विश्वका सम्पूर्ण हिन्दुमा रामायण अति प्रचलित र प्रिय ग्रन्थ हो।रामायण महाकाव्य हो।रामायण धार्मिक ग्रन्थ हो।रामायण इतिहास हो।रामायण संस्कृति हो।रामायण धरोहर हो।रामायण के होइन ? वास्तवमा रामायणले जति लोकप्रियता अरु कुन ग्रन्थले पाउन सकेको होला ? यस कारण हिन्दु धर्मप्रति आस्था राख्ने हरेक जाति,भाषा,समुदाय तथा भूगोलमा रामायण लेखिएको छ।यद्यपि रामायणमा सबैभन्दा प्रचलित र प्रसिद्ध वाल्मीकी रामायण हो।अहिले प्रयोग र प्रचलनका साथै चर्चामा रहेका सबै रामायणको मूल आधार यसैलाई मानिएको छ।
वाल्मीकीय रामायणसँगै रामचरितमानस् पनि निकै प्रख्यात रहेको छ यस क्षेत्रमा ।नेपाली भाषामा भने आदिकवि भानुभक्त आचार्यको रामायण निकै प्रशंसित छ। बज्जिकांचलमा प्रा.डा.(डि.लिट्.)अवधेश्वर अरुणको रामायण खूब प्रख्यात छ। यसरी भूगोल,क्षेत्र र भाषा तथा संस्कृतिअनुसार विभिन्न लेखकका रामायणको आफ्नै किसिमको महत्व रहेको छ तर सबैको मूलमा भने अहिलेसम्म वाल्मीकीय रामायण नै रहेको स्पष्ट हुन्छ।
रामायणमा जुन आख्यान रहेको छ,त्यसका मूल नायकपात्र हुन् मर्यादापुरुषोत्तम राम।रामलाई भगवान विष्णुको अवतार मानिएको छ।यस आख्यानको मूल नारी पात्र हुन् सीता।सीतालाई जानकी पनि भनिएको छ।मूलतःयी दुई पात्रको वरिपरि नै सम्पूर्ण रामायण रहेको छ।पूर्वीय साहित्यमा यस महाकाव्यको आख्यानजति अन्य कुनै पनि महाकाव्यको आख्यानले लोकप्रशंसा पाउन सकेको छैन।यस महाकाव्यलाई कथामा सबैको सहानुभूति निरन्तर जानकीप्रति रहन्छ।जानकीको विवाह अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र राम सित भएको हो।भवितव्यले राम वनवास जाँदा जानकी पनि जान्छिन् र त्यहाँबाट उनको अपहरण हुन्छ।अपहरण गर्ने लंकाका राजा रावण हुन्छन्।रावणलाई निकै कठिन युद्धमा हराएर रामले सीतालाई मुक्त गराई अयोध्या फर्किन्छन्।अयोध्यामा रामराज्य सुरु हुन्छ।केही अपवादले गर्दा जानकीको राज्य बहिर्गमन हुन्छ र ऋषि वाल्मीकीको आश्रममा जानकीले दुई पुत्र कुश र लवलाई जन्म दिन्छिन्।दुई पुत्रको मिलन पिता रामसित भएपछि जानकीले धरती समाधि लिन पुग्छिन्।जानकी धरतीकी पुत्री भएकीले उनले आह्वान गरेपछि धरतीले उनलाई आफ्नो काखमा लिएकी हुन् भन्ने विश्वास रहेको छ।यहाँ धरतीकी पुत्री जानकी कसरी भइन् ? यस विषयमा अलिकति मिथक र केही शास्त्रीय कथनको सहारा लिने प्रयास गरिएको छ।जगत्जननी जानकी सीताको जन्म धरतीबाट भएको हो।
भनिन्छ,राजा सिरध्वजको शासनकालमा जनकपुरीमा एक समय दुर्भिक्ष परेको थियो।दुर्भिक्षको निवारणको लागि पुरोहितहरुले कृषियज्ञ गर्नुपर्ने सल्लाह दिए। कृषियज्ञमा राजा सिरध्वज आफैले त्यस्तो स्थानमा हलो जोत्नुपर्ने थियो जहाँ हलो जोतिएको छैन।यसको लागि वनप्रान्त नै उचित भएको पुरोहितहरुको भनाइ रह्यो ।जनक सिरध्वज आफैँमा पनि विद्वान थिए र विद्वानहरुको कदर खूब गर्दथे। राजा सिरध्वजले सबैसित सरसल्लाह गरी उपयुक्त स्थलको चयन गरियो र सबै पुरोहित तथा ज्योतिषीहरुको राय भएको दिन हलो जोत्ने काम पनि गरे।राजा जनकले हलो जोतेको भनिएको ठाउँ कहाँ हो त ?
