महामारीको चरम संकटले बदलिएको परिबार

टंक पन्त २०७८ जेठ ४ गते १४:२१ मा प्रकाशित

कोभिड १९ः नयां भेरियण्ट सहितको दोस्रो महामारीले परिबार पनि संगै बस्न नहुने अबस्थाको सिर्जना गरिदिएको छ।घरघरमा महामारी प्रबेश गरेको छ।स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउंदा अपनाउंदै पनि कहांबाट महामारी प्रबेश गर्यो थाहै भएन भन्दै परिबारका सदस्यहरुले बिलौना गर्ने गरेका छन।घरमा बस्दा पनि मास्क लगाउनु परेको कारण एक अर्काको अनुहार हेर्न पनि नपाइने मात्र होइन दुरी समेत कायम गरेर बसौ भन्न थालिएको छ।सामान्य रुखा खोकी लाग्यो कि लौ कतै कोरोनाले त समाएन भन्दै थप सतर्कता अपनाउनु पर्ने भयो है भन्नु पर्ने भएको छ।अति अफ्ट्यारो स्थितिले गर्दा परिबारमा खुशी भन्दा पनि त्रास बढदै गएको छ । जसले गर्दा परिबारमा थप पीडा हुदै गएको छ यो अबस्था आउनुलाई बिज्ञहरु पनि परिबार मात्र होइन सामाजिक बाताबरणलाई नै धुमिल बनाउन थालेको बताउछन।

हुन पनि कोरोना लाग्यो कि के हुने हो अबस्था भन्ने डर त्रास उच्च स्तरको रहेको छ।केही भैहाल्यो भने के गर्ने अस्पतालमा बेड छैन । अक्सिजन छैन । एकातिर अस्पतालमा भर्ना भएका मध्ये जटिल अबस्थामा पुगेका धेरैको ज्यान फर्काउन निकै गाह्रो छ भने अर्कोतिर बेड र अक्सिजन नपाएर पनि दिनहुं मान्छेले मृत्युबरण गर्नुपरेको कहाली लाग्दो अबस्थाले सिगो देशलाई गांजेको छ । यहि कहाली लाग्दो भयाबहको अबस्थाले गर्दा कोरोना महामारीबाट सबैभन्दा जोखिमको सुचिमा अहिले नेपाल परेको छ । यो भयानक परिबेशले परिबारको स्वरुप पनि बदलिएको छ।

महामारीको पहिलो चरणमा निकै सीमित संख्यालाई महामारीले छोएको थियो।मृत्यु हुनेको संख्या पनि निकै कम थियो । राज्यले समयमै लकडाउन गरेर कण्ट्रोल गरेको थियो । एउटा टोलमा एउटा घरमा एक जना कसैलाई कोरोना देखियो भने त्यो टोल नै सिल गरिन्थ्यो त्यतिमात्र होइन बाटोमा परेको घर छ भने त्यो बाटो नहिड्ने अबस्था थियो । हिडी हालेमा अर्कोतिर फर्केर हिड्ने समाज पनि यहि हो।अस्पतालमा लगेको बिरामीको अनुहार त के आफन्तहरुलाई अस्पतालको गेटबाट भित्र जान पनि दिइदैनथ्यो । कसैले मृत्युबरण गरयो भने त्यो लाश उठाउन निकै कठिन थियो।तर अहिले नयां भेरियण्ट सहितको दोस्रो लहरले यति धेरै भयाबह रुप लिएको छ र पनि गत सालको तुलनामा बिरामीलाई हेर्ने ब्यबहार र कार्यशैलीमा आमुल परिबर्तन आएको छ ।

अस्पतालमा पीपीइ लगाएर कोरोनाले मृत्युको मुखमा पुगेको बिरामीलाई पनि भेटन पाइन्छ , स्वास्थ्यकर्मीहरुले सुरक्षाका मापदण्ड अपनाएर उपचारमा कुनै कुनै कन्जुस्याई गरेका छैनन । गत साल धेरै चिकित्सक बिरामीको बेडमा सायदै पुग्थे नर्सहरुले दिएको रिपोर्टका आधारमा औषधि लेख्थे । अहिले हजार गुना खतरा छ ,कोरोना लागेका धेरैले ज्यान गुमाएका छन र पनि स्वास्थ्यकर्मी र परिबारका सदस्यले पनि हरेक जोखिमलाई प्रबाह नगरेर बिरामीको उपचार र स्याहार सम्हार गरेका छन।

