हाम्रा बुढा पाका हजुर आमा र हजुर बाले त्यसै अर्ति दिएका रहेन छन् की अनिकालमा बिउ जोगाउनु र हुलफालमा ज्यू (परान)जोगाउनु भनेर।हाम्रा पुर्खाहरुले विभिन्न कालखण्डमा आफुले भोगेका र परापुर्वकालदेखि मानिसहरुले सामना गर्दै आएका विभिन्न समस्याको समाधान पनि उनिहरुले परम्परागत अनि प्राकृतिक रुपमा गर्दै आएपनि।
तत्कालिन अवस्थामा विज्ञान र प्रविधिको कुनैपनि विकास नभैसकेको अवस्थामा मानिसहरुले कुनै रोग व्याधी लागि हाल्यो भनेपनि त्यसको उपचार प्राकृतिक रुपमा खोजिन्थ्यो।वन जंगल र हिमालमा पाईने विभिन्न जडिबुटीको अध्ययन,अनुसन्धान गर्ने र विरामी परेका मानिसहरुलाई प्रयोग गर्ने पद्धति थियो त्यो बेला।अँझैपनि गाउँ घरमा बुढापाकाहरुले जंगली जडिबुटीको नियमित प्रयोग गर्ने परम्परा कायमै छ।
कतिपय झारफुक गर्ने परम्परा पनि अँझै गाउँघरहरुमा कायमै रहेको पाईन्छ। विगत एक सय बर्ष पहिले नेपालमा बिद्यमान धार्मिक,साँस्कृतिक एवं परम्परागत चाल चलनमा केहि हदसम्म कमि भने अवश्यपनि आएको छ।
नेपालमा प्रजातन्त्र आई सकेपछि केहि कुराहरुमा व्यापक परिवर्तन भने अवश्यपनि आएको छ।
गाउँघरमा स्वास्थ्य चौकिको स्थापना,अस्पताल देखि लिएर अन्य सुविधाहरुपनि थपिदै गएका छन्।हाम्रा पुर्खाहरुले तत्कालिन अवस्थामा विरामी पर्दा अस्पतालको नाम समेत देख्न पाएनन्।तत्कालिन अवस्थामा स्वास्थ्य चौकि र डाक्टर भनेकानै धामी,झाँक्री,गुरुवा,बैद्य देखि लिएर जंगलका औषधी मात्र उपलब्ध हुन्थ्यो।
मानिसहरुले त्यहि परम्परागत उपचार र औषधीको भरमा पर्नु पर्ने अवस्था हाल आएर हराएको भएतापनि केहि केहि स्थानहरुमा भने अँझैपनि अवशेषका रुपमा देख्न पाईन्छ।
हाम्रा पुर्खाहरु कम्तीमा पनि ९० देखि १ सय बर्ष सम्म बाँच्ने गर्दथे।त्यतिबेलाको वातावरण खासै प्रदुषित पनि थिएन।मानिसहरु प्राकृति एवं वातावरणीय रुपमा निकै मजवुत हुन्थे।खान पाना आहार व्यहार आज भन्दा सयौं गुणा हितकारी थियो तत्कालिन अवस्थामा।मानिसहरुले आफ्नै बारीमा उत्पादन भएका तरकारी,अन्न,फलफुल देखि लिएर जडिबुटीको प्रयोग गर्ने गर्दर्थे।स्वस्थ खानपान,आहार विहार देखि लिएर शारिरिक कसरतका कारण पनि मानिसहरु तत्कालिन अवस्थामा निरोगी हुन्थे।पछिल्लो समयमा नेपालमा विदेशबाट आयातित फलफुल,बिषादीयुक्त तरकारी,माछा मासु देखि लिएर दैनिक जीवनमा उपयोग हुने खाद्य पदार्थहरु समेत मिसावट हुने गरेका कारण पनि मानव स्वास्थ्यमा नराम्रो असर पुग्ने र विभिन्न प्रकारका रोगब्याधीहरु लाग्ने समस्याहरु बढ्दै जानपनि थालेका छन्।
बुढापाकाहरुले कलियुगमा के के देख्न पाईने हो ,मानिसले मानिसको आहार गर्ने बेला समेत आउन बेर छैन।परम्परा नाँसिदै जाने र आधुनिकताका नाममा सबै प्राकृतिक एवं वातावरणीय रुपमा मानव जीवन स्खलित हुँदै जानेछ भनेर भनेका कुराहरु यति बेला लागु भैरहेका पनि छन्।