कतिपय शास्त्रहरुले राजा जनकको कृषियज्ञ अर्थात् हलो जोत्ने यज्ञलाई हल–कर्षण–यज्ञ भनेको छ।वृहद्विष्णुपुराणमा पनि यही भनिएको छ र यस यज्ञको लागि चयन गरिएको भूमिलाई हल–कर्षण–यज्ञ–भूमि भनिएको छ।यस पुराणअनुसार हल–कर्षण–यज्ञ–भूमिबाट सीताको जन्म भएको वा सीता अवतीर्ण भएकी थिइन्।पुराणमा उल्लेख भएअनुसार यो भूमि सम्राट जनकको राजनगर (जनकपुरी)भन्दा पश्चिम तीन योजन अर्थात् चौबिस माइल अवस्थित थियो।यो भूमि लक्ष्मणा नदीको किनारमा रहेको उल्लेख गरिएको छ।लक्ष्मणा नदी भनेको लखनदेई हो।लखनदेईको किनारमा नै सीतामढी रहेको छ र सीतामढीमा लखनदेई नदीभन्दा पश्चिम जानकी मन्दिर छ।जानकी मन्दिरभन्दा केही पश्चिम–दक्षिण पुनौराधाम छ।पुनौराधाममा पनि मन्दिरहरु निर्माण गरिएका छन् र सिरध्वज जनकले यही नै कृषियज्ञ सम्पन्न गरेका थिए भन्ने भनाइ आदिकालदेखि चल्दै आएको छ।
राज्यको सीमाक्षेत्रमा सिरध्वज जनकले हलो जोत्न सुरु गरे, हलो जोत्ने क्रममा नै हलोको फाली अड्कियो।हलोको फाली एक घैंटामा अडकिएको थियो।र त्यही घैटाबाट जगत्जननी जानकीको जन्म भयो।जानकी प्रकट हुँदा स्वतःप्रकाशवान थिइन् रे।यस्तो जनश्रुति पाइन्छ।जब सीता प्रकट भइन् तब एक छिनपछि वर्षा सुरु भयो।जानकी प्रकट भएको ठाउँ सीतामढीको पुनौराधाम हो भनिन्छ।त्यहाँ एउटा प्राचीन पोखरी र मन्दिरहरु रहेका छन्।जानकी प्रकाट्यस्थली भनेर स्थानीयले परिचित गराउँदै आएको छ।यो ठाउँ सुरक्षित छ र वर्षेनी हजारौ दर्शनार्थी पर्यटक यहाँ पनि पुग्ने गर्दछन्।
सिरध्वज जनक आफ्नो राज्यको सीमामा हलो जोत्न गएको समय विश्रामको लागि फुसको मडई (छाप्रो) बनाइएको थियो।हलो जोतेपछि वर्षा सुरु हुन थाल्यो। राजा, पुरोहित तथा सेवक र सुरक्षाकर्मी समेतको बस्नको लागि बनाइएको छाप्रोस्थलमा आए।जानकीको सुरक्षाको लागि पनि पानीबाट बचाउनु परेको थियो ।लामो दुर्भिक्षपछि वर्षा हुन थालेको थियो।राजा सिरध्वज जनक भूमिसुता जानकीलाई लिएर जुन मडई (छाप्रो)मा बसे,त्यस मडईलाई सीतामडई भनिन थाल्यो।वर्षा भएर राज्यको उद्धार भएको,धरतीबाट प्रकट हुँदा स्वयंमा प्रकाशवान भएको तथा देवताहरुसमेतले आकाशबाट पुष्पवर्षा आदि गरेकाजस्ता भनाइहरु प्रचलित भए र सिरध्वज जनक सीतासहित बसेको मडईलाई हेर्न मानिसहरु चारैतिरबाट ओइरिन थाले।जनसाधारण,सामन्त,ऋषिमुनिहरु समेतले सीता बसेको मडईलाई अत्यन्त श्रद्धा गर्न थाले र उक्त मडई सीतामडईको नामले प्रसिद्ध हुन पुग्यो।कालान्तरमा त्यहाँ बसेको बस्ती नै सीतामडई कहलाउन थाल्यो।सोही वस्ती अहिले सीतामढी सहरको नामले प्रसिद्ध छ।जहाँ सीताको मडई निर्माण गरिएको थियो त्यहाँ अहिले जानकी मन्दिर छ।सीतामढी जिल्लाको प्रमुख धार्मिकस्थल यही हो।जनक (राजा)को नाउँबाट जनकपुर प्रसिद्ध भएजस्तै सीताको मडईबाट सीतामढी प्रसिद्ध छ।
