लिच्छवि र रौतहट

सञ्जय साह ‘मित्र’ २०७८ वैशाख २० गते २२:२० मा प्रकाशित

शीतल गिरीले रौतहटमा मानिसको बसोबास ई.पू. १००० तिर अर्थात् करिब ३१०० वर्ष पहिले भएको अनुमान प्रसंगवश भन्ने कृतिमा गरेका छन्।
हामी रौतहटको इतिहासबारे जान्ने प्रयासमा छौँ।

ऋग्वेदमा नदीको महत्वबारे यसरी उल्लेख भएको पाइन्छ–“इयं में गंगे यमुने सरस्वती शुतुद्रिस्तोमं स च ता परुष्णण्या आस्किन्या मरुद्वृधेवितस्तयार्जीकीये शृणुह्या सुषोमपा।”

नदी सभ्यता भन्नु प्राचीन मानव सभ्यता हो।तीनतिर बाट विशाल नदीले सिंचित यस तीरभुक्ति (तिरहुत) भूमिमा मानव बसोबासको सन्दर्भ प्रागैतिहासिक पृष्ठभूमिका अन्य प्रमाणहरूजस्तै धुमिल छ।

राधाकृष्ण चौधरीले प्राचीन भारत का राजनीतिक एवं सांस्कृतिक इतिहास भन्ने ग्रन्थ (पृष्ठ २३) मा मोहनजोदारो सभ्यताको उत्खननबाट प्राप्त अवशेषमा इ.पूं ५५००को पनि देखिएको उल्लेख गरेका छन्।तथा वैदिक सभ्यतालाई इ.पूं ४५०० सम्म लैजाने पनि उल्लेख गरेका छन्।

सिन्धुघाँटीबाट कहिले गंगामा आर्यहरू बसाइँ सरे ? यकिनसाथ भन्न सजिलो छैन ।ऋग्वेदले पनि स्पष्ट संकेत किन गरेको छैन भने ऋग्वेदको रचनाकाल स्पष्ट हुन सकेको छैन।यद्यपि वैदिककालले मानव सभ्यताको विकासले एउटा उत्कर्ष प्राप्त गरिसकेको युगलाई प्रतिनिधित्व गर्दछ।

पाणिनिले अष्टाध्यायीमा २२ जनपद भनेर उल्लेख गरेका छन्।पाणिनिको अध्ययन निकै व्यवस्थित थियो।उनले उल्लेख गरेका जनपदहरू यी हुन्–कंबोज, गांधार, मद्र,यौधेय,कोशल,वृज्जि,अवंती,कुरु,शाल्व,पाञ्चाल,भरत,उशीनगर, मगध, प्राच्य,विदेह,अंग,वंग,सौवीर, ब्राह्मणक,कच्छ,केकय,त्रिगर्त,काशी, कलिंग,अश्मक।

इ.पू.छैटौं शताब्दीदेखि इ.पू. चौथो शताब्दीको अवधिमा आर्यहरूको बसोबास क्षेत्र निकै विस्तार भइसकेको थियो।के भनिन्छ भने उत्तरवैदिकयुगमा जनपदको विकास भएको हो र राज्यको कल्पना भौगोलिक आधारमा गरिन थालिएको थियो ।बौद्धसाहित्यको ग्रन्थ अंगुत्तरनिकायमा १६ महाजनपदको उल्लेख पाइन्छ –अंग, मगध,काशी,कोशल,वज्जि,मल्ल,चेदि,वत्स,कुरु,पंचाल,मत्स्य,सूरसेन,अस्मक, अवंती,गांधार,कंबोज।यसै गरी जैनग्रन्थ भगवतीसूत्रमा उल्लेख गरिएका महाजनपदहरू यस प्रकार छन् –अंग,बंग,मगध,मलय,मालव,अच्छ,वच्छ, कच्छ,पाध,लाध,मोलि,काशी,कोशल,अवाह र सम्मुतर।

निसन्देह दुवै धार्मिक ग्रन्थमा वज्जि महाजनपदको नामोल्लेख पाइन्छ।वज्जि भन्नु चाहिं लिच्छविहरू हुन् भन्ने कुरामा सन्देह छैन।

इतिहासले वज्जिसंघलाई आठ राज्यको संघ बताएको छ जहाँ गणतान्त्रिक शासन व्यवस्था रहेको थियो।बुद्धको समयसम्म वज्जिसंघ विद्यमान थियो।पाणिनि र कौटिल्यले पनि वृज्जिहरूको बारेमा उल्लेख गरेका छन्।गणतान्त्रिक शासन व्यवस्था भएको वज्जिसंघको राजधानी वैशाली थियो ।वैशाली सभ्यता र संस्कृतिको केन्द्र थियो।यी तथ्यहरूबाट स्पष्ट हुन सजिलो हुन्छ कि रौतहटको वर्तमान भूमि वज्जिसंघअन्तर्गत थियो।वज्जि संस्कृति र सभ्यता उत्कर्षमै रहेको समय केही वज्जि (लिच्छवि)हरू नेपाल उपत्यका पसेका थिए भन्ने मेरो अनुमान रहेको छ।

