामको जति तनाव
सायदै अरु हुन्छ होला
आमा अङ्ग्रेजी बोल्न नजान्दा
पूर्वतिर जानु पर्ने म
पश्चिम जाने रेलमा कति पटक चढेकी छु
आधा घन्टा मात्र ढिलो पुग्दा
कामबाटै मलाई निकालिएको कुरा
तिमीलाई कहाँ भनेकी छु र आमा ।

कहाँ न कहाँको मानिससंग
एउटै कोठामा मिलेर बस्नु पर्ने पीडा
महिना दिन नबित्दै
कोठा भाडा र क्रेडिट कार्डको बिलले
दिने चिन्ता कहाँ सुनाएकी छु र मैले
तनाबै तनाबले यति छिट्टै उमेर छँदै
प्रेसरको औसधी खान थालेको
कहाँ भनेकी छु र मैले आमा तिमीलाई ।

मैले आजसम्म हाँसेको मात्र
देखाएकी छु बा
दिन रात मैले बा आमा,
भाइ बैनी आफन्त साथी सङ्गी र मेरो देश
सम्झेर रोएको
कहाँ बताएकी छु र बा
सारै दलदल पो रै’छ यो अमेरिका
पसेपछि निस्कन गार्हो
चक्रब्यूहमा फँसे जस्तो ।

त्यसैले भाइलाई डिभि परोस् भनेर
भाकल नगरे है आमा
बैनीलाई विदेश गा को केटा
खोज्दै नहिडे है बा
मैले पठाएको डलरले मख्ख नपर्नु है आमा
डलर फल्ने रुख त साह्रै भीरमा पो हुँदोरै’छ
कुहिनोमा लागेको मह झैं ।

सन्तान प्रदेसिदा गर्व नगर्नु बा !
भाइ बैनीलाई जन्मभूमिमै पौरख गरेर खाने
हिम्मत दिनु बा
मातृभूमिभन्दा प्यारो केही हुँदैन भनेर
भाइ बैनीलाई भन्दिनु है बा
भाई बैनीलाई भन्दिनु है बा ।

-शकुन ज्ञवाली

प्रतिक्रिया