फर्मान

-मित्र ‘उराठी’ गौतम २०७८ वैशाख १६ गते १०:०८ मा प्रकाशित

आतङ्क कोरोनाको
त छँदै छ
त्यस माथि
आतङ्क थप्छ काठमाण्डौं
छिटो छाड उपत्यका
भागिहाल काठमाण्डौं छाडेर
दुई दिन भित्रै
भनेर
फर्मान जारी गर्छ काठमाण्डौं।

लाखौं नागरिक
लामवद्ध छन् सडकमा
काखी च्यापेर चिचिलाहरु
छरपष्ट छन् सुत्केरीहरु
वृद्धवृद्धा,साङ्ग-अपाङ्ग
काठमाण्डौं छोड्ने होडमा
कुरीरहेछन् गाडी
रात रातभर सडकमा।

भिडभाड नगर
स्वास्थ्य मापदण्ड पालना गर
भन्दै आदेश गर्ने काठमाण्डौं
सडकमा थुप्रिएको
अथाह मानव सागर

गाडीहरुमा ठेलमठेल यात्रीहरुको
तमासा हेरिरहेछ
बनेर मुकदर्शक।

उसलाई सुरक्षित गर्नु छ
मात्र काठमाण्डौं
बाहिरिनेहरु भिडैभिडमा जाउन्
या जसरी जाउन्
कोरोना बोकेर गाउँ फर्किउन्
या जे गरुन्
मतलब छैन काठमाण्डौंलाई
त्यसैले त
उर्दि जारी गर्छ
छोडिहाल काठमाण्डौं
मात्र दुई दिन भित्र।
छोडिहाल काठमाण्डौं
मात्र दुई दिन भित्र।।

—अस्तु—

-मित्र ‘उराठी’ गौतम

प्रतिक्रिया