कृति समीक्षा -विजय शोक काव्य अध्ययन गर्दा

अरुणबहादुर खत्री नदी २०७८ जेठ १९ गते १:५८ मा प्रकाशित

कवयत्री राधिका देवकोटा पन्तको विजय नामक शोककाव्य मेरो हात परेको छ।यो सङ्ग्रह छैठौं कृतिको रुपमा २०७५ सालमा प्रकाशित भएको रहेछ ।उनको पहिलो कृति तीजका गीतसङ्ग्रह २०५९ सालमा प्रकाशित भएको थियो ।भोको मान्छे कविता सङ्ग्रह २०६४ सालमा,करुण चित्कार कवितासङ्ग्रह २०६७ सालमा,ज्योतिका युगीन स्वरहरु कवितासङ्ग्रह संयुक्त २०६७ सालमा, बाँकी धर्सा नामक कवितासङ्ग्रह २०६९ सालमा र त्यसपछि विजय शोककाव्य २०७५ सालमा निस्केको छ।यसभित्र अर्पण,स्मृतिमा,आमा,बाबु,श्रीमती,मनको दर्द,प्राणको भिख,भाइ,दिदी लगायत विभिन्न शीर्षकका २६ वटा शोककाव्य समावेश गरिएका छन्।कविताको क्षेत्रमा प्रशस्त कलम चलाउदै आएकी राधिका पन्त देवकोटाका कविताहरु हृदयस्पर्शी र समाजका विकृतिलार्ई नङ्ग्याउने तथा सुधारका सन्देश वाहक छन् भन्ने तथ्य उनले लेखेका कविताहरुले नै बताएका छन्।प्रस्तुत विजय शोककाव्य भने आफ्नै जीवनमा परेका भातृवियोगजन्य आपतसंग सम्बन्ध भएकोले वस्तुपरक भन्दा बढी आत्मपरक छ।विजय शीर्षकको शोककाव्यमा भातैर पाक्यो गुदुनगुदु तरकारी तामाको गलामा लाग्यो अमृत बचन तस्वीर आमाको भनेर लेखिएको छ।

बाबा र आमा फुलेका सेतै बुढ्यौली लागेका
उसैमा भुली अन्त्यका माना दुःखमा कुरेका।

दिदी शीर्षकको कविताभित्र के सोचे पहिले के भयो अहिले सम्झनै सक्दिन नयन रुझे तकिया भिजे भुलनै सक्दिन भनिएको छ।आएछ हेर घुम्दै र फिर्दै भैलेनी मागन नाचेको देख्छु देउसे र भैलो घुमेर आगन भाइलाई सम्झेर लेखेकी छिन् कवयत्रीले।फूलले भन्छ टिपेर मलाई यो माला गाँसन साँझ र बिहान त्यै माला हेरी मुसुुक्क हाँसन दिदीले आफ्नो भाइलाई तिहारमा सम्झेर लेखेकी छिन्।संसारभित्र शीर्षकको कवितामा संसारभित्र मायाको चित्र बुनेछ बेसरी नछेउ कुना माझ भेटिएन म भनूँ कसरी कवयत्रीले लेखेकी छिन्।बैनी शीर्षकको कवितामा सम्झना आयो दाजुको काख चिप्लेटी खेलेको दाजुकै साथ समाइ हात क ख र लेखेको भनिएको छ।सम्पर्क अधिकृतको रुपमा बैदेशिक पर्यटकका साथ हिमाली क्षेत्रमा जाँदा २०७० वैशाख १ गतेका दिन अक्सिजनको कमी भई धौलागिरी हिमालको हेडनभ्याली भन्ने अति पवित्र ठाउँमा कवयत्रीको भाइ विजयको निधन भएको हो।यही निधनबाट मर्माहत भएका घरपरिवारका सदस्यहरुको आ–आफ्ना वेदना र छटपटीलाई कलात्मक ढङ्गबाट प्रस्तुत गर्ने कार्य यस शोककाव्यमा भएको छ।आमा बाबु दिदी भाइ बहिनी र पत्नीको मनमा उठेका र उठ्न सक्ने वियोग जन्य बेदनालाई कवयत्रीले कविताको माध्यमबाट प्रस्तुत गरेकी छिन्। भाइको स्मृतिमा उनले यो मानवीय दायित्व सम्झी सम्हाले आफूले कठीन पथ स्वीकार्य होला सम्झन अरुले भनेकी छिन्।माता पिताको आशिर्वाद शीर्षकभित्र मादल बजोस् खैचडी बजोस् मृदङ्ग तालको जीवको तोली सुरिलो बनोस् नेपाली पाराको भनिएको छ।प्रकृति देवी मनुष्यदेखि रिसानी नहोस् है घर र बास उठेर खास बाढी र पैरो गई कवयत्रीले पोखेकी छिन्।

अँध्यारो सँगै मिसिने छ यो जूनको उज्यालो
औसीको जस्तो यो घर भयो जगतै अँध्यारो

बाबु शीर्षकभित्र वनमा सारा पालुवा आए बूढा ती हराए घरमा आज पालुवा लगे बिचल्ली गराए भनिएको छ।नहुँदा छोरा कर्मले होला भनेर रोएकी पाएर छोरा फुरुक्क पर्दै आकाश छोएकी कवयत्रीले लेखेकी छिन्।अर्पण शीर्षकको कविताभित्र लेख्नु छ यौटा करुण काव्य रचेर यसमा प्रकृति आफ्नै प्रवृत्ति आफ्नै बसेर देशमा भनेर लेखेकी छिन्।सत्य घटनामा आधारित अत्यन्त मार्मिक काव्य विजय शोककाव्यले जस्तोसुकै शोकलाई पनि शक्तिमा बदल्ने प्रेरणा दिन सक्नेछ ।एक व्यक्तिको दुर्घटनाले सिङ्गो परिवार कसरी शोकमा डुबेर मर्माहत हुन पुग्दो रहेछ भन्ने कुरा यस कृतिभित्र पढ्न पाइनेछ।दुर्भाग्यवस घटना घटे पनि त्यस घटनालाई सबै सामु शोककाव्य मार्फत पुर्याउन सकेको छ।यस सङ्ग्रहभित्रका सामाग्रीहरु पढ्दा मनलाई झकझक्याइरहन्छन्।मस्तिष्कलाई सचेत गराइरहन्छन्।सरल भाषा, मिठो शैली र सललल बग्ने प्रस्तुतिले राधिकाका लेखहरुलाई सबै पाठकहरुले पढ्नै पर्छ।तिनले पाठकहरुको रुचि आकर्षण गर्नेछन्।उनको लेख्ने शैली सरल र बोधगम्य छ।अन्त्यमा राधिका देवकोटा पन्तको अरु नयाँ कृतिहरु जन्मन सकोस् भन्ने अपेक्षा राख्दछु।

कृतिःराधा–लेख
विधाःशोककाव्य
लेखकःराधिका देवकोटा पन्त
प्रकाशकःटीकाप्रसाद तथा देवकुमारी देवकोटा
संस्करणःप्रथम २०७५ वैशाख
मूल्यः रु.१५५।–
पृष्ठः८०

सामाखुशी मार्ग, सरकारी धारा,काठमाडौं
फोन नं. ४३५३४१२, ४३५३५९४

 

प्रतिक्रिया