पुस्तकालय र व्यायामशालाको मौलापुरमा शिलान्यास

इनेप्लिज २०७८ वैशाख १६ गते ११:०२ मा प्रकाशित

रौतहट,रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साहले मौलापुर बजारमा पुस्तकालय भवन तथा व्यायामशालाको शिलान्यास गरेकी छन्। नगरपालिका गठन भएपछि जिल्लामा कुनै नगरपालिकाले पुस्तकालय भवनको शिलान्यास गरेको यो पहिलो हो।

मौलापुर ५ मौलापुर बजारमा व्यवस्थित तथा आधुनिक पुस्तकालय सञ्चालनमा आउने भएको छ।पहिलेदेखि नै नगरपालिकाले दुईवटा सानो कोठामा पुस्तकालय सञ्चालन गरेको थियो।दुईतल्ले पक्की र व्यवस्थित भवनमा भौतिक पुस्तकालय तथा अत्यन्त व्यवस्थित ई–लाइब्रेरी सञ्चालन गरिने परिकल्पना गरिएको नगर प्रमुख साहले बताएकी छन्।

यसै गरी युवाहरुका लागि आधुनिक व्यायामशाला पनि उपलब्ध हुनेछ।शारीरिक तन्दुरुस्तीका सम्पूर्ण आधुनिक सामग्रीसहितको व्यायामशाला निर्माण भएपछि युवाहरुको मुख्य आवश्यकताको सम्बोधन हुने विश्वास गरिएको छ।

मौलापुर नगरपालिकाले आफ्नै स्रोतबाट प्राविधिक शिक्षालय संचालन गर्नुका साथै चारवटा माध्यमिक विद्यालय एकसाथ बनाउँदै सबैको लागि पक्की भवन निर्माण गरेको छ भने नगरको स्रोतबाटै दरबन्दी सिर्जना गरी शिक्षक नियुक्ति समेत गरिसकेको छ।

यसअघि छात्रालाई साइकल वितरण,ल्यापटप प्रदान तथा नगरभरि साक्षरता अभियान संचालन गरेको नगरपालिकाले विभिन्न व्यावसायिक तालिमहरु पनि संचालन गरेको थियो।

प्रतिक्रिया