मनुष्यताको पाठ पठाउँदै विश्वमा मानिसको सर्वोच्चता कायम गर्न र शान्तिको मार्गभन्दा अरु कुनै पनि मार्ग ठूलो होइन भन्ने सिद्धार्थ गौतमलाई भगवान बुद्ध भनेर विश्वले चिन्दछ र्तमान नेपालको लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमको जीवन निकै उतार चढावमा रहेको देखिन्छ।
जतिखेर सिद्धार्थ गौतमको नामकरण भएको थियो, त्यत्तिखेर नै एकजना सिद्ध पुरुषले भविष्यवाणी गरेका थिए:यो बालक सन्न्यासी हुनेछ।हिमालयमा तपस्या गर्ने असित मुनिलाई जब ज्ञात भयो कि भगवानको अवतरण भएको छ तब उनी दर्शन गर्न आएका थिए र उनले नै भविष्यवाणी गरेका थिए कि यो बालक सन्न्यासी हुनेछ । उनले राजदरबारमा भनेका थिए :मसँग त्यत्ति समय छैन कि यिनको ज्ञानप्राप्तिपछिको स्वरुपको दर्शन गर्न सकूँ।
त्यसबखत कपिलवस्तु निकै प्रसिद्ध राज्य थियो।यसअन्तर्गत अनेक राज्यहरु थिए।त्यत्तिबेलाका प्रमुख ठूला राज्यहरुमा कौशल,वैशाली र मगध हुन् । यीमध्ये कौशल राज्यसित कपिलवस्तुको युद्ध भएको थियो।युद्धमा युवराज सिद्धार्थको कूटनीतिले गर्दा कपिलवस्तुले विजय हासिल गरेको थियो।यही युद्धपश्चात यशोधरासित सिद्धार्थको विवाह भएको थियो।यद्यपि विवाहको सबै कुरो युद्धभन्दा पहिले नै छिनिसकिएको थियो।
कपिलवस्तुका राजा थिए शुद्धोदन।उनका दुई रानी थिए।जेठी महारानीको कोखबाट सिद्धार्थको जन्म भएको थियो।सिद्धार्थको जन्म भएको केही दिनमै देहान्त भएको थियो।कान्छी रानी जो महारानी बनिन्,बाट सिद्धार्थको पालनपोषण भएको थियो।जब सिद्धार्थको नामकरण संस्कार सम्पन्न भयो र असित मुनिले सिद्धार्थ भविष्यमा सन्न्यासी बन्ने भविष्यवाणी गरे तब कपिलवस्तु राजधानीबाट वृद्ध,रोगी,तथा अति विपन्नलाई अन्यत्र व्यवस्थापन गरिएको थियो ताकि बालक सिद्धार्थमा रोगी, वृद्ध, गरिब, अति विपन्न र मृतकलाई नदेखोस्।यस अवस्थाका मानिसलाई देखेपछि करुणा जाग्दछ र त्यसबाट वैराग्य उत्पन्न हुने सम्भावना रहन्छ।राजा शुद्धोदनको चाहना थियो कि सिद्धार्थ गौतम सन्न्यासी होइन, सम्राट बनोस्।
शाक्य संघका अध्यक्ष शद्धोदनका एक भाइ थिए द्रुद्धोदन।यिनलाई पनि राजाको पदवी दिइएको थियो।यिनकी पत्नी थिइन् मंगला।मंगला उच्च महत्वाकांक्षी थिइन्।पहिले उनले शुद्धोदनसित नै विवाह गर्न खोजेकी थिइन् तर जेठी महारानीको इच्छाअनुसार कान्छीलाई रोजेका थिए शुद्धोदनले।मंगलालाई महारानी बन्ने चाहना थियो जुन कुरा धेरैपटक शुद्धोदनसित व्यक्त गरेकी पनि थिइन्।द्रुद्धोदन र मंगलाबाट देवदत्त नामको सन्तानको जन्म भएको थियो । देवदत्त सिद्धार्थभन्दा जेठो थियो।सिद्धार्थ जन्मनुपूर्वसम्म द्रुद्धोदन र मंगलाले देवदत्त सम्राट हुने कुरामा पूर्ण विश्वस्त भइसकेका थिए।शुद्धोदनले पनि यस्तै व्यवहार गरिरहेका थिए। कुलगुरु वाचस्पतिले पुत्रयष्टि यज्ञ गराउँदा तेजस्वी पुत्र प्राप्त हुने बताएअनुसार शुद्धोदनले यज्ञ गराएका थिए । यज्ञपश्चात् जेठी महारानी गर्भवती भएकी थिइन्। के भनिन्छ भने कान्छी रानीले नै महारानीबाट सन्तानको जन्म होओस् भन्ने चाहना राखेकी थिइन् र भयो पनि यस्तै।जेठी महारानीको कोखमा सिद्धार्थको जन्म भयो तर लगत्तै मृत्यु हुँदा असली माताको हकदार कान्छी रानी नै हुन पुगिन्।सिद्धार्थलाई जन्म दिने आमाको बारेमा कहिल्यै बताइएन।यशोधरा गर्भवती भएको समयमा एकैचोटि सिद्धार्थको कानमा यो कुरा परेको थियो।