नेपालको प्राचीन तथा मध्यकालीन इतिहास भन्ने पुस्तकमा प्रा.डा.श्रीरामप्रसाद उपाध्यायले पनि लिच्छविहरू वसाढ (वैशाली)बाट नेपाल उपत्यका पसेको उल्लेख गरेका छन्।

मध्ययुगको बारेमा धेरै कुरा बाहिर आइसकेको छैन । तिरहुत क्षेत्रभित्र पनि सानातिना राजा रजौटाहरूको उदय र अस्त भइरहेको देखिन्छ । यद्यपि वज्जिसंघ भने निकै लामो समयसम्म निकै शक्तिशाली गणतन्त्रको रूपमा स्थापित भइरह्यो।

वज्जिसंघलाई देखिनसहने मगध थियो।वज्जिसंघको सोहरत यति धेरै थियो कि यसबाट मगध जल्दथियो र जसरी पनि आफ्नो कब्जामा लिन वा ध्वस्त पार्न चाहन्थ्यो।भगवान गौतम बुद्ध जीवित रहेसम्म वज्जिसंघमाथि कसैले आँखा लगाउने साहस किन गरेनन् भने भगवान गौतम बुद्धलाई वैशाली अत्यन्त प्रिय थियो।
वज्जिसंघको स्थापना कहिले भएको थियो भन्ने निश्चित छैन तापनि यसबारे धेरै इतिहासकारहरूले आफ्नो धारणा राखेका छन्।डा. योगेन्द्र मिश्र (ऐन अर्ली हिस्ट्री अफ वैशाली, १९६२) मा वज्जिसंघको अस्तित्व इ.पू. ७२५ देखि इ.पू. ४८४ सम्म रहेको थियो भन्ने उल्लेख गरेका छन्।

मगध सम्राट थिए बिम्बिसार।यिनको शासनकाल इ.पू. ५४७ देखि इ.पू.४९५ रहेको मानिएको छ।बिम्बिसारले वज्जिसंघमाथि आक्रमण गरेका थिए। वज्जिसंघका संघनायक चेटकले आफ्नी छोरी चेल्लनाको विवाह इ.पू. ५३० मा बिम्बिसारसित गराइदिए।यो एक किसिमले राजनैतिक दाउ थियो।बिम्बिसारले आफ्नै ससुरालीमा फेरि आक्रमण गरेनन्।बिम्बिसार र चेलनाबाट अजातशत्रुको जन्म भएको थियो । अजातशत्रुले इ.पू. ४९५देखि इ.पू. ४६३ सम्म शासन गरेको इतिहासमा उल्लेख पाइन्छ।भगवान गौतम बुद्धको अपार छत्रछाया प्राप्त थियो वैशालीलाई।भगवान गौतम बुद्धको महापरिनिर्वाण इ.पू. ४८७ मा भएको मानिन्छ।भगवान बुद्धको महापरिनिर्वाणको तीन वर्षपछि इ.पू. ४८४ मा चेल्लनापुत्र अजातशत्रुले वैशालीमाथि आक्रमण गरी यसको पतन गराउन सफल भए।यसबाट यो पनि स्पष्ट हुन्छ कि केही समय यो भूमि मगधको अधिनस्थ हुन गएको हो।

यहाँ स्मरणीय के छ भने पाटलीपुत्र भनेको अहिले पटनालाई बुझ्दा हुन्छ। अजातशत्रुले पिता बिम्बिसारको हत्या गरी पाटलीपुत्र नगर बसाएका थिए। अजातशत्रुका अन्यन्त प्रिय मन्त्री थिए –वर्षकार।उनकै सल्लाहमा मामाको राज्य वैशालीमाथि आक्रमण गरी अजातशत्रुले ध्वस्त बनाएका थिए।भएको के थियो भने वर्षकारले योजना बनाई आफूलाई मगधबाट देशनिकाला गराएका थिए र वैशालीमा आई बसेका थिए।देशनिकाला केवल नाटक थियो।वर्षकार मगधप्रति निष्ठावान थिए।वैशालीमा आठकुलको गणतान्त्रिक शासन थियो।सबैमा विस्तारै फुट ल्याउने कोसिस गरे र कैयौँ वर्षको प्रयासपछि उनी सफल भए।फुटले शासन कमजोर भएको र आ–आफ्नो गणलाई बलियो बनाउने दाउ लिएको उचित मौका पाई वर्षकारले अजातशत्रुलाई आक्रमण गर्ने निम्तो दिए र सहजै वैशालीमाथि आधिपत्य जमाउन सफल भए।