अहिले पनि मलाई झलझली सम्झना आउछ गत साल गुल्मी बोख्रे माजराबाट उपचारार्थ काठमाडौ ल्याइएकी उमाकला कण्डेलले परिबारसंग अहिले जस्तो भेटघाट गर्ने अबसर पाएको भए सायद उहांको ज्यान जाने थिएन होला । अस्पतालले परिबारलाई गेटबाटै भित्र पस्न दिदैनथ्यो भने बेडमा सुतिरहेकी कण्डेललाई स्वास्थ्यकर्मीले पनि बिगतमा बिरामी भएर भर्ना हुंदा जस्तो के छ आमा कस्तो छ भन्दै पटक पटक सोध्न जादैनथे । यसै त घरमा पनि उहां कहिल्यै पनि एक्लै नबस्ने मान्छे दुइ हप्ता एक्लै जस्तो बेडमा बस्नुपर्दा र परिबारलाई भेटन नपाएकै कारण पनि उहांको मन कुडिदै गयो आत्मबल बढाउनु पर्ने समयमा परिस्थितिले नै आत्मबल घटायो अनि कारोनाले धेरै नलगाएको भएपनि उहांको दुखद मृत्यु भयो।अहिलेको जस्तो अबस्था हुंदो त शायद उहां अझै केही बर्ष अबश्य बाच्नु हुंदो हो।उहांकै परिबारका सदस्यहरु युबराज कण्डेल , बिमला काफ्ले , मीना शर्मा , नेत्र कण्ड्ेल सहित सिगो परिबार अहिलको अबस्था र गत सालको अबस्था सम्झदा टहलिने गरेको पाउछु।

तर अहिले घरघरमा महामारीले सताएको छ । निकै भयानक खालको अबस्था छ । केही दिनमा सन्चो होला भन्दा एक्कासी अफ्ट्यारो पार्ने गरेको छ । दुइ हप्ता अगाडिको मात्र कुरा हो स्वास्थ्य मापदण्डलाई ख्याल गर्र्देै घरमै उपचार गराइरहेकी शारदा पन्थले दाई तपाईको भाइको अक्सिजन कम भयो , अफ्ट्यारो भयो भन्दै फोन गरिन , बिहान साढे चार बजेको हुंदो हो । त्यतिखेरै देखि अस्पतालमा बेड नपाउने अबस्था थियो । अनि हातमुख पनि नधोइ गाडी स्टार्ट गरी हुंइकिदै गर्दा तीन चार वटा अस्पतालमा बेडका लागि फोन पनि गरे।ग्रिनसिटीका मित्र लोकबहादुर टण्डनले एउटा बेड मिलाएको छु १५ मिनेट भित्र बिरामी ल्याइ हाल्नुभयो भने पाउनुहुन्छ नत्र अहिलेको संकटमा रोक्न गाह्रो हुन्छ भन्नुभयो।अनि शंखमुल बस्ने भाइ रेवतीराम पन्थलाई आफनै गाडीमा राखेर बसुन्धरा स्थित अस्पताल ल्याएं । कोरोना पुष्टि भएको पनि ५ दिन भैसकेको बेला एक मनले सोचे एम्बुलेन्स खोज्नुपर्छ कि अर्को सोचाई आइहाल्यो बेडको अभाबका बेला बल्ल बल्ल बेड पाइएको छ १५ मिनेटमा त पुर्याइहाल्नुपर्छ नत्र बेड नपाउन सक्छ भनेर उनलाई आफ्नै गाडीमा राखेर इमेर्जेन्सी बत्ति बाल्दै भनेकै समयमा अस्पतालमा पुरयाउन सके।मनमा केही डर भएपनि त्यो बेला समयमा नै अस्पताल पुरयाउंदा निकै आनन्दकोे अनुभुति भएको थियो । नभन्दै केही समय पछि उपचार पछि उनी घर फर्किए पन।उनको पनि बीचमा एक पटक निकै डरलाग्दो रिपोर्ट आएको थियो। परिस्थिति त्यस्तै थियो थोरै नकारात्मक खालको कुरा सुन्दा पनि डराउनुपर्ने स्थिति थियो र अहिले पनि ।त्यसैले एक दिन परिबारमा भयानक पीडा भयो जुन कुरा बिरामीलाई पनि भनिएन।