सानैदेखि सिद्धार्थ अत्यन्त शान्त स्वभावका थिए भने देवदत्त धेरै चञ्चल। देवदत्तका माता–पिताको नजरमा त सिद्धार्थ महत्वाकांक्षाको अवरोध नै बनेर जन्म लिएको थियो । शिक्षा प्राप्त गर्ने उमेर भएपछि त्यत्तिबेलाको चलनअनुसार सिद्धार्थलाई कौशल पठाइएन किनभने डर थियो कि सिद्धार्थले वृद्ध,गरिब, रोगी,मृतक आदिलाई देख्नेछ र मनमा वैराग्यभाव उत्पन्न हुनेछ।त्यस जमानाका योग्य आचार्यहरुलाई बोलाएर कपिलवस्तुमै शिक्षाको प्रबन्ध गरियो र सबैलाई निर्देशन थियो कि सिद्धार्थलाई यस्तो क्षत्रिय बनाइयोस् कि भविष्यमा सम्राट बनोस् ।जन्मले क्षत्रिय सिद्धार्थ कर्मले पनि पूर्ण क्षत्रिय बनोस् भन्ने चाहना थियो।
सिद्धार्थ सबैभन्दा बढी आचायै कौडिन्यबाट बढी प्रभावित भए । त्यसपछि आमाको शिक्षाको प्रभाव पनि गहिरो रह्यो । सानै उमेरमा सबै शिक्षा प्राप्त गरे सिद्धार्थले । जब आचार्य कौडिन्यलाई कपिलवस्तुबाट एक किसिमले अपमानित गरेर निष्काशन गरिएको थियो, त्यत्तिबेला उनले सवर्ग भनेका थिए : मलाई गर्व छ कि मैले सिद्धार्थलाई शिक्षा दिएँ, ऊजस्तो प्रतिभावान शिष्यलाई पाएर म धन्य छु, भविष्यले सिद्धार्थको आचार्य हुन पाएकोमा ममथि गर्व गर्नेछ।
आफू कपिलवस्तुको महारानी हुन नपाएकोमा अत्यन्त क्षुब्ध मंगला आफ्नो छोरा देवदत्तलाई जसरी पनि कपिलवस्तुको सिंहासनमा देख्न चाहन्थिन् । देवधा (सम्भवतः देवदह) का राजा दन्डपानीसित द्रुद्धोदनको मित्रता थियो । दन्डपानीकी छोरी थिइन् यशोधरा।यशोधराको कुण्डलीमा महारानी बन्ने योग रहेको ज्योतिषीहरुले बताउने गरेका थिए।यो कुरा द्रुद्धोदन र मंगलालाई पनि जानकारी थियो । यसले गर्दा देवदत्तको विवाह कुनै पनि हालतमा यशोधरासित होओस् भन्ने चाहना दुवैजनाको रहेको थियो।
देवदत्तमा अनेक गुण र सिद्धार्थमा अनेक अवगुण रहेको द्रुद्धोदनले दन्डपानीलाई बताउने गरेका थिए।दन्डपानी पनि शुद्धोदनदेखि मनमनै जल्ने गर्दथे । राजा दन्डपानीले आफ्नी छोरी यशोधराको विवाह देवदत्तसित होओस् भन्ने चाहन्थे तर यशोधराकी आमा भने जसरी पनि यशोधराको विवाह सिद्धार्थसित होओस् भन्ने चाहन्थिन्।यशोधरा पनि मनमनै सिद्धार्थलाई प्रेम गर्दथिन्।यो कुरा आमा र बुबा दुवैलाई थाहा थियो।सिद्धार्थ पनि यशोधरालाई प्रेम गर्दथे।परिवारको सबैभन्दा जेठो छोरो देवदत्त भएकाले पहिले कुमार देवदत्तकै विवाह हुनुपर्ने हो तर युवराज सिद्धार्थ पनि विवाहको लागि योग्य भइसकेका थिए।
