५६० थान अक्सिजन सिलिन्डर आज नेपाल पुग्दै

इनेप्लिज २०७८ जेठ १ गते १२:०५ मा प्रकाशित

“नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं” भन्ने नारा सहित गैर आवासीय नेपाली संघ, मध्यपूर्व संयोजन समितिद्वारा थालिएको अभियानमा कतारबाट मात्र पछिल्लो तीनदिनमा १७८ थान सिलिण्डरको मूल्य बराबरको रकम र नगद प्रतिवद्वताको रकम २६ हजार २ सय ३५ कतारी रियाल गरी कुल १ लाख, ४ हजार, २ सय कतारी रियाल भन्दा बढी उठेको छ।

अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानका मध्यपूर्व संयोजक समेत रहेका गैर आवासीय नेपाली संघका सचिव आरके शर्माले दिएको जानकारी अनुसार १ थान अक्सिजन सिलिन्डरको मूल्य नेपाल पुग्दासम्म १२० अमेरिकी डलर बराबर पर्ने र सोहि अनुसार सहयोग जुटाउन उनले अपील गरे बमोजिम कतारबाट मात्र उक्त रकम संकलन भएको हो।

शुरुमा ६०० सिलिन्डर नेपाल पठाउने भनिएको भएपनि आजको (शनिबार,जेष्ठ १ गते) उडानबाट कुल ५६० थान सिलिन्डर नेपाल पुग्ने सचिव शर्माले जनाकारी दिएका छन्। “हामीले आजको उडानबाट ५६० थान सिलिन्डर नेपाल पठाउँदै छौं, नेपालको समय अनुसार आज साँझ ०६:४० मा काठमाण्डौमा अवतरण हुँदैछ।”

गत बिहिबार गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद कतारद्वारा भर्चुअल मार्फत आयोजना गरिएको ‘ईद मिलन’ कार्यकममा कतारमा स्थापित संघ संस्थाहरुलाई एनसीसीका कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमान र आईसीसी सचिव आरके शर्माले सहयोग जुटाउन सामुहिक अपील गरेका थिए।

हालसम्म करीव ५० भन्दा बढी संघ संस्थाहरु, व्यवसायीहरू, बुद्धिजीवीहरूको सहभागिताबाट उक्त सहयोग जुटेको र अझैं सहयोग जुट्ने क्रम जारी रहेको एनसीसी कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमानले जानकारी दिएका छन्।

प्रतिक्रिया