रेवतीलाई अस्पताल लगेकै दिन सांझ परिबारका अर्का सदस्य मनु पन्थलाई पनि गाह्रो भयो , लक्षण पुरै कोरोनाकै थियो । सांझ उनलाई पुरानो बानेश्वरबाबाट आफनै घरमा ल्याएर सुरक्षित कोठामा राखे।अर्को दिन पीसीआर परिक्षण गर्दा उनको पनि पोजेटिभ देखियो । एकै दिन सांझ – बिहान पोजेटिभ बिरामीसंग संगै हिडेको थाहा पाउनेले मलाई बिभिन्न कुरा पनि सुनाए तर मैले किंचित ।मैले जे गरे ठीक गरेको छु आपतपरेको सेवा गर्नु मानबीय कर्तब्य हो भन्ने कुरालाई मैले सधै शिरोधार्य गर्ने गरेको छु आगामी दिनमा पनि गर्ने छु।निश्वार्थ भाबले सेवा गर्दा एक सयमा एका दुई बाहेक ९८ प्रतिशत सकारात्मक नै हुन्छ र त्यसले हानी गर्नबाट पनि बचाउछ । भनिन्छ नि भगवानले पनि हेर्छन भने जस्त।

भाई रेवतीलाई उपचारमा सम्पुर्ण रुपमा ध्यान दिएर सन्चो बनाउदा आफैले आफैलाई पनि नयां जीबन दिएको अनुभुति भएको छ।

किनकि पहिलो कोरोनाको महामारीको चपेटामा आफु पनि नराम्ररी परेको झल्झली सम्झना आएकै थियो । परेको बेला गर्न सक्ने सम्म गर्नुपर्छ मान्यता सधै नै रहने गरेको छ ।अस्पतालको दौडाइ लगायतका कारण परिबारमा छुट्टाछुटै बस्ने काम भने कडाइका साथ गरियो।म एकातिर,छोरी अर्कोतिर ,श्रीमती र छोरा अर्को कोठामा ,छोरी कान्छे अर्को कोठामा गरी केही दिन एउटै घरमा चारतिर बस्दा कम सास्ती र त्रास भएको थिएन तर त्यो कुरा कसैलाई भनिएन र भन्ने कुरा पनि भएन । हप्ता दिन दिन पछि घरमा त्यो स्थिति थाहा पाएर नजिकैका आफन्तलाई लामै समय डर भएछ । भेटघाट लामै समय भएन । देखा पर्दैमा त केही हुने होइन । हुन त भयाबह अबस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्नुलाई स्वभाबिक नै मान्नुपर्छ।स्वास्थ्य सुरक्षाका मापदण्ड पुरापुर अपनाइएको थियो र पनि केही डर त्रास भने नभएको होइन । परिस्थिति नै डर लाग्दो थियो । त्यति मात्र होइन दिनहुं अस्पताल जानुपर्ने थियो । निषेधाज्ञा भएकोले शारदा अनि आफनै नजिकका परिबारकै सदस्य सुर्य रेग्मी , मीना र म मात्र अस्पतालमा पुग्न सकिने अबस्था थियो।

यो त एउटा एउटा परिबारको उदाहरण मात्रै हो यस्तो अबस्था अहिले सर्बत्र छ अनेक परिबारले यो स्थितिको सामना गर्नुपरेको छ। १० , ११ जना परिबारमा सबैलाई कारोना लागेका समाचार दिनुहुं जसो बाहिर आएका छन।कतिपय एउटै परिबारका ५ जना सम्मले ज्यान गुमाएका छन । जसले गर्दा महामारीको चपेटाले पारिबारिक बाताबरणमा नै संकट आएको छ।संगै बसेर खाना खाने गफ गर्ने अबस्था पनि छैन यस्तो खालको सोच्दै नसोचिएको अबस्थाको सामना अहिले यतिखेर आम मानिसले गर्नुपर्ने बाध्यता छ। परिबारमै स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरेर बस्नु परेको छ । आफ्नै आंखा अगाडि जल्दाबल्दा ब्याक्तिहरुको ज्यान गैरराखेको छ।मिडियामा दिनहुं मुत्यु हुनेको खबर बढेको छ।सामाजिक संजाल श्रद्धान्जलि र समबेदनाले भरिएका छन । बिहानै फोन आउंदा झसंग हुनुपर्ने स्थिति छ।सामाजिक सजालमा कसैको फोटो देख्यो भने मन झसंग हुन्छ।कहिलेकाही त जन्मदिनको शुभकामना भनेर पोष्ट गरेको फोटो देख्दा पनि लौ केही भोकि भन्ने भय र त्रास हुन्छ अर्थात यदि ठुलो महामारीको सामना अहिले सम्म गर्नुपरेको थिएन।तर पनि संकटका बेला आफु पनि सुरक्षित भएर सक्दो सहयोग प्रभावितलाई गर्नु सबैको कर्तत्य हो।