विवाहको लागि स्वयंवर भयो।स्वयंवरमा सिद्धार्थको जित हुन्छ । सिद्धार्थको जीत भएपछि शर्तअनुसार दन्डपानी बाध्य भएर यशोधराको विवाह सिद्धार्थसित गर्नुपर्ने हुन्छ।विवाहको तयारी चलिरहेकै बखत कौशलनरेश प्रसन्नजीतले कपिलवस्तुमाथि आक्रमण गर्ने खबर आउँछ।प्रसन्नजीतले अश्वमेघ यज्ञ गर्ने घोडा छोडिसकेको हुन्छ यसले गर्दा विवाहको तयारी रोकिन्छ।युद्ध सकिएपछि सिद्धार्थ–यशोधराको विवाह हुने शुद्धोदनले बताउँछन्। यद्ध नजिक आइपुगेकोले यसमा कुनै चमत्कार भइहाल्ने र देवदत्त तथा यशोधराको विवाह भइहाल्छ कि भन्ने आशा फेरि द्रुद्धोधन र मंगलाको मनमा पलाउँछ।देवदत्त पनि यही चाहन्छ कि युद्धले परिस्थिति बदलियो भने यशोधरासित विवाह हुन्छ आफ्नो।
यज्ञको घोडा कपिलवस्तुको सीमामा प्रवेश गरेपछि बाँधेर राखिन्छ । यज्ञको घोडा जता पुग्छ, दुई शर्तसहित : प्रसन्नजीतको आधिपत्य स्वीकार वा युद्ध । कपिलवस्तुले युद्ध रोज्दछ।कौशलको अथाह सेनाको अगाडि कपिलवस्तुको सेना अत्यन्त सानो हुन्छ तर युवराज सिद्धार्थ गौतमको कूटनीतिले काम गर्दछ । सानो घेरामा पारेर कपिलवस्तुले युद्ध जित्दछ । यस युद्धमा एकपटक राजा शुद्धोधन शत्रुपक्षबाट घेरिएर निकै ठूलो आपतमा परिसकेका हुन्छन्।प्रसन्नजितले शुद्धोदनको शिरच्छेदको लागि तरबार उचालिसकेका हुन्छन् तर सिद्धार्थको एउटा वाण प्रसन्नजीतले तरबार उठाएर हान्न लागेको आकाशतिर रहेको हातमा नै पस्दछ। आहत हुन पुगेका प्रसन्नजीत निमेषमै कपिलवस्तुको सेनाको घेरामा पर्दछन्। झन्डै पराजित भइसकेका प्रसन्नजीतका अगाडि सिद्धार्थले शान्तिको लागि यस्तो प्रस्ताव गर्दछन् ः युद्धले केवल विनाश गर्ने भएकोले दुवैतर्फका एक एक योद्धाले मात्र युद्ध लडून्, जुन पक्षको योद्धाको हार हुन्छ उसको हार र जुन पक्षको योद्धाको जीत हुन्छ उसको जीत हुनेछ । यसमा पनि कपिलवस्तुको जीत हुन्छ र कौशलनरेश प्रसन्नजीतले हार स्वीकार गर्दछन्।
युद्धभन्दा अगाडि, युद्धको समयमा र युद्धभन्दा पछि पनि सिद्धार्थ गौतमको मनुष्यताले सबैलाई आश्चर्यचकित तुल्याएको थियो । युद्धमा पनि मानिस कसरी नमरोस् भन्ने सिद्धार्थको उद्देश्य तथा परीक्षण अहिले पनि मानवतावादको दृष्टिकोणले अत्यन्त उच्च कोटिको रहेको छ । महामानव सिद्धार्थ गौतमलाई शान्तिका अग्रदूत भनेर विश्वले यसै चिनेका होइनन् । सिद्धार्थले चाहेका भए वा नरोकेका भए कपिलवस्तुको शत्रु प्रसन्नजीतको तत्क्षण शिरच्छेद हुन्थ्यो । युद्धपछि कपिलवस्तुका विभिन्न राजाहरुले युवराजसित शत्रुलाई युद्धमा किन छोडेको भनेर प्रश्न पनि गरेका थिए राजसभामा तर उनले मानवतावादको पाठ सबैलाई पाठ पढाए । अहिंसाको पाठ पढाए । सिद्धार्थलाई उनका गुरु कौडिन्यले एकपटक भनेका थिए : तिमी बहुत गज्जब छौ सिद्धार्थ, युद्धमा पनि अहिंसाको खोजी गर्दछौ । वास्तवमा सिद्धार्थको मानवतावाद कति उच्च थियो भन्ने यसबाट पनि बुझ्न सकिन्छ।
शाक्य संघ अध्यक्ष शुद्धोदनको शिरच्छेद हुनै लाग्दा सिद्धार्थले जोगाउनु र प्रसन्नजीतको शिरच्छेदबाट पनि जोगाएर अझ दुवैतिरका हजारौँ सेनालाई युद्धमा मृत्यु हुनबाट जोगाउनु आदि कार्यले युवराज सिद्धार्थलाई कूटनीतिज्ञ तथा बुद्धिमान योद्धाका साथै शान्तिवीरको रूपमा परिभाषित गर्न पर्याप्त छ ।
