विराटनगर,१२ जेठ ।प्रदेश १ का विपक्षी दलहरुले बजेट अधिवेशन गर्न आज यहाँ माग गर्नु भएकोछ।
प्रदेश संसद सचिवालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा आगामी आर्थिक वर्ष २०७८ः७९ को बजेट संसदबाटै ल्याउन माग गरिएको छ।पत्रकार सम्मेलनमा विपक्षी दलका नेताहरुले अध्यादेशबाट बजेट नल्याउन चेतावनी दिनु भएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्व बजेट छलफल नैं नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै यही जेठ १६ गतेभित्र बजेट माथि पूर्व छलफल गराउनु पर्ने तर सरकारले बजेट अधिवेशन नै बोलाउने छाँटकाँट नदेखाएको आरोप लगाउनु भयो।
नेकपा माओवादी संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको बताउनु भयो।
नेपाली कांग्रेस दलका नेता कोइराला, नेकपा माओवादी केन्द्र दलका नेता आङ्बो,जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादव र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रदेश सरकारलाई नीति तथा कार्यक्रम ल्याएर संसदबाटै बजेट ल्याउन माग गरिएको छ।
प्रतिक्रिया