वैशालीमा वर्षकारको कूटनीति सफल भई वैशाली मगधको नियन्त्रणमा भएपछि चेटक चाहिँ परिवार र समर्थकसहित नेपाल उपत्यका प्रवेश गरेका थिए।नेपाल उपत्यकातिर विभिन्न समयमा अनेक दल नेपाल उपत्यका प्रवेश गरिसकेका थिए ।बागमतीको किनारै किनार वैशाली तथा नेपाल उपत्यकाबीच व्यवसाय धेरै पहिले सुरु भइसकेको थियो।

डा.प्रफुल्लकुमार सिंह मौनको पुस्तक बज्जिका साहित्य का इतिहास (पृष्ठ ११)अनुसार चन्द्रगुप्त मौर्यपछि वज्जिसंघको स्वतन्त्रता समाप्त भइसकेको थियो । सम्राट अशोकको समय वैशाली मात्र सैन्य शिविर बनेर रहेको थियो।यस तथ्यबाट यो पनि स्पष्ट हुन्छ कि यो भूमि चन्द्रगुप्त मौर्य तथा सम्राट अशोकबाट पनि शासित थियो।स्मरणीय छ –वैशालीमा अहिले पनि उत्तराभिमुख अशोकस्तम्भ रहेको छ।

इतिहासहरू के कुरा स्पष्ट छन् भने अजातशत्रुले आक्रमण गरी वैशालीलाई ध्वस्त बनाए पनि यहाँ राजतन्त्रीय शासन व्यवस्था नलादेर गणतान्त्रिक विधिबाटै शासन चलाउने र निर्णय लिने विधि कायम राखे।केही कालपछि यो क्षेत्र मगधबाट फेरि स्वतन्त्र भएको पनि इतिहास पाइन्छ।इ.पू. १५० देखि इ. १०० सम्म लिच्छवि स्वतन्त्र रहेको उल्लेख पाइन्छ।इसाको पहिलो शताब्दीको अन्त्यतिर वैशाली र पाटलीपुत्रमाथि कुषाण सम्राट कणिष्कको आधिपत्य हुन पुग्दछ।कणिष्कले वैशाली (लिच्छवि) बाट बुद्धको भिक्षापात्र तथा बौद्ध महाकवि अश्वघोषलाई आफूसित लिएर पुरुषपुर (पेशावर) गए।कणिष्क पेशावर गएपछि लिच्छवि पुनः स्वतन्त्र भयो।

निकै उतारचढावबीच वैशालीको इतिहासले एकचोटि फेरि उत्कर्ष प्राप्त गरेको छ ।गुप्त शासनकालमा यसले पुनरुत्थान पाएको हो।चन्द्रगुप्तको राज्यारोहण सन् ३१९ मा भएको थियो।लिच्छवि राजकुमारी कुमारदेवीको विवाह चन्द्रगुप्त प्रथमसित भएको थियो । चन्द्रगुप्त प्रथमलाई वैशाली दहेजमा दिइएको थियो।चन्द्रगुप्त प्रथम र कुमारदेवीका पुत्र थिए–समुद्रगुप्त । यिनको शासनकाल सम्भवतः सन् ३३५ देखि ३७५ सम्म रहेको थियो।चन्द्रगुप्तको सिक्कामा पनि लिच्छवयः अंकित गरिएको पाइन्छ।

चौथो शताब्दीमा फाहियानले पनि आफ्नो यात्रावृत्तान्तमा तद्युगीन वैशालीको भव्यताको वर्णन गरेका छन्।उनले पनि तीरभुक्तिको राजधानी वैशाली भनी उल्लेख गरेका छन्।वैशालीको पुरातात्विक उत्खननबाट ‘तीरभुक्ति’ र ‘वैशाली’ नामक मोहरहरू प्राप्त भएका छन्।

इतिहासकार शैलेन्द्र सेंगरको ‘प्राचीन भारत’ भन्ने पुस्तकको पृष्ठ ३०६ मा उल्लेख गरिएको छ–“गोविन्दगुप्त वैशाली के तीर भुक्ति प्रदेश मे सामन्त शासक था ।”चन्द्रगुप्त विक्रमादित्यपछि कुमारगुप्त शासक बनेका थिए।कुमारगुप्तकै समयमा गोविन्दगुप्त तीरभुक्ति प्रान्तका सामन्त शासक थिए।कुमारगुप्तको शासनकाल सन् ४१५ देखि ४५५ सम्म रहेको मानिएको छ।

यी सबै सन्दर्भमा विचार गर्दा वर्तमानमा रौतहट भनिएको भूमि यिनै शासनमा शासित रहेको देखिन आउँछ।

रौतहटको बस्ती प्राचीन हो।प्रागैतिहासिक बस्ती हो रौतहट।जसरी लिच्छवि भनेका बज्जी र बज्जी भनेका लिच्छवि हुन्,त्यसरी नै रौतहटिया भनेका पनि लिच्छवि वा बज्जी पनि हुन्।

-सञ्जय साह ‘मित्र’

प्रतिक्रिया