युद्धको विभीषिका अन्त्य भएपछि सिद्धार्थ र यशोधराको विवाह भएको हो । विवाहमा शाक्य संघका सबै राजाहरु आएका थिए । साथै कौशलनरेश प्रसन्नजीत पनि आएका थिए । सिद्धार्थको विवाहमा मगध नरेश बिम्बिसार पनि आएका थिए भने वैशाली नरेश पनि पुगेका थिए । वैशाली नरेशलाई शुद्धोदनले निम्तो पठाउँदा नै नगरबधू अम्बपाली (आम्रपाली) लाई लिएर आउन आग्रह गरेका थिए।सिद्धार्थको विवाहमा वैशालीकी नगरबधूको पनि सहभागिता भएको थियो। आम्रपालीको प्रशंसा त्यत्तिबेलासम्म सर्वत्र व्याप्त भइसकेको थियो।बिम्बिसार, प्रसन्नजीत र शाक्य संघका राजाहरुले केवल नाम र प्रशंसामात्र सुनेका थिए आम्रपालीको तर पहिलोचोटि देख्ने अवसर भने सिद्धार्थको विवाहमा नै प्राप्त गरेका थिए । स्वयं राजा शुद्धोदनले पनि आम्रपालीको प्रशंसा गरेका थिए। आम्रपाली कालान्तरमा जीवनको उद्धरार्धमा बुद्धकी शिष्या बनेकी थिइन्।ज्ञान प्राप्त गरेपछि भगवान बुद्ध लामो समय वैशालीमा बसेका थिए।बौद्ध साहित्य तथा वैशालीको इतिहास दुवैले कम्तीमा तीनपटक भगवान बुद्ध वैशाली पुगेको उल्लेख गर्छन् । भगवान बुद्धको महापरिनिर्वाणको तीन वर्षपछि वैशालीमाथि बिम्बिसारका छोरा अजातशत्रुले आक्रमण गरी ध्वस्त पारेका थिए । के भनिन्छ भने आम्रपालीले बुद्धको भक्तिमा विभिन्न भजनहरु लेखेकी थिइन् तीमध्ये सत्तर भजन बज्जिका भाषामा रहेको थियो।यसै कारण नेपालका भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेल भन्दछन् : बज्जिका भाषाको सम्बन्ध गौतम बुद्धसित जोड्नु बढी सान्दर्भिक हुन्छ।
हुन त मंगलाले सिद्धार्थ–यशोधरा विवाहमा बाधा उत्पन्न गर्न अनेक षड्यन्त्र गरेकी थिइन् तर सबै षड्यन्त्रहरु असफल हुँदै गए । सिद्धार्थ–यशोधरा विवाह अत्यन्त भव्यतापूर्वक सम्पन्न भएको थियो।विवाहपश्चात् सिद्धार्थ र यशोधरालाई नगर परिक्रमा पनि गराइएको थियो।भनिन्छ सिद्धार्थ र यशोधरालाई नगर परिक्रमा गराउनको लागि तयार पारिएको रथमा प्रयोग गरिएका दुई घोडामध्ये एक थियो सिद्धार्थको आफ्नो कन्टक घोडा र अर्को त्यही घोडा थियो जुन प्रसन्नजीतले अश्वमेघ यज्ञका लागि छाडेका थिए । सिद्धार्थको सारथिको नाम चन्ना थियो । सिद्धार्थ र चन्नाको जन्म एकै समयमा भएको थियो।चन्नाका पिता पनि सिद्धार्थका पिताका सारथि थिए । सिद्धार्थको जन्म भएपछि शुद्धोदनले खुसी भएर केही माग्न भन्दा उनका सारथिले मागेका थिए: मेरो छोरो चन्नाले पनि सिद्धार्थको सारथि बन्ने सौभाग्य प्राप्त गरोस्।
राजा शुद्धोदनले सहर्ष स्वीकार गरेका थिए र कालान्तरमा उही चन्ना सिद्धार्थका सारथि र असल मित्र पनि बन्न सफल भएका थिए । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मजयन्तीको असरमा विश्वका हरेक मानिसमा मानवताको उच्च भाव सञ्चार होओस् भन्ने शुभकामना व्यक्त गर्दछु।
-सञ्जय साह मित्र,रौतहट
पत्रकार/लेखक
प्रतिक्रिया