देशभभरि अक्सिजन नपाएर मान्छे मर्दा पनि राज्यको जिम्मेबार पक्ष र नेतृत्वको ध्यान अझै पनि त्यसतर्फ गएको देखिएको छैन । बिरामी र आफन्त मात्र होइन आम नागरिकहरुमा केही भैहाल्यो भने कसरी बांचिने होला भन्ने भय र त्रास छ । जति आत्मबल बढाउने भने पनि बाताबरण त्यो अनुरुपको छैन । यस्तो महामारीको अबस्थालाई ध्यानमा राखी राज्यले सम्पुर्ण शक्ति र ध्यान दिनुपर्छ । अस्पताल संचालकहरुले संकटको मौका छोपी जसरी मनपरि शुल्क असुल्ने गरेका छन त्यो मानबीयता बिरुद्धको अपराध हो । कोरोना महामारी अगाडि सम्म एउटा रेट रहेको बेडको चार्ज कोरोना महामारीपछि दोब्बर तेब्बर बनाउदा पनि सरकारले थाहै नपाए जस्तो गरेको छ । निजी अस्पतालहरुले शुल्कमा गरेको मनोमानी बुद्धिलाई राज्यले कडाइका साथ नियन्त्रण गर्नुपर्छ र राज्यका तर्फबाट गर्नुपर्ने भुमिकामा कमी हुन दिनुहुदैन ।

केहीले गरेको बदमासीले गर्दा सबै मुछिने हुन्छ यसर्थ नागरिक दायित्व निर्बाह गरेका अस्पतालले ठुला हुं भनी मनपरि गर्नेलाई खबरदारी गर्नुपर्छ । खाना खादा खाएर पेट भरिदा डकार आउछ भने संकटको बहाना बनाएर थप अतुक सम्पत्ति जम्मा गरेपनि डकार आउने होइन र लिएर जाने पनि होइन यसर्थ निजी क्षेत्रका स्वास्थ्य संस्थाले महामारीका बेला आफनो क्षेत्रबाट आर्थिक मामिलामा पनि मानबीय भावना देखाउन सक्नुपर्छ।

आजका मिति सम्म नेपालमा ५ हजार ४ सय ११ जनाको ज्यान गैसकेको छ भने सक्रमण मुक्त ३ लाख ५२ हजार ४ सय २४ जना भएका छन।संक्रमित हुनेहरु ४ लाख ७२ हजार ३ सय ५४ जना छन।बिश्वभरि संक्रमितबाट ३४ लाख ६ हजार ६ सय एक जनाको ज्यान गएको छ भने १६ करोड ४३ लाख ५५ हजार ६ सय ५ जना सक्रमित भएका छन । यो संख्या दिनदिनै बढिरहेको छ।नेपालमा पछिल्लो समयमा दैनिक सरदर २ सयको मृत्यु भैरहेको छ।संक्रमणबाट मृत्यु हुनेहरुको परिबारले आफनो परंपरा अनुसार दाहसंस्कार गर्न नपाउने बिडम्वनापुर्ण अबस्था छ।मृतकबाट सक्रमण फैलिने भएकोले मृतकको ब्यबस्थापन नेपाली सेनाले गरिरहेको छ ।काठमाडौको पशुपतिमा दाहसंस्कार गर्ने ठाउको पनि अभाब बागमतिको किनार किनारमा सेनाले लगेर दाहसंस्कार गर्ने गरेको छ।दुइ हप्ता देखि देशमा निषेधाज्ञा जारी छ । महामारी पनि यस्तो ढंगले बढिरहेको छ मान्छेको मनै अमिलो भैरहेको छ । आम नागरिकहरुमा कसैले राम्रो काम गरेपनि सामाजिक संजाल वा फोन मार्फत बधाइ साटासाट गर्न पनि पटक्कै मन लाग्ने अबस्था छै ।यो भयाबह अबस्थामा आफु पनि सुरक्षित भएर अति जोखिममा रहेकाहरुपति सहयोगी हात बढाउनु पर्छ र महामारीबाट देशलाई मुक्त गर्न आम नागरिकहरु र सिगो देश एक भएर लाग्नुपर्छ । त्यो नै आजको प्रत्येक नागरिकको कर्तब्य हो।

समाचारपत्रबाट

[email protected]

प्रतिक्रिया