पुर्खाहरुले भोगेका अतितका व्याथा,पिडा,समस्या अनि भोगाईहरुको संगालोनै उनिहरुले दिने अर्ति र उपदेशनै थिए।तीं अर्ति र उपदेशलाई आजको युवाजमातले व्यवास्था गर्दै हिड्न थाल्यो।आधुनिकताका नाममा परम्परागत अनि वैज्ञानिक तथ्यलाई अस्वीकार गर्दै विज्ञानका कतिपय बेमेल खाने कुराहरुलाई परम्परागत कुराहले छेकबार लगाएको छ भन्ने खालका कुतर्कहरु अघि सारेर विज्ञानको पछि लाग्ने हाम्रो युवा जमातका लागि पुर्खाहरुले दिएका अर्तिको अनुशरण नगर्दानै आज नेपालीहरुले दुःख खेप्नुपरिरहेको छ।
नेपाली समाजको आफ्नै विशिष्ठता थियो विगतमा।विगतको नेपाली समाज आफैमा पनि उन्नत थियो।त्यहि समाज भित्र बस्ने हरेक नेपालीमा एकता,सद्भाव,भाईचारा अनि एकले अर्कोको पिडामा साथ र सहयोग दिने नैतिक धरातल पनि थियो।आज तीं सबै एक पछि अर्कोगरी विलिन हुँदै जान थालेका पनि छन्।
नेपाली पनमा आएको गिरावटले नेपाली समाज आज विरानो बन्दै जान थालेको छ।नेपाली सभ्यता,परम्परा अनि साँस्कृतिक एकतामा वैदेशिक प्रभाव पर्दै जान थालेका कारण पनि आज नेपाली मन र पनमा अमिलो मिश्रण देखा पर्दै जान थालेको छ।
नेपाली समाजको परम्परागत रितीरिवाज,चाल चलन र वैज्ञानिकतामा बैदेशिक संस्कृति हावी हुँदै जान थालेपछि त्यसले नेपाली समाजलाई अधोगतितर्फ धकेलिरहेको छ।
हाम्रा पुर्खाहरुले वैज्ञानिकरुपमा विभिन्न प्रकारका अर्ति उपदेशहरु छोडेर गएका छन्।विभिन्न विपद्,हैजा,दादुरा,विफर,टाईफाईड,औलो जस्ता रोगहरुबाट थुप्रै पुर्खाहरुले ज्यान समेत गुमाएका थिए।त्यहि भोगाई र अनुभवलाई आधार बनाएर नेपाली पुर्खाहरुले भावि सन्ततिका लागि बेला बखत अतितका तिता अनुभूती र आफुले भोगेका विपतका बारेमा अर्तिको रुपमा जानकारी दिने,साँझको खाना पश्चात वल्लो पल्लो घरका मानिसहरु एकै ठाँउमा जम्मा भएर बात हाल्ने( अतितका कथाहरु भन्ने) परम्परा पनि थियो।यति बेला त्यस्ता अवसरहरुबाट आजको युवा पिंढी पुर्ण रुपले बन्चित छन्।
पुराना मानिसहरु विस्तारै घट्दै जान थालेपछि परम्परागत कथा,बचन र बाणीहरु पस्कने स्रोतपनि घट्दै जान थालेको छ । आजको युवा पिढीले पुराना अर्ति उपदेश सिक्नु त परै जाओस् आफ्नो कला र संस्कृति के कस्तो छ वा थियो भनेर अव अरुबाटनै सोधी खोजीको बिषय बनाउनु पर्ने अवस्था आई सकेको छ ।
हाम्रा पुर्खाहरुले भावि सन्ततिका लागि भनेर जून अर्ति र उपदेशहरु छोडेर गएका छन् त्यसको अक्षरसः पालना गर्ने तप्काको पनि नेपालमा कमि हुन थालेको छ।पुर्खाहरुले बेला बखत विभिन्न कालखण्डमा दिएका अर्तिहरुको पालना गर्ने र त्यति अर्तिलाई जीवनमा कानुन बनाएर पालना गर्दै जाने दिसामा आजको युवा पंक्तिले सोच विचार गर्न नितान्त जरुरी देखिन्छ।
पुर्खाहरुले आज्र्याको मूलुक अनि यो मुलुकको भाग्य र भविश्यका बारेमा पनि उनिहरुले सोचेका र पोखेका दिव्यबचनहरुको सहिरुपले जीवनमा लागु गर्ने दिसामा आजको नेपाली समाजले नैतिकता सोचेर कार्यान्वयन गर्न सक्ने हो भनेपनि नेपाली समाजले विगतका सकरात्मक पक्षबाट धेरै लाभ लिन सक्ने सम्भावना रहन्छ।
-वीरेन्द्र रावल
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया