माहामारी कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको जटिल अवस्थामा सबै कार्यालय,विद्यालय र करकारखाना बन्द छन्।मेरो विद्यालय पनि अनिश्चित कालसम्म बन्द छ।कोरोना भाइरसको दोस्रो लहर समेत सुरु भएपछि घरभित्र बस्न म बाध्य छु।घरबाहिर गएर परिवारसँग घुम्न मन त लाग्छ।तर कोरोनाको त्रासले हामीलाई घरिघरि सताउँछ।टेलिभिजन हेर्दा जहिले पनि कोरोनाकै खबर हेराउँछ।दिनभरि घरभित्र बस्दा के-गरौँ के-गरौँ जस्तो हुन्छ।घरभित्र बस्दा-बस्दा दिक्क लागेको बेलामा पुस्तकहरु पढ्ने, लेख लेख्ने जस्ता कार्यहरुमा मेरो रुची जान्छ।
आजभोलि लेखन कार्य मेरो दैनिकी जस्तो भइसकेको छ।अहिले माहामारीको अवस्थामा दिनभरि घरभित्र बसेको बेला लेख लेख्नु मलाई उपयुक्त लाग्छ।लेख्न नपाउँदा दिन खल्लो भए झैँ लाग्छ।कविता,निबन्ध र कथा लेख्न म रुचाउँछु।यी मध्ये मलाई कविता लेख्न सबभन्दा धेरै मनपर्छ।कविता मेरो भाव व्यक्त गर्ने माध्यम हो। नयाँ-नयाँ सन्देशमूलक शीर्षकहरुमा कविता लेखेर इमेलमार्फत पत्रपत्रिकाहरुमा पठाउँछु।मेरा थुप्रै लेख तथा कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन्।एउटा लेख लेख्न कति मिहिनेत गर्नुपर्छ भन्ने कुरा लेखकलाई नै थाहा हुन्छ।कुनै पनि लेख वा कविता लेख्नु अघि उपयुक्त र सन्देशमूलक शीर्षक तोक्नुपर्छ।उक्त शीर्षकको आधारमा आफ्नो भाव विस्तार गर्दै लेख लेख्न सुरु गर्नुपर्छ।हामीले लेखेको लेखले कुनै न कुनै सन्देश,निष्कर्ष वा सूचना दिनुपर्छ।यी सबै कुराहरु मध्यनजर गर्दै म लेख वा कविता रचना गर्छु।सम्पूर्ण रुपले लेख तयार भएपछि उक्त लेखलाई म एकचोटि पढ्छु। कुनै त्रुटि फेला परेमा त्यसलाई सच्याउँछु।यी सबै कार्यहरु गरेर मात्र पत्रपत्रिकाहरुमा प्रकाशनको लागि आफ्नो लेख पठाउँछु।निकै परिश्रम गरेर राम्रो लेख तयार भएपछि मलाई आन्तरीक खुसी प्राप्ति हुन्छ।आफूले रचना गरेको लेख म आफ्नो आमाबुवालाई पढ्न दिन्छु।उहाँहरुबाट आफ्नो लेखको प्रशंसा सुन्न पाउँदा मेरो हर्षको सिमा नै रह्दैन।
कोरोना कहरमा लेख्ने रहर मेरो लागि निकै लाभदायी साबित भएको छ।नेपाली भाषामा शुद्धसँग लेख्ने कार्यमा मैले निकै प्रगति गरेको छु।नियमित लेख्दै जाँदा मेरो हस्तलेखनमा पनि सकारात्मक प्रभाव परेको छ।यसले गर्दा मेरो लेख्ने क्षमता पनि अभिवृद्धि भएको छ।लेखन कार्यमा हामी सबैको ध्यान जानु पर्छ। लेख मार्फत हामी आफ्नो भाव व्यक्त गर्न सक्छौँ।लेखन कार्य गरेर हामीले वर्तमान समयको सदुपयोग गर्नुपर्छ।
नाम: सिद्धान्त
कक्षा: ७
बूढानीलकण्ठ स्कुल,काठमाडौँ।
प्रतिक्रिया