जानकीलाई भूमिसुता पनि भनिन्छ।भूमि अर्थात् जमिनको गर्भबाट उत्पत्ति भएकोले सीतालाई भूमिसुता पनि भनिएको हुनुपर्छ।जनकद्वारा पालित भएकीले जानकी स्वाभाविक नाम हो।जनकसुता जानकी वा भूमिसुता सीतालाई ऊर्वीजा पनि भनिन्छ।ऊर्वी शब्दको अभिप्राय पृथ्वी हुन्छ र जसमा जा प्रत्यय लागेको छ।जा प्रत्ययले जन्मनु वा जन्म लिनु भन्ने अर्थतर्फ संकेत गर्दछ।यसरी ऊर्वीजाको अर्थ हुन थान्छ–पृथ्वीबाट जन्म लिनु।सिरध्वज जनकले हल–कर्षण–यज्ञ गर्दा पृथ्वीबाट उत्पन्न भएको कारण ऊर्वीजा पनि भनिएको हो।भूमिबाट उत्पन्न भएकीले भूमिपुत्री या भूसुता समेत नाम रहेको जानकी मिथिलाकी राजकुमारी भएकीले मैथिली पनि कहलाइन्।सीतालाई जनकात्मजा वा जनकसुता पनि भनिएको पाइन्छ।
कतै माटाको घैंटा त कतै बाकस वा पेटी भनेर उल्लेख गरिएको छ जसबाट सीता प्रकट भइन्।त्यो कहाँबाट त्यहाँ आयो ? यस विषयमा पनि किंवदन्तीहरु प्रचलनमा रहेका छन्।के भनिन्छ भने लंकापति रावण सबैसित कर असुल गर्दथे।राज्यका बासिन्दा जो सुकै भए पनि अनिवार्य कर तिर्नु पर्दथ्यो।भिक्षु, सन्न्यासी,ऋषि वा अतिविपन्न जो भए पनि अनिवार्य कर तिर्नु पर्दथ्यो।एकचोटि यही कर असुली गर्ने समयमा जोसित केही पनि थिएन।केही पनि थिएन भन्नुको तात्पर्य द्रव्य वा अन्न केही पनि थिएन तिनीहरुसित करस्वरुप तिनको शरीरबाट रगत निकालियो।त्यही रगतलाई एउटा माटोको भाँडोमा जम्मा गर्दै लगियो र यो अनौठो कर जब राजाको दरबारमा सम्बन्धित कर संकलनकर्ताले पुर्याए र त्यसको बारेमा विस्तृत कुराहरु भने,तब त्यहाँ उपस्थित रावणका पुरोहित तथा जान्नेहरुले त्यसलाई अनिष्टको रुपमा व्याख्या गरे।त्यस रगतलाई यथाशक्य शीघ्र नष्ट नगरे राजासहित राज्यको नाश हुने भविष्यवाणी गरे।यो सुनेर राजा रावण स्वयं द्रूतगामी रथमा आरुढ भई आकाशमार्गबाट आफ्नो राज्यको सीमाभन्दा निकै टाढाको जंगलमा पुर्याएर खाल्टो खनी रक्तपात्रलाई जमिनमा गाडिदिए । रावणलाई के विश्वास थियो भने यति धेरै टाढा रक्तपात्रलाई पुर्याउन सफल भएपछि उक्त रक्तपात्रबाट आफूलाई र आफ्नो राज्यलाई कालान्तरमा कुनै नोक्सानी हुने सम्भावना थिएन।कालान्तरमा त्यही ठाउँमा सिरध्वजले कृषियज्ञ गर्न पुगे र भूमिसुता सीता प्रकट भइन्।र,शास्त्रहरु साक्षी छन्:त्यही रक्तपात्रबाट जन्मिएकी धरतीपुत्री सीताको कारण रावण र उनको राज्य तहसनहस हुन पुगे।
पुराणहरुले रामलाई विष्णु मानेका छन् र सीतालाई लक्ष्मी।त्रेतायुगमा रामरुपी विष्णु र सीतारुपी लक्ष्मीको अवतार भएको पुराणहरु एकमत छन्।मुख्य गरी झन्डै सम्पूर्ण नेपाल तथा उत्तर भारतका करिब सम्पूर्ण हिन्दु नरनारी जो धर्म र अध्यात्मप्रति विश्वास गर्दछन्,सबैलाई यस कुराप्रति विश्वास रहेको छ।जानकीको अवतीर्ण वैशाख शुक्ल नवमीको दिन भएको मानिएको छ।जानकीको विषयमा अझ धेरै मिथकहरु प्रचलनमा रहेका छन् वा हुनुपर्छ।सम्भव भएसम्म यस्ता मिथकहरुलाई संकलन गर्नुपर्दछ।हाम्रो समाज र संस्कृतिका यस्ता धरोहरहरु प्रकाशमा आउनु पनि पर्दछ।जानकीबाट अझ धेरै प्रेरणाहरु समाजले लिन सक्ने देखिन्छ।यस प्रकारका सकारात्मक कुराप्रति चासो राख्दै प्रचारप्रसार गरिनु आवश्यक पनि छ।नेपालको राष्ट्रिय विभूति सीता प्रकाट्य तिथि अर्थात् सीता जयन्तीको विश्वका सम्पूर्ण सहृदयीमा हार्दिक शुभकामना छ।
-सञ्जय साह मित्र
पत्रकार/लेखक
प्रतिक्रिया